२०७८ मंसिर १३, सोमबार | Mon, 29, Nov, 2021

कांग्रेस महाधिवेशन मंसिरमा नहुने निश्चित, नयाँ मितिको टुंगो छठपछि

  • २०७८ आश्विन २८, बिहिबार मा प्रकाशित १ महिना अघि
  • १५५ पाठक संख्या
  • बारम्बार सर्दै आएको नेपाली कांग्रेसको १४ औं महाधिवेशन पछिल्लोपटक तोकिएको मितिमा पनि नहुने देखिएको छ । कार्यतालिका कार्यान्वयनको अवस्था, क्रियाशील सदस्यता विवाद र चाडपर्वका कारण मंसिरमा महाधिवेशन सम्भव नहुने भएको हो ।

    कांग्रेस महाधिवेशन आगामी मंसिर ९ गतेदेखि १३ गतेसम्म हुने तय भएको थियो । तर, महाधिवेशन कार्यतालिका यसअघि नै प्रभावित भइसकेको छ । नयाँ तालिका नबनेका कारण महाधिवेशन मंसिरमा हुने सम्भावना टर्दै गएको कांग्रेसकै नेताहरु अनौपचारिक कुराकानीमा बताउन थालेका छन् ।

    कार्यतालिका अनुसार काम भएको भए गत असोज १८ गते कांग्रेसका सबै जिल्लाको अधिवेशन सम्पन्न भइसक्नुपर्ने थियो । दसैंलगत्तै कात्तिक १०, ११ र १२ गते प्रदेश अधिवेशन हुनुपर्ने थियो । यद्यपि अहिलेसम्म १४ हिमाली जिल्लामा मात्रै कांग्रेसको अधिवेशन सम्पन्न भएका छन् । अधिकांश जिल्लामा क्षेत्रीय अधिवेशन नै भएका छैनन् । प्रदेश २ का ८ जिल्लासहित रसुवा, डोल्पा, बाँके, कैलाली र सुर्खेतमा वडा अधिवेशन नै भएका छैनन् । वडा अधिवेशन भएको सिन्धुपाल्चोकमा पालिका अधिवेशन नै भएको छैन ।

    कात्तिक २४ गते छठपर्व रहेको छ । त्यसअघि अधिवेशन सुचारु नहुने हुँदा मंसिर ९ मै महाधिवेशन नहुने निश्चित छ । ‘महाधिवेशन मंसिरमै हुने त सम्भावना छैन । माघ वा फागुनसम्ममा गर्नेबारे दसैपछि पार्टीमा छलफल होला’, कांग्रेस नेताको भनाई छ ।

    कांग्रेसमा अहिलेसम्म २ निर्वाचन क्षेत्र भएको गोरखा र १ निर्वाचन क्षेत्र भएका दोलखा, रामेछाप, ताप्लेजुङ, संखुवासभा, मनाङ, मुस्ताङ, कालिकोट, हुम्ला, मुगु, रुकुम पूर्व, बझाङ र बाजुरामा जिल्ला अधिवेशन सम्पन्न भएका छन् । बाँकी ६४ जिल्लामा अधिवेशन सम्पन्न नगरी कांग्रेस महाधिवेशन उद्घाटन हुँदैन ।

    प्रतिक्रिया दिनुहोस