२०८० मंसिर १५, शुक्रबार | Fri, 01, Dec, 2023

पुष्पा भुसाल प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित

  • २०७९ अषाढ ३१, शुक्रबार मा प्रकाशित १ साल अघि
  • २०१ पाठक संख्या
  • नेपाली कांग्रेसका सांसद पुष्पा भुसाल प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित भएकी छन् । उनी दोस्रो प्रयासमा उपसभामुख बन्न सफल भएकी हुन् ।

    २०७४ सालको चुनावबाट सांसद भएलगत्तै भुसाल उपसभामुखको निर्वाचनमा उम्मेदवार बनेकी थिइन् । २ चैत २०७४ मा भएको उपसभामुखको निर्वाचनमा उनी तत्कालीन वाम गठबन्धनका तर्फबाट उम्मेदवार रहेकी नेकपा एमालेकी शिवमाया तुम्बाहाम्फेसँग पराजित भइन । त्यसबेला तुम्बाहाम्फे २०१ मत प्राप्त गरी विजयी हुँदा भुसालले ५८ मत पाएकी थिइन् ।

    तर, शुक्रबारसम्म आइपुग्दा नेपालको राजनीतिक दलहरुको अवस्था, दलीय समिकरण र सरकार फेरियो । भुसाल उपसभामुमा १४८ मत ल्याएर विजयी हुँदा एमालेका तर्फबाट उपसभामुखको उम्मेदवार रहेकी विद्या भट्टराईले ९३ मत प्राप्त गरिन् ।

    तत्कालीन सभामुख कृष्णबहादुर महराले संसद सचिवालयकै कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि राजीनामा दिए ।

    उनको राजीनामापछि पनि सभामुख पद तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नै राख्न चाह्यो । सभामुख र उपसभामुख फरक दलको र फरक लिंगको हुनुपर्ने संवैधानिक व्यवस्था भएकाले नेकपाले सभामुख लिन उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गर्न लगायो ।

    यही कारण तत्कालीन उपसभामुख तुम्बाहाम्फेले १२ माघ २०७६ माघमा राजीनामा दिएपछि रिक्त भएको उपसभामुख पदका लागि शुक्रबार निर्वाचन भएको हो । यसपटक भुसालले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाका तर्फबाट निर्वाचित सांसदको समेत मत पाएर उपसभामुखमा निर्वाचित भएकी हुन् ।

    प्रतिक्रिया दिनुहोस