२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

पनौतीको त्रिवेणीघाटमा मकर स्नान, स्वास्थ्य मापदण्ड अपनाईएन

  • २०७८ माघ १, शनिबार मा प्रकाशित २ साल अघि
  • १६२९ पाठक संख्या
  • प्रत्येक १२ वर्षमा पनौतीस्थित त्रिवेणीघाटमा लाग्ने मकर मेला शनिबारदेखि सुरु भएको छ ।

    मेला भर्न आएका दर्शनार्थीहरूले बिहानैदेखि त्रिवेणीघाटस्थित कुण्डमा मकर स्नान गरिरहेका छन् । सूर्य धनु राशिलाई छोडेर मकर राशिमा प्रवेश गरेको पहिलो दिन माघ १ देखि एक महिनासम्म १२ वर्षमा एक पटक मेला लाग्ने भएकोले यसलाई मकर मेला भनिएको हो ।

    तर कोरोना संक्रमणका कारण जिल्ला प्रशासन कार्यालय र पनौती नगरपालिकाले स्वास्थ्य मापदण्डको पालना गरी सार्वजनिकस्थलमा भीडभाड नगरी २५ जना भन्दा बढि भेला नहुन दिएको निर्देशन भने कसैले पालाना गरेका छैनन् ।

    कोरोना संक्रमणको जोखिमका कारण स्वास्थ मापदण्ड अपनाएर सामाजिक दूरी कायम गरी एक स्थानमा २५ जना गरी १ पटकमा करिब ४ सय जनाले नुहाउने व्यवस्था मिलाएको पनौती नगरप्रमुख भीम न्यौपानेले दाबी गरे ।

    मेलाको रुपमा सञ्चालन नगर्ने निर्णय जिल्ला कोभिड संकट व्यवस्थापन समिति र पनौती नगरपालिकाले गरेको छ । दुवै संस्थाले जारी गरेको सूचनामा २५ जना भन्दा कम तथा भीडभाड नहुने गरी स्वास्थ्यसम्बन्धी सम्पूर्ण सुरक्षा मापदण्ड अपनाएर मकर स्नान गर्न भनिएको छ ।

    पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएपछि २५ जनाभन्दा बढी भेला भएर कार्यक्रम गर्न सरकारले रोक लगाएको आधारमा मेला, मनोरञ्जनात्मक कार्यक्रमहरू भने रोक लगाएको नगरपालिकाले जनाएको छ ।

    यसअघि मकर मेलाको अवसरमा पनौतीस्थित त्रिवेणीघाटमा स्नानका लागि देश तथा विदेशबाट भक्तजनको घुइँचो लाग्ने गरेको छ ।

     

    प्रतिक्रिया दिनुहोस