२०७८ माघ ९, आईतबार | Sun, 23, Jan, 2022

गुणस्तरीय सिकाई सुधार कार्यक्रम अव स्थानीय तह र सम्बन्धित विद्यालय मार्फत

  • २०७८ पौष १४, बुधबार मा प्रकाशित ३ हप्ता अघि
  • १०२ पाठक संख्या
  • नमोबुद्ध नगरपालिकाका विद्यालयहरुमा सञ्चालन भएको गुणस्तरीय सिकाई सुधार कार्यक्रम अव स्थानीय तह र सम्बन्धित विद्यालय मार्फत सञ्चालन हुने भएको छ ।

    बुधवार भकुण्डेमा भएको सरोकारवालाहरुको बैठकले नमोबुद्ध नगरपालिकाका १५ वटा विद्यालयहरुमा सञ्चालन भएको गुणस्तरीय सिकाई सुधार कार्यक्रम अव स्थानीय तह र सम्बन्धित विद्यालय मार्फत सञ्चालन हुने निर्णय भएको हो ।

    सन् २०१७ देखि सामाजिक सुरक्षामा पँहुच नभएका नागरिकहरुको खोजि गरी उनीहरुलाई सामाजिक सुरक्षाको पंहुचमा पुर्याउनको लागि शुरु गरिएको कार्यक्रम सन् २०२० र २०२१ मा शिक्षण सिकाईको लागि नमोबुद्धका १५ विद्यालयमा सञ्चालन भएको गुणस्तरीय सिकाई सुधार कार्यक्रम सेभ द चिल्ड्रेन र नाङ्गशाल एशोसिएसन नेपाल मार्फत सञ्चालन हुँदै आएको थियो । परियोजना सञ्चालन गर्दै आएको संस्थाहरुबाट परियोजना सम्पन्न भएपछि उनीहरुले गर्दै आएका कार्यक्रम अझै आवश्यक भएको भन्दै कार्यक्रममा सहभागिहरु स्थानीय तह, स्थानीय जनप्रतिनिधि, विद्यालयका प्रअहरुले कुन काम कसले गर्ने भन्ने विषयमा छलफल सहित काम बाँडफाँड गरिएको परियोजना संयोजक राजनप्रसाद पौडेलले जानकारी दिए ।

    छलफलमा परियोजनाले गरेका राम्रा कामहरु शैक्षिक सामाग्री निर्माणार्थ र व्यवस्थापन, कक्षाकोठाको समग्र व्यवस्थापन, विषयगत तालिम, निरन्तर अनुगमन, बैकल्पीक सिकाई, शिक्षकहरुको घुम्ती बैठक, शिक्षक उत्प्रेरणा कार्यक्रम, सरकारी पक्षलाई सक्रिय बनाउन मद्दत, रेडियो शिक्षा तथा बैकल्पीक उपायहरुको खोजि लगायतका कामहरुलाई तहगत हिसावमा विभाजन गरी सञ्चालन गर्ने छलफलले निष्कर्ष निकालेको छ । छलफलले यस अघि परियोजना अन्तर्गत भएका कामहरु कसले के के गर्ने, कसरी गर्ने र कहिले कहिले गर्ने भन्ने विषयमा समेत छलफल भएको छ ।

    शैक्षिक सामाग्री निर्माण र व्यवस्थापन विद्यालय व्यवस्थापन समितिको सहयोगमा विद्यालयका शिक्षकहरुबाटै गर्ने, स्रोत साधनको व्यवस्थापन गरी विव्यस, शिक्षक, स्थानीय तह र दातृ निकायबाट सहयोग लिएर कक्षा कोठा व्यवस्थापन गर्ने, स्थानीय नगर तथा दातृ निकायको सहयोगमा निरन्तर विषयगत तालिम सञ्चालन गर्ने, विव्यस र अभिभावकले विद्यालयको बारेमा निरन्तर अनुगमन र मुल्याड्ढन गर्ने, दुर सञ्चार संस्थाको माध्यमबाट शिक्षकहरुले विद्यार्थीहरुलाई बैकल्पीक सिकाई सिकाउने, विव्यस, स्थानीय निकाय, दातृ संस्थाको सहयोगमा आवश्यकताअनुसार कोभिड स्वास्थ्य सामाग्री जुटाएर कोभिडबाट बच्न सहयोग पुर्याउन कार्य गर्ने विषयमा निचोड निकालिएको नाङ्गशाल एशोसिएसन नेपालका कार्यकारी निर्देशक गुणराज मोक्तानले जानकारी दिए ।

    छलफल कार्यक्रममा नमोबुद्ध नगरउपप्रमुख रामदेवी तामाङ, नगरका शिक्षा शाखा प्रमुख जनार्दन रिजाल, वडा अध्यक्षहरु कुलप्रसाद न्यौपाने र उद्धवप्रसाद काफ्ले, सेभ द चिल्ड्रेनका परियोजना प्रमुख देवराज गुरुङ, नाङ्गशाल एशोसिएसन नेपालका कार्यकारी निर्देशक गुणराज मोक्तान, नेपाल पत्रकार महासंघ काभ्रेका सचिव कपिल कोईराला, परियोजना संयोजक राजन पौडेल, नाङ्गशाल एशोसिएसन नेपालका प्रशासन तथा लेखा प्रमुख शिवराम काफ्ले, परियोजना सञ्चालन भएको १५ वटा विद्यालयका प्रधानाध्यापकको सहभागिता रहेको थियो ।

    कार्यक्रममा परियोजनावाट सञ्चालित क्रियाकलापहरुको दिगोपनाको लागि योजना निर्माणका बारेमा अशोककुमार भुजेलले सहभागिहरुलाई सहजीकरण गरेका थिए ।

     

    प्रतिक्रिया दिनुहोस