केहि बर्ष अघि सम्म नेसिला, खरिबोट, धैसेटोल तथा धर्मटोलमा परम्परागत खेतिहरु हुन्थे । आम्दानीको हिसावमा त्यस्तै बार्षिक ८०–९० हजारको आम्दानी गर्थे । तर केहि समय देखि त्यहाँका कृषकले परम्परागत( निर्वाहमुखी) खेति छाडेर नगदेवालीतर्फ आकर्षित भएका हुन । धानमात्र उब्जनी हुने ठाउँमा अहिले काँक्रो, सिमी, मुला, गोलभेडा जस्ता सिजनल बाली लगाउँछन र मनग्गे आम्दानी गर्छन । सिजनमा भाउ आयो भने एकै बर्षमा ५ देखि ७ लाख सम्म आम्दानी गर्छन । खेत नहुनेले समेत भाडामा लिएर भएपनि तरकारी खेति गरिहरेका छन् ।
यसको पछिल्लो उदाहरणहरु बालकृष्ण श्रेष्ठ, सरस्वती बञ्जारा, रामशरण बञ्जारा, सलिकराम बञ्जारा र बसन्त थापा हुन । बालकृष्ण श्रेष्ठले गत बर्ष पनि तरकारी खेति गरेका थिए । ६२ वटा टनेलमा गोलभेडा खेति गरेका श्रेष्ठले यस बर्ष मात्र ५२ वटा टनेल थपेका थिए । केहि समय ठेक्का पट्टामा सक्रिय श्रेष्ठ कोरोना पछि बेरोजगार भए । रोजगारको लागि केहि समय भौतारिएपनि कहि जागिर पाएनन् । उनले जागिर खानुभन्दा कृषिमा आफ्नो भविष्य देखें । आफ्नो डेढ रोपनीबाट तरकारी खेति गर्न थालेका श्रेष्ठले अरु ८ रोपनी भाडामा लिएर गोलभेडा खेति गर्न थाले । ‘अहिले भाउ पनि छ यस बर्ष राम्रै कमाई हुन्छ’– उनले भने ।
उनी मात्र हैन पनौती ८ कै सरस्वती बञ्जारा ४९ बर्षको उमेरमा गोलभेडा फलाउँदै छिन् । उनको खेतमा एकै बोटमा १५/२० दाना गोलभेंडा टिप्ने बेला भएका छन् । एक लटमा ३० क्रेटसम्म गोलभेंडा बेच्ने सरस्वतीले काँक्रो, सिमी, मुला जस्ता सिजनल बाली पनि लगाएकी छिन् । ‘निर्वाहमूखि खेतिबाट आलु र धानले वार्षिक जम्मा ८०/९० हजार दिन्थ्यो तर गोलभेडामा भाउ आए ५ देखि ७ लाखसम्म आम्दानी हुन्छ ।’–सरस्वतीले भनिन् ।
गोलभेडा खेतिमै रहेका शालिकराम बञ्जारा र उहाँका भान्जा बसन्त थापाको छुट्टै कथा छ । उनीहरु एक अर्कामा मामा भान्जा हुन । कोरोनाकै कारण ढुक्कले चलेको हस्तकला बेचविखनको पर्यटन व्यवसायमा पूर्ण विरामै लाग्यो । ठमेलका टुरिष्टहरुसँगको दैनिकी एकादेशको कथा बन्न पुग्यो । मानिसलाई जब विपत्तिले घेर्छ तब सबै आशाका दियोहरु एक पछि अर्को गर्दै निभ्दै जान्छ । कामबाट हार खाएका उनै मामा भान्जा अहिले पनौती ८ को न्याशिला फाँटमा टनेल भित्र गोलभेडा फालाईरहेका छन् । मामा भान्जा ५ रोपनी आफ्नै अनि ५ रोपनी भाडा गरी १० रोपनाीको क्षेत्रफलमा रहेको ७० वटा टनेलमा गोलभेडा खेति गरेका छन् । उनीहरु पनि यस खेतिबाट सन्तुष्ट छन् । कृषिमा जीवन खोज्दै हिडेका मामा भान्जा नगरपालिका र वडाले सहयोग नगरेकोमा भने दुख व्यत्तः गर्छन । ‘हामी आफ्नै भूमि सजाउँछौं, कृषिमै रमाउँछौं भनेर लगानी गर्दा, दिनरात मेहेनत गर्दा प्राविधिक लगायतका गतिविधिमा वडा सरकार र पालिका सरकारले गरेको व्यवहार राम्रो भएन ।’–सालिक र बसन्तले भने ।
नेसिला फाँटमानै गोलभेडा खेति गर्दै आएका रामशरण बञ्जारामा पिडा अर्कै छ । गत बर्ष देखि खेति गर्न शुरु गरेका रामशरणले गत बर्ष घाटा खाए । प्रविधिक ज्ञानको अभावमा घाटा खाएका उनले यस पटक नाफा गर्ने बताए । २२ वटा टनेलमा गोलभेडा खेति गरेका उनले नगरमा कृषि हेर्ने छुट्टै शाखा भएपनि आवश्यक सरसल्लाह नदिएको गुनासो गरे । ‘गत बर्ष प्राविधि ज्ञान पुगेन, सिकाउने पनि कोहि भएनन् गत बर्षको सिकाईले यस पटक गोलभेडा खेति राम्रो भएको छ ।’–रामशरणले भने ।
किसानले उत्पादन गरेपनि बजार भाउ नपाउँदा चिन्तामा छन् । आफूले फलाएको गोलभेंडाको आजको मुल्य कति कहिल्यै थाहा हुन्न । ३ दिनपछि तरकारी ठेकेदारले भनेपछि मात्र भाउ थाहा हुन्छ । भाउ कम हुँदा शितभण्डारमा राख्ने भाउ आउने बेलामा ति गोलभेडालाई बेच्न सके किसानलाई फाईदा पुग्ने भुवनेश्वरी तरकारी संकलन केन्द्रका रामेश्वर बन्जारा । केन्द्रमा फर्सी, काँक्रा, भ्याण्टा, गोलभेडा लगायतका तरकारी संकलन हुने र ती तरकारीहरु चितवन, हेटौंडादेखि झापासम्म पुर्याउने गरेको रामेश्वरको भनाई छ ।
माथी धेरै कृषकहरुको चर्चा गरियो । सबै कृषकहरुको चर्चामा सहयोग भने मध्यमार्ग कृषि सहकारी संस्थाले सहयोग गर्दै आएको छ । मध्यमार्ग कृषि सहकारी संस्थाले समयमानै विउ नपाउने, सममानै मल नपाउने, कृषि सामागीहरु नपाउने समस्यामा रहेका कृषकहरुलाई पुलको काम गरिहरेको छ । पनौती नगरपालिका वडा नं ४ र ८ का किसानलाई विभिन्न निकायसँग समन्वय गर्दै अनुदानमा बिउविजन वितरण गर्ने, ५० प्रतिशत अनुदानमा प्लाष्टिक टनेल, हाते ट्रयाक्टर, बिषादी स्प्रे, रासायनिक मल लगायतको कृषि सामग्री उपलब्ध गराउन संस्थाले समन्वयकारी भूमिका खेलेको छ । पत्रकारीतामा लामो समय खर्च गर्नुभएका संस्थाका अध्यक्ष प्रदिप के.सी.का अनुसार आर्थिक वर्ष २०७९/०८० मा मात्र ७० लाख बराबरको कृषि सामग्री वितरण गरेको छ । त्यसमा ३५ लाख कृषि ज्ञानकेन्द्र तथा बागमती प्रदेश सरकार कृषि मन्त्रालयले र ३५ लाख किसानले व्यहोरेको उनको भनाई छ । ‘विउ विजन, मल तथा कृषि सामाग्री सँगै आन्तरिक बजारको व्यवस्थापन, भाउ नआउँदा शीत भण्डारण गर्ने व्यवस्था, परम्परागत कृषि पेसालाई ज्ञानमा आधारित व्यावसायिक कृषिमा रूपान्तरण, प्राविधिक औजार तथा जनशक्तिलाई तालिम दिन सके कृषकहरुलाई धेरै फाईदा हुन्थ्यो ।’–संस्थाका अध्यक्ष केसीले भने ।
प्रतिक्रिया दिनुहोस