२०८० मंसिर १५, शुक्रबार | Fri, 01, Dec, 2023

अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार मा प्रकाशित २ महिना अघि
  • १३८ पाठक संख्या
  • आफ्ना विरुद्ध सञ्चारमाध्यममा अनर्गल प्रचार भएपछि बाग्मती प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तीर्थबहादुर लामाले प्रेस काउन्सिलमा उजुरी दिएका छन् ।

    २०८० भाद्र २५ गते काठमाडौंमा सुन जस्तो पहेंलो धातुको डल्ला (९६० ग्राम) बरामद भएको घटनामा आफ्नो समेत नाम मुछेर समाचार प्रकाशित भएपछि उनी ती सञ्चारमाध्यमविरुद्ध काउन्सिल पुगेका हुन् ।

    आइतबार दर्ता भएको उजुरीमा कामना प्रकाशन प्रालिको अनलाइन संस्करण न्यूज अफ नेपाल डटकममा पत्रकार मोतिराम तिमल्सिनाको बाइलाइनमा प्रकाशित मलद्वारमा लुकाइ ल्याएको ‘सुन’ले काभ्रे कांग्रेसमा खैलाबैला भन्ने शीर्षकको समाचारले व्यक्तिगत मानमर्दन र चरित्रहत्या गर्ने काम भएको उल्लेख छ । सोही सञ्चार संस्थाको मिति २०८० भाद्र ३१ गते प्रकाशित नेपाल समाचार पत्रको प्रथम पृष्ठमा मलद्वारको ‘सुन’ले प्रदेश मन्त्री संकटमा भन्ने शीर्षकको समाचार पनि निराधार, तथ्यहीन र अनर्गल प्रचार गर्ने उद्देश्यका साथ प्रकाशित भएको मन्त्री लामाले बताए ।

    २०८० भदौ २९ गते नेपाल प्रेस डटकममा पनि ‘मलद्वारमा लुकाएर सुन तस्करी गर्ने गिरोहमा मन्त्री तीर्थ लामा नै जोडिए, पोल खुलेपछि तरुण दलका नेता फरार, बाग्मती प्रदेशका मन्त्री तथा काभ्रे कांग्रेसका सभापति तीर्थ लामाको सुन तस्करी गिरोहसँग कनेक्सन पुष्टि, पक्राउ परेकाबारे माओवादी सांसद सूर्यमान दोङको चासो’ भन्ने शीर्षकमा पनि अनर्गल र तथ्यहीन समाचार प्रकाशित भएकोले उक्त समाचारहरुले पत्रकार आचारसंहिताको समेत उल्लंघन गरेकोले प्रेस काउन्सिलले गम्भीरतापूर्वक छानविन गरी दोषीलाई कार्वाही गराउन र स्वतन्त्र प्रेसको मर्यादा कायम राख्न पनि मन्त्री लामाले माग गरेका छन् ।

    लामाले जारी गरेको विज्ञप्तिमा घटनाको सत्यतथ्य छानबिन होस् भन्ने पक्षमा आफू दृढ रहेको उल्लेख गर्दैै दोषी पत्ता लगाउन र दोषीलाई कानुन बमोजिम कारवाहीको पनि माग गरिएको छ । साथै घटनाको सत्यतथ्य छानविन गर्न आवश्यक अनुसन्धानमा सम्बन्धित निकायलाई सहयोगका लागि प्रतिबद्ध रहेको समेत विज्ञप्तिमा उल्लेख छ ।

    गलत सूचनाका आधारमा कसैको मानहानी हुने गरी समाचार सम्प्रेषण नगर्न, सामाजिक सञ्जालमा अतिरञ्जित नगर्न र लोकतन्त्रको आधारभूत सिद्धान्त अनुसार नागरिकलाई सत्य तथ्य सूचना मात्र प्रवाह गर्न सम्बद्ध सबैमा अनुरोध गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस