२०८० मंसिर १५, शुक्रबार | Fri, 01, Dec, 2023

नेपालमा हिन्दु धर्म र बौद्ध धर्म घट्दा क्रिश्चियन धर्म बढ्यो, हिन्दु ८१ प्रतिशत, बौद्ध ८ प्रतिशत, क्रिश्चियन २ प्रतिशत

  • २०८० जेष्ठ १९, शुक्रबार मा प्रकाशित ६ महिना अघि
  • ९५६ पाठक संख्या
  • जनगणना २०७८ अनुसार हिन्दु ० दशमलब ११ र बौद्ध धर्मावलम्बी ० दशमलब ७९ प्रतिशत घटेका छन् ।

    नेपालमा ८१ प्रतिशतभन्दा बढी मानिसले हिन्दु धर्म मान्ने गरेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को जाति र धर्म सम्बन्धी तथ्यांक शुक्रबार सार्वजनिक भएको छ, जसअनुसार नेपालमा १० वटा धर्म मान्ने मानिसहरुको बसोबास छ ।

    जनगणनाअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ । उनीहरुमध्ये सबभन्दा धेरै २ करोड ३६ लाख ७७ हजार ७४४ जना अर्थात् ८१ दशमलब १९ प्रतिशतले आफ्नो धर्म हिन्दु भएको बताएका छन् ।

    यस्तै २३ लाख ९३ हजार ५४९ जना अर्थात् ८ दशमलब २१ प्रतिशतले बौद्ध धर्म मान्ने गरेका छन् ।

    ५ दशमलब ०९ प्रतिशतले इस्लाम, ३ दशमलब १७ प्रतिशतले किराँत र १ दशमलब ७६ प्रतिशतले क्रिश्चियन धर्म मान्ने गरेको पाइएको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।

    राष्ट्रिय जनगणना – २०६८ अनुसार नेपालमा ८१ दशमलब ३ प्रतिशत हिन्दु थिए भने ९ प्रतिशत बौद्ध धर्म मान्नेहरु थिए । उनीहरुको संख्या थोरै घटेको पाइएको छ ।

    इस्लाम, किराँतसँगै क्रिश्चियन धर्म मान्नेहरुको संख्या भने थोरै बढेको छ । जनगणना २०६८ अनुसार इस्लाम धर्म मान्नेहरु ४ दशमलब ४ प्रतिशत थिए । यो ० दशमलब ६९ बढेर ५ दशमलब ०९ प्रतिशत पुगेको छ ।

    किरात धर्म मान्नेहरुको संख्या ० दशमलब ०७ प्रतिशत बढेको छ । २०६८ मा ३ दशमलब १ प्रतिशत रहेको किराँत धर्मावलम्बीहरुको संख्या यो पटक ३ दशमलब १७ प्रतिशत पुगेको छ ।

    क्रिश्चियन धर्म मान्नेहरुको संख्या ० दशमलब ३६ प्रतिशत बढेको छ । २०६८ मा १ दशमलब ४ थियो, जुन यो पटक बढेर १ दशमलब ७६ पुगेको छ ।

    यस्तै प्रकृति, जैन र शिख धर्म मान्नेहरुको संख्या केही कम हुँदा बोन धर्मावलम्बीको संख्या भने थोरै थपिएको छ ।

    प्रतिक्रिया दिनुहोस