२०८० मंसिर १५, शुक्रबार | Fri, 01, Dec, 2023

नागरिकले संविधानतः प्राप्त अधिकार निर्धक्क उपभोग गर्न पाउनुपर्छ : सिंह

  • २०७९ श्रावण ३०, सोमबार मा प्रकाशित १ साल अघि
  • २८४ पाठक संख्या
  • नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नागरिकले संविधानतः प्राप्त अधिकार निर्धक्क उपभोग गर्न पाउनुपर्ने बताएका छन् ।

    नेपाली काँग्रेस बनेपा नगर समितिले प्रजातन्त्र सेनानी स्व गोपालदास वादेको निधनको १३ औँ दिनको पुण्य तिथिमा आयोजना गरेको श्रद्धाञ्जली सभामा नेता सिंहले संविधानमा उल्लेख भएका अधिकार नेपाली नागरिकले निर्धक्क उपभोग गर्न पाउनु नै महापुरुष तथा शहीदको सच्चा श्रद्धाञ्जली हुने बताए । “संविधानले सङ्घीयतासँगै दिएको अधिकार नेपाली नागरिकले निर्धक्क उपभोग गर्न पाउनुपर्छ, यो नै महापुरुष र शहीदप्रतिको सच्चा श्रद्धाञ्जली हुन्छ”, नेता सिंहले भने ।

    नेता सिंहले नेपाली कांग्रेस र समाजमा स्व वादेको योगदानको चर्चा गर्दै पुराना नेताको विचारलाई युवापुस्ताले आधुननिकीकरणसँगै अँगाल्नुपर्ने बताए । उनले भने, “स्व वादे सादा जीवन र उच्च विचारका धनी हुनुहुन्थ्यो, आजको युवा पुस्ताले सोही विचारलाई अनुसरण गर्नुपर्दछ ।” आजका युवाले कांग्रेसको विचारलाई प्रविधिसँग जोडेर अघि बढ्नुपर्ने उनको धारणा थियो । नेता सिंहले राजनीतिका दौरान सिद्धान्त र आदर्श व्यक्तिको परिवारले निकै सास्ती खेप्नुपरेको स्मरण गर्दै नेपालमा चरणबद्ध परिवर्तन त्यत्तिकै नआएको उल्लेख गरे । “२०१७ सालमा नेपालमा ‘कू’ हुँदा बुबा गणेशमान सिंहलाई घर निकाला गर्दा म ६ वर्षको थिएँ, स्व वादेको परिवारले पनि प्रजातन्त्र आउनुअघि निकै कठिनाइ भोगेको कुरा म उहाँबाट सुन्ने गर्थें”, सिंहले भने, हरेक परिवर्तनका आन्दोलनमा शहीद भएका, अङ्गभङ्ग भएका र महापुरुषको योगदान बिर्सिन हुन्न ।

    सो अवसरमा कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्य, नेपाली काँग्रेस बाग्मती प्रदेश समिति सभापति इन्द्र बाँनिया, नेपाली काँग्रेस बाग्मती प्रदेश समितिका महामन्त्री तथा स्व. गोपालदास बादेका सुपुत्र कञ्चनचन्द्र वादे, कांग्रेसका काभ्रेपलाञ्चोक सभापति तीर्थ लामा, नेकपा (एकीकृत समाजवादी)का जिल्लाध्यक्ष टोकबहादुर वाइवा, कांग्रेसका जिल्ला नेता अच्युत पौडेललगायतले स्व वादेको योगदानको चर्चा गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

    स्व. गोपालदास वादे महात्मा गान्धीको सानिध्यमा रही गान्धी आश्रममै राजनीतिक तालिमप्राप्त व्यक्तित्व थिए । तुलसीमेहर श्रेष्ठमार्फत गान्धीको सम्पर्कमा पुगेका वादे आफ्नै दाजु राजदासको प्रेरणाले राजनीतिमा लागेका थिए । वादेलाई ‘गान्धीवादी नेता’का रूपमा चिनिने गरिन्थ्यो ।

    वादेको घर तत्कालीन अवस्थामा कांग्रेसका संस्थापक विपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह लगायतको समेत आश्रयस्थल रहेको बताइन्छ । सामाजिक काममा सक्रिय वादेले घर नजिकको पुराना विद्यालय आजाद माध्यमिक विद्यालय र शिक्षा सदन मावि स्थापनाका लागि जग्गासमेत दान गरेका थिए । उनकै परिवारको सहयोगमा बनेपामा अस्पतालसमेत स्थापना गरिएको थियो ।

    त्यस्तै आजै प्रजातन्त्रका सेनानी स्व गोपालदास बादेको १३औ दिनको पुण्य तिथीको अवसरमा नेपाली काँग्रेस बाग्मती प्रदेश समितिका महामन्त्री तथा स्व. गोपालदास बादेका सुपुत्र कञ्चनचन्द्र वादेले धुलिखेल १२ शंखुमा रहेको मानबसेवा आश्रममा रहेकाहरुलाई भोजन खुवाएका छन् ।

    प्रतिक्रिया दिनुहोस