२०८१ अषाढ ९, आईतबार | Sun, 23, Jun, 2024

धुलिखेल–खावा सडक खण्डको ठेक्का रद्द गर्न सिफारिस, पाँचखालका मेयर खरेलले ठेकेदारलाई कार्वाहिको माग गर्दै दिए उजुरी

  • २०८० बैशाख ८, शुक्रबार मा प्रकाशित १ साल अघि
  • २१८ पाठक संख्या
  • अरनिको राजमार्गको धुलिखेल –खावा सडकमा निर्माण व्यवसायीले सन्तोषजनक काम नगरेपछि जिल्लामा बसेको सरोकारवाला निकायका व्यक्तिहरुको उपस्थितिमा बसेको भेलाले ठेक्का रद्ध गर्ने माग सहित सिफारिस गरेको छ । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक कुमार गौतमको अध्यक्षतामा बसेको बैठकले धुलिखेल–खावा सडक खण्डको ठेक्का रद्द गर्न माग गरेको हो ।

    ठेकेदारले सन्तोषजनक काम नगरेपछि सम्बन्धित सरोकारवाला निकाय सडक डिभजन कार्यालय भक्तपुरलाई उक्त सडक खण्डको ठेक्का रद्द गर्न माग गर्दै आवश्यक कुरामा सहयोग गर्ने र रद्धको लागि सिफारिस समेत गरेको हो । बैठकमा पाँचखाल नगरका प्रमुख महेश खरेल, धुलिखेल नगरका उपप्रमुख निराजन जंगम, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल लगायत सुरक्षा निकायका प्रमुख, विभिन्न राजनितिक दलका प्रतिनिधि, जनप्रतिनिधि, स्थानीय सडक उपभोक्ता, सञ्चारकर्मी, जिल्ला समन्वय समितिका पदाधिकारीहरुले निर्माण व्यवसायीले सडक बिस्तार तथा स्तरोन्नती काममा ढिलासुस्ती गरेकाले कानुनी प्रक्रिया पूरा गरेर ठेक्का रद्द गर्न माग गरेको थियो ।

    ढिलासुस्तीको कारण खोज्न र कामलाई तिब्र पार्न सडक डिभिजन कार्यालय भक्तपुरले पटक–पटक पत्राचार गर्दा पनि निर्माण व्यवसायीले बेवास्ता गरेको कार्यालयका प्रमुख मेघराज मरासैनीले जानकारी दिए । उनका अनुसार, ६ महिनाको अवधिमा मात्रै कार्यालयले निर्माण व्यवसायीलाई ९ वटा पत्राचार गरेको थियो । तर जति पटक ताकेता गर्दा पनि निर्माण जिम्मा लिएका गौरी पार्वती निर्माण सेवाका संचालक रामकुमार थापाले आफु विरामी भएको मात्र जानकारी गराएको मरासैनीको भनाई छ ।

    सडक बिस्तार एवं स्तरोन्नतीमा ढिलासुस्ती भएपछि कामलाई तिब्रता दिन एक साता अघि समन्वय र प्रशासनले सात दिने अल्टिमेटम दिएको थियो । सात दिने अल्टिमेटपछि पनि निर्माण व्यवसायीले काममा कुनै उल्लेखनीय प्रगति नगरेपछि काभ्रे प्रशासन र जनप्रतिनिधि आफै अग्रसर भएर सडक बिस्तारको कामसँगै सडकको खाल्डाखुल्डी पुर्न सडकमा उत्रिएका थिए ।

    जिल्ला समन्वय समितिका प्रमुख दिपक कुमार गौतमले कयौं पटक सम्पर्क गर्दा, सहयोग गर्ने प्रतिबद्धता जनाए पनि केहि सहयोग नगरेको तथा काममा समेत अग्रसर नभएकोले ठेकेदार कम्पनीसँगको ठेक्का रद्ध गर्नको लागि समन्धित निकायमा माग गरिएको जानकारी दिए । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले ठेकेदारलाई एक हप्ताको अल्टिमेटम दिँदा समेत वेवास्ता गरेकोले कानुन बमोजिम कारवाहीको प्रक्रिया सहित ठेक्का रद्धको माग गरिएको जानकारी दिए ।

    पाँचखालका मेयर खरेलले ठेकेदारलाई कार्वाहिको माग गर्दै उजुरी

    पाँचखालका नगरप्रमुख महेश खरेलले ठेकेदारको लापर्वाहिले सडकमा यात्रा गर्ने यात्रुहरुको स्वास्थ्यमा खेलवाड भएको तथा यात्रुको क्रममा दुर्घटनामा परेर कयौं यात्रुको अंगभंग भएको भन्दै ठेकेदारको विरुद्धमा क्षतिपूर्ति माग गर्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् ।

    ठेकेदार कम्पनी गोरी पार्वती निर्माण सेवा तथा त्यसका संचालक रामकुमार थापाले गरेको लापरवाहीकै कारण धुलिखेल–खावा सडक खण्डमा यात्रुहरु जोखिम मोलेर हिड्न बाध्य भएको, सडकमा उडेको धुँवाले यात्रुहरु विमारी परेको तथा खाल्डा खुल्डीको कारण सवारीसाधनहरु दुर्घटनामा परेर धेरै जनाको अंगभंग भएकोले प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल समक्ष उजुरी दर्ता गराएको जानकारी दिए । ‘यात्रुलाई चार किलो मिटर पार गर्न हम्मे हम्मे भएको अवस्था छ । खाल्डाखुल्डीसँगै अत्याधिक धुलोका कारण धुलिखेल–खावा सडकमा यात्रा गर्ने यात्रुमा स्वास्थ्य समस्या देखिन थालेका छन् ।’–खरेलले भने । समस्यालाई आधार बनाएर नगरप्रमुख खरेलले ठेकेदारलाई कारवाही गरि पाउँ भनि जिल्ला प्रशासन कार्यालय काभ्रेमा किटानी जाहेरी दिएका हुन ।

    त्यसैगरी कुहिरो मण्डल धुलोको कारण यात्रु तथा स्थानीयको स्वास्थ्यमा असर परेकोले यात्रु तथा स्थानीयको सहजताको लागि पाँचखाल नगरपालिकाले सडक डिभिजन र धुलिखेल नगरपालिका सँगको सहकार्यमा पानीको व्यवस्था गरी धुलो मुक्तको लागि अग्रसरता गर्ने नगरप्रमुख खरेलले जानकारी दिए ।

    १० महिनामा १० प्रतिशत काम

    धुलिखेल–खावा सडक खण्डको विस्तार र स्तरोन्नती कार्यका लागि सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण व्यवसायी गौरी–पार्वती निर्माण सेवा प्रा.लिबिच २२ महिनामा कामसक्ने गरी २०७९ जेठ २० गते सम्झौता गरिएको थियो । सम्झौताअनुसार आगामी २०८० चैत १९ सम्म काम पूरा गर्नुपर्नेछ । जेठमा सम्झौता भएको काम झण्डै १० महिना वित्दा १० प्रतिशत मात्र सम्पन्न भएको छ । ३० करोड ७८ लाख २ हजार ३० रुपैंयाको लागतमा उक्त सडक खण्डको बिस्तार तथा स्तरोन्नतीको कार्यलाई गौरी–पार्वती निर्माण सेवा प्रा.लिले २० करोड १९ लाख ४६ हजार ५०१ रुपैंयामा ठेक्का सम्झौता गरेको थियो । सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख मेघराज मरासैनीले जानकारी दिए । उनका अनुसार, निर्माण व्यवसायीको लापरवाहीका कारण निर्माण कार्यमा ढिलासुस्ती भएको देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस