२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

छोरी जन्माउने आमालाई प्रोत्साहित गर्दै नमोबुद्ध

  • २०७८ आश्विन २०, बुधबार मा प्रकाशित २ साल अघि
  • ८०४ पाठक संख्या
  • नमोबुद्ध नगरपालिकामा छोरी जन्माउने आमालाई प्रोत्साहनस्वरुप नगदसहित सम्मान गरिएको छ ।

    स्वास्थ्य संस्थामार्फत सुत्केरी भएका तथा छोरी जन्माएका आमालाई प्रोत्साहनस्वरुप नमोबुद्ध नगरपालिका वडा नं ९ को सहयोगमा दाप्चा स्वास्थ्य चौकीले नगदसहित सम्मान गरेको हो । नगरपालिकाको विभिन्न वडाका आमाहरुलाई बुधबार आयोजित एक कार्यक्रमकाबीच प्रोत्साहन रकम प्रदान गरिएको थियो ।
    कार्यक्रममा नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले यही साउन १ गतेदेखि असोज १४ गतेसम्मको अवधीमा छोरीलाई जन्म दिने तथा स्वास्थ्य संस्थामा सुत्केरी हुने १४ जना आमालाई नगद प्रदान गरे ।

    नमोबुद्ध नगरपालिका वडा नं ९ ले विगतका बर्षदेखि नै दाप्चा स्वास्थ्य चौकीमार्फत छोरी जन्म प्रोत्साहन कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यक्रममा सुत्केरी आमालाई छोरी जन्माएवापत वडाबाट प्रदान गरिने ५ हजार रुपैयाँ, स्वास्थ्य संस्थामा सुत्केरी भएवापतको दुई हजार रुपैयाँ, एम्बुलेन्स खर्चवापत १८ सय रुपैयाँ, अन्य स्वास्थ्य संस्थामा रिफर भएर जानेलाई थप २ हजार रुपैयाँ र चारपटक गर्भ जाँच गराएवापतको ८ सय रुपैयाँ एकमुष्ट रुपमा प्रदान गरिएको थियो ।

    कार्यक्रममा नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले नमोबुद्ध नगरपालिकाले सडक, पूर्वाधारमात्रै नभई चेतनाको विकाससमेत अपरिहार्य रहेको तथ्यलाई मध्यनजर गर्दै छोरी प्रोत्साहन, बुहारी सम्मान कार्यक्रम सञ्चालन गरिएको बताए । उनले यस बर्ष महिलाको स्वास्थ्य, शिक्षा र आर्थिक अवस्थालाई मजवुत बनाउनका लागि थप नीति तथा कार्यक्रम तय गरेको बताए ।

    यस्तै उपप्रमुख रामदेवी तामाङले छोरीको आशमा दुई भन्दा बढी सन्तान नजन्माउन महिलाहरुलाई आग्रह गर्दै उनले पहिले भन्दा अहिले धेरै हदसम्म विभेद कम भएको र यसलाई पूर्णरुपमा अन्त्य गरेपछि मात्रै समुन्नत समाजको कल्पना गर्नसक्ने बताइन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले छोरी जन्माउँदा हतोत्साही नभई गौरव गर्ने वातावरण बनाउनु अहिलेको आवश्यकता रहेको बताए । वडा नं ९ का वडा अध्यक्ष मेलवहादुर लामाले सामाजमा रहेका विकृतिको अन्त्यका लागि सन्देशमुलकरुपमा कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।

    प्रतिक्रिया दिनुहोस