२०८० मंसिर १५, शुक्रबार | Fri, 01, Dec, 2023

तीनधारे (बाहुबली) झरनाको प्राकृतिक सुन्दरतामा रम्दै आन्तरिक पर्यटक

झरनाको प्रवद्र्धन तथा विकासका लागि अवलोकन भ्रमण
  • २०८० भाद्र २२, शुक्रबार मा प्रकाशित २ महिना अघि
  • २५३ पाठक संख्या
  • काभ्रेको रोशी २ काफलडाँडामा रहेको तीनधारे (बाहुबली) झरना अहिले चर्चित छ । पछिल्लो समय मानिसहरु त्यहाँ पुगेर रम्दै सामाजिक सञ्जालमा झरनाका तस्वीर र भिडियोहरु नहाल्ने बिरलै होलान ।

    झरनाको प्राकृतिक मनमोहक दृश्य नियालेर मन्त्रमुग्ध हुँदै तस्बिर कैद गर्नेको दैनिक घुइँचो बढ्दै गएको छ तीनधारे झरना क्षेत्रमा। जहाँ घुम्न जानेहरुको सङ्ख्यामा उल्लेख्य वृद्धि हुँदै गएपछि पहिला झरनाजस्तै सुनसान बनेको काफलडाँडामा अचेल त्यहाँ गएर रमाइरहनेहरुको घुइँचो उत्तिकै छ।

    रोशी गाउँपालिका–२ काफलडाँडामा रहेको तीनधारे झरना पछिल्लो समयमा सबैको रोजाइको केद्र बनेको छ। ‘झरना हेर्न र घुम्न त आइयो तर त्यहाँसम्म त जान सकिँदैनजस्तो छ, यहीँबाट पनि राम्रो देखिने रहेछ’, तीनधारे झरना घुम्न पुगेका पत्रकार रक्तिम लामाले भने, ‘यतैबाट हेरेर फर्किनु पर्ला।’ झरनाको सुन्दर दृश्य अवलोकन गर्न वारि डाँडामा निर्माण गरेको रेलिङमा अडेस लगाउँदै उनले भने। यहाँको प्राकृतिक सुन्दरताका कारण प्रकृतिमा रम्न चाहनेहरु दैनिक रुपमा यसरी नै त्यस ठाउँमा पुगेर आनन्द लिने गरेका छन्। झरनाको कञ्चन पानीमा पौडी खेल्ने र छङ्छङ् झरिरहेको पानीमा रुझेर आनन्द लिनेहरुको भीड पनि उत्तिकै छ त्यहाँ।

    काठमाडौंबाट झरना अवलोकन गर्न काफलडाँडा पुगेका मिङ्मा शेर्पाले पर्यटन विकासको सम्भावना बोकेको ठाउँ अति नै मनमोहक लागेको बताए। झापा घर भएर काठमाडौं बस्दै आएका उनले सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत् झरनाका बारेमा जानकारी पाएको बताउँदै त्यहाँ पुग्दा झन् मोहित बनेको सुनाए। झरनासम्म पुग्नका लागि सडक सुविधामा भने सुधार गर्नुपर्ने उनको सुझाव छ।

    बालककालदेखि नै सो डाँडामा घाँसदाउरा गर्दै आएका वडा नं २ का स्थानीय बासिन्दा हिराकाजी बलले झरनाको प्रचार भएपछि मात्र यस ठाउँले विकासमा फड्को मार्न सकेको बताए। पहिलादेखि प्रख्यात रहेको भुरुङ्गे लेकसम्म मोटरबाटो भएको खण्डमा डाँडापारिबाट समेत घुम्न आउनेको सङ्ख्यामा वृद्धि हुने उनको भनाइ छ। वडा नं १ ताङलिङका अर्का बासिन्दा सिंगध्वज थोकरले झरना भएको ठाउँमा पहिला शक्तिशाली नाग रहेको पुर्खाहरुले सुनाउने गरेको स्मरण गर्छन्। पहिला सबै ठाउँका नागहरु शनिबार भेला हुने गरेको कथनसमेत सुनाउने गरेको पुर्खाको भनाइ उद्धृत गर्दै उनले भने।

    जिल्ला सदरमुकामबाट करिब ३० किलोमिटरको दूरीमा रहेको सो ठाउँ प्रचारमा आएसँगै त्यहाँ घुम्न जानेहरुको सङ्ख्यामा वृद्धि हुँदै गएको छ। सो क्रममा झरनाको अवलोकन गर्न पुगेका नमोबुद्ध नगरपालिका प्रमुख कुन्साङ लामा झरना भएको ठाउँमा पुगेपछि छुट्टै आनन्द मिल्ने गरेको अनुभूति भएको बताउँछन्। सो ठाउँको विकासका लागि अन्तरपालिकाको समन्वय बैठकबाट विकास र प्रवर्द्धनका लागि गर्न सकिने सहकार्यमा हातेमालो गर्ने योजना बनाउन अगाडि बढ्ने बताए।

    प्रचारको प्रभाव बढ्दै गएको र यसको महत्व पनि फराकिलो बन्दै गएको अवस्थामा अब राष्ट्रियस्तरको पर्यटकीय क्षेत्र बनाउन पहुँच मार्ग निर्माण गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष दिनेश लामाले बताए। ‘अहिले पालिकाको सीमित स्रोतसाधनबाट मात्रै प्रयास गर्दै आएका छौं, अब प्रदेश सरकारसम्म यसको कुरा पुगिसकेको छ’, उनले भने। झरना क्षेत्रलाई अझ सुधार गर्दै पर्यटकको गन्तव्यस्थल बनाउन पालिकाले विस्तृत परियोजना रिपोर्टसमेत बनाइसकेको छ। पालिकाले अहिले झरनासम्म जाने मोटरबाटोको स्तरोन्नति गर्ने र माथि डाँडाबाट झरनासम्म जाने बाटोमा रेलिङ हाल्ने काम भइरहेको उनले बताए।

    तिनधारे झरनाको प्रवद्र्धन तथा विकासका लागि अवलोकन भ्रमण

    तिनधारे झरनाको प्रवद्र्धन तथा विकासका लागि अवलोकन भ्रमण कार्यक्रम सम्पन्न भएको छ । अवलोकन भ्रमण कार्यक्रममा बागमती प्रदेश अर्थ मामिला तथा योजना मन्त्री बहादुर सिं लामा, खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तिर्थबहादुर लामा, उद्योग, वाणिज्य भूमी तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार र संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनलगायतको सहभागीता रहेको थियो । शनिबार पर्यटकीय स्थल तिनधारे झरनाको प्रवद्र्धन तथा विकासका लागि अवलाकन भ्रमण कार्यक्रम सम्पन्न भएको हो ।

    तिनधारे झरना अवलोकन पश्चात आयोजित कार्यक्रममा बागमती प्रदेश अर्थ मामिला तथा योजना लामाले तिनधारे झरना संरक्षण संवर्धनका लागि बागमती प्रदेश प्रतिबद्ध रहेको बताएका छन् । झरना काभ्रेको मात्र नभएर बागमती प्रदेशकै गौरबको पर्यटकीय स्थल बन्न सक्ने उनको भनाई छ । ‘मैले फोटोमा मात्र देखेको यो तिनधारे झरनामा आईपुग्दा साच्चै मनमोहक स्वर्गीय आनन्द दिने रहेछ ।’ बागमती प्रदेशका अर्थ मामिला तथा योजना मन्त्री लामाले भने, ‘यो क्षेत्रको बिकासका लागि बागमती प्रदेश प्रतिबद्ध छ । यसको विकासका लागि बागमती प्रदेशले के कती सक्छ साथ र सहयोग गर्न तयार छौँ ।’ झरनाको प्रवद्र्धनगर्न सके यस भेगको स्थानीयले आर्थिक उपार्जन गर्न सक्ने र आर्थिक समृद्धि हुने उनले बताए । होमस्टे सञ्चालन गर्न सके आर्थिक उपार्जन गर्न सकिने अर्थमन्त्री लामाले बताए । त्यसको लागि स्थानीयहरू लाग्नुपर्ने उनको भनाई छ । त्यसरी नै झरनासम्म जाने सिडीहरू आवश्यक भएको देखेको र स्थानीयहरू माग पनि भएकोले सकेसम्म यसपाली नै नभए अर्काे बर्षसम्ममा निर्माण गर्न प्रतिवद्ध भएको लामाले बताए ।

    खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तिर्थ बहादुर लामाले पर्यटकीय स्थल तिनधारे झरनाको विकासको लागि सदैव लाग्ने बताए । देशकै पर्यटकीय स्थलको रुपमा विकास गरेर लैजानुपर्ने उनको भनाई छ । दाप्चा–फलामेसँघु–काफलडाँडा तिनधारे झरनासम्म सडक स्तरोन्नती हुने उनले बताए । ‘तिनधारे झरनासम्म आई पुग्न दाप्चा–फलामेसाँघु–काफलडाँडा सडक स्तरोन्नती हुन्छ । पहिलो फेजमा दाप्चा–फलामेसाँघु स्तरोन्नती हुन्छ र त्यसपछि फलामेसाँघु–काफलडाँडा देस्रो फेजमा स्तरोन्नती तथा पिज हुने छ ।’ मन्त्री लामाले भने, ‘त्यसका लागि म बागमती प्रदेशका मुख्यमन्त्री, अर्थमन्त्री लगायत मन्त्रीहरूलाई पहल गर्नेछु । मुख्यमन्त्री अर्थमन्त्री लगायत बागमती प्रदेशका मन्त्रीहरू विकासप्रेमी भएकाले सहयोग हुनेछ भन्ने विश्वास छ ।’ मन्त्री लामाले काभ्रेमा नेपालकै सबैभन्दा लामो जिपलाईन बन्ने सम्भावना रहेको बताए । नमोबुद्ध नगरपालिकाको दप्चादेखि काफलडाँडा अर्थात तिनधारे झरनासम्म जिपलाईन सञ्चालन गर्न सक्ने सम्भावना रहेको उनको भनाई छ ।

    सो कार्यक्रममा उद्योग, वाणिज्य भूमी तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले आफ्नो मन्त्रालयले सक्ने र मिल्ने जुनसुकै सहयोग गर्न तयार रहेको बताएका छन् । तिनधारे झरना क्षेत्र विकासका लागि सम्भव हुने जुनसुकै सहयोग गर्न तत्पर रहेको पनि उनले बताए । झरनाको विकासको लागि लगानी गर्ने प्रतिवद्धता जनाएका छन् ।

    चार मन्त्रीसमक्ष जनप्रतिनिधिहरूले मागे विकास

    कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले तिनधारे झरनाको प्रवद्र्धनगरेर आर्थिक उपार्जनमा लाग्नु पर्ने बताए । त्यसका लागि बागमती प्रदेश सरकारले सहयोग गर्नुपर्ने बताए । विकासप्रेमी अर्थमन्त्री र काभ्रेली विकासप्रेमी मन्त्री तिर्थ लामाले काभ्रे विकासका लागि लागिपर्ने बताए । जिल्ला समन्वय समितिका उपप्रमुख रिमबहादुर तामाङले झरनाको अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या बढेसँगै स्थानीय बासिन्दाको आयस्तरमा पनि वृद्धि हुने खालको योजना बनाउन आवश्यक रहेको बताए।
    नमोबुद्ध नगरपालिकाका नगरप्रमुख कन्साङ लामाले चार जना प्रदेश मन्त्री पर्यटकीय स्थलमा उभिएपछि विकासको मूल फुट्नेमा विश्वास लिएको बताए । रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले रोशी पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना भएको पालिका भएको बताए । रोशी गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाईबाले पनि रोशीको बिसमा सहयोग गर्नुपर्नेमै जोड दिए । पालिका समृद्ध हुदा जिल्ला समृद्ध हुने जिल्ला समृद्ध हुदा प्रदेश समृद्ध हुने र प्रदेश समृद्ध हुदा देश समृद्ध हुने भएकाले पालिका समृद्धमा सहयोग गर्न अनुरोध गरे ।
    रोशीका समाजसेवी सार्कीमान वल र वडाध्यक्ष हस्तमान लामाले तिनधारे झरनाको विकासका लागि स्थानीय सरकारले मात्र नसक्ने भएकाले बागमती प्रदेशले सहयोग गर्नुपर्ने बताए । स्थानीय तहको सिमित स्रोत साधान रहने तर जनताको अपेक्षा धेरै हुने भएकाले बिकासमा प्रदेश सरकार र संघ सरकारले सहयोग गर्नुपर्ने उनीहरूको जोड थियो । रोशी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष श्रीदास लामाले मन्त्रीहरू स्वयम आएपछि तिनधारेदेखि ताराखसे लेकसम्म पदमार्ग निर्माण हुने, दाप्चादेखि तिनधारेसम्म सडक कालोपत्रे हुनेमा विश्वस्थ भएको बताए ।

    २०२८ सालमा तत्कालीन नेपाल पर्यटन विभागमा सूचीकृत भएको झरना यसअघि ओझेलमा थियो। कोरोना कहरको बीचमा मानिसहरु घुम्न जाने गरेपछि एकाएक चर्चामा आएको हो।

    प्रतिक्रिया दिनुहोस