२०७८ मंसिर १३, सोमबार | Mon, 29, Nov, 2021

समाज सुधार युवा क्लबको पहलमा एम्बुलेन्स सञ्चालनमा

  • २०७८ आश्विन २२, शुक्रबार मा प्रकाशित १ महिना अघि
  • ४२८ पाठक संख्या
  • पाँचखाल १२ मा रहको समाज सुधार युवा क्लबको पहलमा एम्बुलेन्स सञ्चालनमा आएको छ ।

    एम्बुलेन्स किन्नकै लागि केहि समय अघि क्लबले महायज्ञ समेत लगाएको थियो । शुक्रबार एक कार्यक्रमका विच पाँचखाल नगरपालिका नगरप्रमुख महेश खरेलले रिबन काटेर एम्बुलेन्सको शुभारम्भ गरेका थिए । नगरप्रमुख खरेलले एम्बुलेन्स चालकलाई चाबी समेत हस्तान्तरण गरेका थिए ।

    एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा समाज सुधार क्लबले एम्बुलेन्स सञ्चालनमा ल्याएर समाजमा असल कामको शुरुवात गरेको बताए । उनले अरु नेताहरुले गफ दिएपनि आफुले पाँचखालको विकासमा कुनै कन्जुस्याई नगरेको बताउँदै जनताको सेवामा लागिरहने प्रण गरे । नगरप्रमुख खरेलले आफुले गर्न सक्ने कामको मात्र प्रतिबद्धता जनाउने गरेको जानकारी दिए । नगरप्रमुख खरेलले एम्बुलेन्स सञ्चालनमा सहज बनाउन व्यक्तिगत १ लाख ५ हजारको कार्यक्रममै चेक हस्तान्तरण गरेका थिए भने नगरपालिकाबाट तीन लाख रुपैया दिने घोषणा समेत गरेका थिए ।

     

    कार्यक्रममा पाँचखाल नगर उपप्रमुख लक्ष्मी दनुवारले समाजमा हुने यस्ता कामले अन्य क्षेत्रका युवाहरुलाई प्रेरणा मिल्ने बताईन । कार्यक्रममा नगरका प्रवक्ता, वडा नं ८ का अध्यक्ष एवं नेपाली काँग्रेस पाँचखालका सभापति संजय तामाङ, वडा नं ९ का अध्यक्ष किरण श्रेष्ठ, पाँचखाल जेसिजका महासचिव राजाराम पौडेल, समाजसेवा युवा क्लबका सचिव सरोज श्रेष्ठ लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

    कार्यक्रमको सभापतित्व क्लबका अध्यक्ष गौरीकाजी श्रेष्ठले गरेका थिए । उनले धेरै समय देखि देखेको सपना पुरा भएको बताए । गाउँमा एउटा पनि एम्बुलेन्स नहुँदा विरामीहरुलाई निकै असुविधा भएको महसुस गरेर एम्बुलेन्स किन्ने सोच बनाएको श्रेष्ठको भनाई छ । ‘अब कोहिले पनि अकालमा ज्यान गुमाउनुपर्दैन, हामी यो एम्बुलेन्सलाई २४ घण्टा सञ्चालन गर्छौ ।’ – श्रेष्ठले भने ।

    कार्यक्रममा प्रदिप रोक्का, मैया थापा मगर, विनोद नेपाल, विनोद दनुवार लगायतले सांगीतिक प्रस्तुती दिएका थिए । साहरा ब्याण्डको लाईभ कन्सर्ट समेत सञ्चालन गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस