पनौती ७ मा रहेको १०८ बर्ष पुरानो पनौती आधारभूत पाठशालामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
प्रारम्भ सामाजिक संस्था ललितपुरको विशेष सहयोग तथा विद्यालयको आयोजनामा भएको शिविरमा शिशु कक्षा देखि ८ कक्षासम्मका १ सय ५६ बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको थियो ।
विद्यालयमा रहेका २ सय ९५ बिद्यार्थीहरु मध्ये १ सय ५६ जनाको स्वास्थ्य परीक्षण भएकोमा विशेषगरी आँखा रोग, छालारोग, चोटपटक तथा घाऊ पाकने, पिसाव तथा किडनी सम्बन्धी, जिब्रो तथा दन्तरोग सम्बन्धी समस्याको पहिचान भएको इशान बाल अस्पतालका बालरोग सर्जन डा सिरिश सिलवालले जानकारी दिए । शिविरमा इशान बाल अस्पतालका बालरोग सर्जन डा सिलवाल, नर्स मनिषा श्रेष्ठ र स्वास्थ्यकर्मी सन्तोष रोकायाको मेडिकल टिम खटिएको थियो ।
नेपाल पत्रकार महासंघ काभ्रेपलान्चोक र अध्यक्ष बद्रिराज तिमल्सिनाको समन्वय तथा प्रारम्भ सामाजिक संस्थाका अध्यक्ष तथा सिंगापुर रेडक्रसका नेपाल प्रतिनिधि कल्पना क्षेत्रिको नेतृत्वमा संचालित शिविरका लागि अमेरिका निवासी समाजसेवी बिना बोगटीले समेत सहजीकरण गरेकी थिईन । अमेरिका सियाटल निवासी बिनाकी छोरि आयशा गिलले आफु अध्यनरत् बिद्यालयका बिद्यार्थीको पहलमा व्यक्तिगत खर्च कटाएर केहि रकम संकलन गरि औषधि व्यवस्थापनमा सहयोग गरेकी थिईन ।
प्रथम त्रैमासिक परीक्षा सकेर एक हप्ते बिदा दिनु पुर्व बिद्यार्थीको स्वास्थ्य अवस्था बारे जानकारी लिने र स्वास्थ्य उपचार गर्न तथा आवश्यक सल्लाह दिने उद्देश्यले शिविर संचालन गरिएको बिद्यालयका प्रधानाध्यापक लक्ष्मीकृष्ण ताम्राकारले जानकारी दिए ।
जिल्ला समन्वय समितिका प्रमुख दिपक गौतमको प्रमुख आतिथ्यतामा आयोजना भएको शिविरमा प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेल, जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा पुरुसोत्तम सेढाई, पनौती उद्योग बाणिज्य संघका अध्यक्ष भोला थापा, विद्यालयका शिक्षक राजन कर्माचार्य लगायतले शिविर सफलताको शुभकामना व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस