नेपाल रेडक्रस सोसाइटीको बार्षिक साधारण सभा नेरेसोको राष्ट्रिय तालिम केन्द्र बनेपामा सुरू भएको छ ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यको प्रमुख आतिथ्यतामा सभाको उद्घाटन सत्र सम्पन्न भएको हो ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री सुरेन्द्रराज आचार्यले रेडक्रस अभियानले संसारभरि पुर्याएको मानवीय सेवाको उच्च प्रशंसा गर्दै भने “नेपाल रेडक्रस सोसाइटी नेपालको अग्रणी परोपकारी संस्था हो । यसले अनवरत मानवीय सेवा प्रदान गर्दै आएको छ । नेपाल रेडक्रस सोसाइटीले मानवीय मूल्य प्रवर्धनमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दछु ।”
समाज कल्याण परिषद्का उपाध्यक्ष मोनिका भट्टराई अधिकारीले नेपाल रेडक्रस सोसाइटीले नेपाल सरकारको सहयोगी भूमिकामा विपद् व्यवस्थापन तथा अन्य सेवा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सबैलाई सेवा भावनाबाट अगाडि बढ्न अनुरोध गरिन ।
जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका उपप्रमुख रिमबहादुर तामाङले जो कसैले पनि नेपाल रेडक्रस सोसाइटीको नाम सुन्ने वित्तिकै मनमा एक प्रकारको छुट्टै उत्प्रेरणा (Vibration) पैदा हुने कुरा व्यक्त गरे। साथै उपप्रमुख तामाङले नेपाल रेडक्रस सोसाइटीको कानुनी आधार सवल बनाई सहयोग पुर्याउन नेपाल सरकार समक्ष आग्रह गरे ।
काभ्रेपलाञ्चोका प्रमुख जिल्ला अधिकारी पूण्यबिक्रम पौडेलले नेपाल रेडक्रस सोसाइटीको मूल मर्म र धर्म ‘सेवा’ गर्ने भएकाले रेडक्रसले समुदायमा सदैव पुर्याउने सेवा कार्यमा सबैले सहयोग पुर्याउन अनुरोध गरे । उनले नेपाल सरकारको सफलता नै नेपाल रेडक्रस सोसाइटीको पनि सफलता हो । यस कारण नेपाल रेडक्रस सोसाइटीको कानुनी संरचना निर्माण गर्न माननीय मन्त्रीज्यूमार्फत नेपाल सरकारसमक्ष अनुरोध गर्दछु ।”
सभालाई सम्बोधन गर्दै नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष प्राध्यापक सुदर्शनप्रसाद नेपालले नेपाल रेडक्रस सोसाइटी हामी सबैको साझा फुलवारी भएकाले यसको जोगेर्ना गर्नु सबै रेडक्रसकर्मी तथा रेडक्रस प्रेमीको दायित्व रहेको स्मरण गराउँदै नेपाल रेडक्रस सोसाइटीको बैधानिक दायित्व पूरा गर्न सहजीकरणका लागि नेपाल सरकारका सबै निकायसँग आग्रह गरे।
नेपाल रेडक्रस सोसाइटीका महामन्त्री भूपतीलाल श्रेष्ठले रेडक्रसको तत्कालिन अवस्था र निर्वाचित समितिले गरिरहेको पहलका बारेमा सभालाई जानकारी गराएका थिए।
सभामा नेपाल रेडक्रस सोसाइटीका सम्पूर्ण प्रदेशहरुको प्रतिनिधित्व गर्दै नेरेसो मधेस प्रदेशका अध्यक्ष फुलमहमद मियाले रेडक्रस कानुननै अहिलेको पहिलो प्राथमिकता रहेको बताए ।
यसैगरी जिल्ला शाखाको प्रतिनिधित्व गर्दै नेरेसो रूकुम पश्चिमका सभापति रमा गौतमले नेपाल रेडक्रस सोसाइटीको कानुन निर्माणका लागि सरकारसँग आग्रह गर्दै सम्पूर्ण रेडक्रसकर्मीहरूलाई संस्थाको स्वार्थमा मात्र केन्द्रित हुन आग्रह गरे ।
युवा रेडक्रस सर्कलको प्रतिनिधित्व गर्दै छात्रातर्फ बालकोट युवा सर्कल भक्तपुरकी सचिव कृति लामिछाने र छात्रतर्फ निलकण्ठ बहुमुखी क्याम्पस धादिङका युवा रेडक्रस सर्कलका सहसचिव रोशन बयलकोटीले जुनियर युवा रेडक्रस सर्कलहरू नेपाल रेडक्रसका आधार भएको बताए। साथै जुनियर सर्कलको प्रतिनिधित्व गर्दै श्री कमल आधारभूत विद्यालय काठमाडौंका जुनियर सर्कलका सदस्य निश्चल थापामगरको पनि उपस्थिति रहेको थियो ।
सभामा उपस्थित सम्पूर्ण रेडक्रसकर्मीहरूलाई नेपाल रेडक्रस सोसाइटीका उपाध्यक्ष राधा नेपालीले स्वागत गरेको कार्यक्रममा अर्का उपाध्यक्ष सुरेन्द्रसिंह ऐरले धन्यवाद मन्तव्य ब्यक्त गरेका थिए ।
केन्द्रीय सभाको साधारण सभामा नेपाल रेडक्रस सोसाइटीका उपमहामन्त्री मनोजकुमार थापाले सञ्चालन गरेका कार्यक्रममा महामन्त्री भूपतिलाल श्रेष्ठ, कोषाध्यक्ष वीरवहादुर बस्नेत, उपकोषाध्यक्ष डोलराज पाण्डेसहित केन्द्रीय सदस्यहरु, नेपाल रेडक्रस सोसाइटीका ७ वटै प्रदेश, ७७ जिल्ला शाखामध्ये ६७ जिल्ला शाखा र जुनियर तथा युवा रेडक्रस सर्कलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस