गाई भैसीमा महामारीको रुपमा फैलिएदै गएको लम्पी स्किन रोगबाट पशु क्षति बेहोरेका कृषकलाई नमोबुद्ध नगरपालिका र धुलिखेल नगरपालिका वडा नं ८ ले राहत रकम दिने घोषणा गरेका छन् । नमोबुद्धले विपद व्यस्थापन कोषबाट राहत उपलव्ध गराएको छ भने धुलिखेल ८ ले वडा समितिको बैठकले निर्णय गरेर राहत दिने घोषणा गरेका हुन् ।
विपद् व्यवस्थापनको लागि राहत वितरण सम्बन्धी मापदण्ड, २०७७ मा भएको व्यवस्था अनुसार राहत व्यवस्था मिलाएको नगर प्रमुख कुनसाङ लामाले जानकारी दिए । मापदण्डमा घर पालुवा पशुहरु पूर्ण क्षति भएमा भैंसीको हकमा ७ हजार, गाई/गोरुको हकमा प्रति गोटा ५ हजार र भेडा/बाख्राको हकमा प्रति गोटा १ हजार राहत उपलब्ध गराईने उल्लेख छ ।
नमोबुद्ध नगरपालिकाको पशु सेवा शाखा प्रमुख चिरञ्जिवी शर्माका अनुसार, नमोबुद्ध भएर ५५ वटा गाई लम्पी स्किनका कारण क्षति भएका छन् ।
त्यस्तै धुलिखेल नगरपालिका वडा नं ८ ले लम्पी स्कीन रोगको संक्रमणबाट मरेको लैनु गाईभैसी गुमाएका किसानलाई नगद १५ हजार रुपैयाँ दिने निर्णय गरेको छ ।
साउन १० गते बसेको निर्वाचित वडा समितिको बैठकले लम्पी स्कीनबाट गौईभैसी गुमाएका किसानलाई राहत दिने निर्णय गरिएको वडा अध्यक्ष विनोद गौतमले जानकारी दिए । उनले बकेर्नु र गर्भवती गाईभैसीको मृत्यु भए १० हजार नगद दिने निर्णय गरेको बताए । त्यस्तै कोरली बाच्छीको मृत्यु भए प्रति वटा ५ हजारका दरले नगद राहत प्रदान गर्ने निर्णय गरेको छ ।
धुलिखेल वडा नम्बर ८ मा हालसम्म यो संक्रमणबाट १० वटा गाईको मृत्यु भएको छ । धुलिखेल वडा नम्बर ८ जिल्लाको १३५ वटा वडा मध्ये सबैभन्दा पहिले र धेरै नगद राहत उपलब्ध गराउने वडाभित्र परेको छ ।
लम्पी स्कीन संक्रमण काभ्रेपलाञ्चोक जिल्लामानै सबैभन्दा शुरुमा धुलिखेल नगरपालिका वडा नम्बर २ मा देखा परेको थियो ।
प्रतिक्रिया दिनुहोस