वर्षायामको सुरुवात सँगै यातायातबाट बञ्चित बनेका डाडाँपारी बासी पुनः दशैको मुखैमा आएर पैदल यात्रा गर्न बाध्य छन् । सुख्खा पहिरोको कारण खोपासी– च्याम्राङबेसी–मिल्चे सडक अवरुद्ध भए पछि स्थानीय समस्यामा परेका छन् ।
बेथानचोक गाउँपालिकाको वडा नं १ गुवा भञ्ज्याङ नजिक विहीवार देखि सेतीभिरबाट निरन्तर सुख्खा पहिरो खसेको हो । पहिरोका कारण डाँडापारी क्षेत्रबाट सदरमुकाम सम्म चल्ने सवारी साधन पुर्णरुपमा बन्द भएका छन् । सडक बन्द भए सँगै चाडबाडका लागि सामग्री किनमेल गर्नेहरु प्रभावित बनेका छन् । पहिरोले डाँडापारी क्षेत्रको विद्युत लाइनको पोलमा क्षति पुर्याए पछि स्थानीय गाउँहरु विद्युत सेवाबाट वञ्चित भएका छन् । विद्युत लाइन बन्द भए सँगै स्थानीय संचार सेवाबाट समेत वञ्चित बनेका छन् ।
उक्त सडक खण्ड २ दशक अघि निर्माण भएको थियो । उक्त सडक खण्ड डाँडापारी क्षेत्रको बेथानचोक तथा खानीखोला तथा दक्षिण ललितपुरको महांकाल तथा बाग्मती गाउँपालिका स्थानीयहरुले सडक उपयोग गर्दै आएका छन् । त्यसैगरी हिउँदको समयमा उक्त सडक खण्डहुँदै प्रदेश राजधानी हेटौंडा सम्म यात्रा गर्ने गरिएको भए पनि पहिरोका कारण अहिले उक्त सडक पूर्णरुपमा बन्द भएको हो । पहिरो निरन्तर झर्ने क्रम नरोकिए पछि दशै अघि सडक संचालन नहुने निश्चित भएको स्थानीयको भनाई छ । दशैका लागि किनमेल गर्ने तयारीमा रहेका स्थनीय सडक बन्द चिन्तामा परेका छन् ।
यातायात बन्द भए पछि बेथानचोक गाउँपालिकाले सूचना निकाल्दै सडक अवरुद्ध भएको जानकारी दिएको छ । बैकल्पिक बाटोको व्यवस्था हुँदै गरेको र उक्त सडक पूर्ण रुपमा बन्द गरिएकोले हिँडडुल समेत नगर्न भनेको छ । उक्त सडक सँगै बेथानचोक गाउँपालिका र वागमती प्रदेशको साझेदारी कार्यक्रममा समानान्तर हुने गरी निर्माण गरिएको अर्को सडक निर्माण गरेको कारण पुरानो सडक २ वर्ष अघि देखि वर्षा याममा बन्द हुने गरेको छ । वर्षा याम अन्त्य हुनै लाग्दा सडक सुचारु भएको महिना दिन नबित्दै सुख्खा पहिरो गएको हो ।
पहिरोका कारण ग्रामिण क्षेत्रका कृषकहरु पनि मारमा परेका छन् । सवारी साधन बन्द भए सँगै कृषकका उत्पादनले बजार पाउन समस्या भएको कृषकहरुको भनाई छ । खुवा उत्पादनको पकेट क्षेत्रको रुपमा रहेको खानीखोला तथा च्याम्राङबेसीका कृषकहरुको उत्पादन ललितपुरको चन्दनपुर तथा गिम्दी हुँदै चापागाउँबाट बनेपा सम्म पुर्याउन बाध्य भएका छन् ।
हाम्रो इन्द्रावती साप्ताहिकबाट साभार
प्रतिक्रिया दिनुहोस