२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

काभ्रेमा चाडपर्व लक्षित बजार अनुगमन : अटेरी व्यवसायी, उपभोक्ता ठगिएको अनुगमनको निष्कर्ष

  • २०७८ आश्विन १५, शुक्रबार मा प्रकाशित २ साल अघि
  • १०८२ पाठक संख्या
  • वर्षभरि कमाएको रकम जोहो गरेर आम नेपालीले दशैंतिहारलगायतका ठुला चाडबाडहरू धुमधामसाथ मनाउने चलन रहेको छ । आम्दानी गर्न नसकेकाहरूले पनि सापटी लिएरै चाडवाडलाई रमाइलो बनाउने प्रयास गरेको भेटिन्छ । हर्ष र उल्लासमय वातावरण नै बडा दशैंका मुख्य विशेषताहरू हुन् । विश्व बजारमा उपभोक्तालाई ‘राइट टु चुज’ को अधिकार हुन्छ । नेपालमा भने चाडबाडमा पनि उपभोक्तालाई ‘बलीका बोका’ झैं व्यवहार हुने गरेको छ । थोरै फाइदा लिएर बढी बिक्री गर्नेभन्दा गुणस्तरहीन र कमसल सामान बडा दशैंको मौकामा अत्यधिक बढी मूल्य लिएर बिक्री गर्ने गरेका दृष्टान्तहरू वर्षेनी दोहरिँदै आएका छन् । अघिल्लो वर्षको बडा दशैंताका कोभिड–१९ को संक्रमण कायमै रहेको भन्दै स्थानीय प्रशासनले बजार अनुगमनलाई केही खुकुलो बनाएको थियो । जिल्लाका प्रमुख व्यापारिक केन्द्रमा अनुगमन गरेर स्वच्छ बजार कायम गर्नका लागि सबैलाई सुझाव दिइएको थियो । तर, यस वर्षको बडादशैं सुरु हुनु अगावै बुधबारदेखि सुरु भएको संयुक्त र सघन बजार अनुगमनमा व्यवसायीहरुले प्रचलित ऐन कानूनको पालना नगरेको, उपभोक्ता हितभन्दा पनि मुनाफालाई बढी ध्यान दिने गरेको पाइएको छ ।

    बुधबार र विहीबार पनौती एवं बनेपा बजारमा गरिएको अनुगमनलाई लिएर अनुगमन टोलीका प्रमुख एवं सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले भने, ‘बजारमा म्याद नाघेका, गुणस्तरहीन सामान भेटिनुका साथै व्यवसाय दर्ता प्रमाणपत्र नराख्ने, नापतौल उपकरण नराख्ने, खाद्य अनुज्ञापत्र नलिने, चर्को मूल्य लिने, गुणस्तरहीन वा म्याद नाघेका सामान बिक्री, बिल बिजकबिना कारोबार गर्नेजस्ता समस्या भेटिएका छन् । हामीले अनुगमनका आधारमा व्यवसायी/व्यापारीहरुलाई दण्ड सजायँभन्दा पनि उपभोक्ता हितमा काम गर्नका लागि सुधार्नु पर्ने कुराहरुलाई लागू गर्नका लागि सबैमा अनुरोध गरेका छौं । पहिलो चरणमा स्वच्छ बजारका लागि सचेत गराउने, दोस्रो चरणमा सुधारात्मक कारवाहीहरु गरिने र तेस्रो चरणमा भने नियतवश कैफियत गर्नेलाई कानूनको दायरामा ल्याउने गरी अनुगमन अघि बढाएका हौं’, उनले भने ।

    संविधानले नै प्रत्याभूत गरेको उपभोक्ताको अधिकारको संरक्षणका लागि तीनै तहका सरकारलाई तोकेको छ । यसमध्ये प्रदेशस्तरिय संयुक्त बजार अनुगमन निर्देशिका २०७५ ले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लास्तरिय बजार अनुगमन समिति गठन गर्ने व्यवस्था गरेको छ । जसमा जिससका अधिकृत, कोलेनिकाका अधिकृत, कर अधिकृत, प्रहरी अधिकृत, उपभोक्ता हित संरक्षणकर्मी, उद्योग वाणिज्य संघ, विषयगत विज्ञ, पत्रकार महासंघ÷सञ्चारकर्मी र घरेलु अधिकृत सदस्य सचिव रहने प्रावधान छ । यही समितिले कार्ययोजना बनाएर नियमित र आकस्मिक रूपमा बजार अनुगमन गर्दै आएको छ । काभ्रे जिल्लामा उपभोक्ता हित संरक्षणका लागि केन्द्रीय उपभोक्तावादी संघसंस्थाका शाखाहरू रहेको भनिए पनि बजार अनुगमनलगायत उपभोक्ता हितका सवालमा शुन्य गतिविधि रहेकाले पनि व्यापारीहरूबाट उपभोक्ताहरू ठगिने क्रम रोकिएको छैन । प्रदेश र स्थानीय तहमा अधिकार दिइएको भने पनि अहिलेसम्म उपभोक्ता हित संरक्षण ऐन अन्तर्गत जारी हुनुपर्ने प्रदेश नियमावली बन्न सकेको छैन । प्रदेशले नियमावली नबनाएकै कारण त्यस अन्तर्गत रहेर स्थानीय तहले बनाउने कार्यविधि बन्न सकेको छैन । ठूला चाडपर्वका बेलामा त उपभोक्ताहरू मज्जाले ठगिँदै आइरहेका छन् ।

    समितिका सदस्य–सचिव एवं घरेलु अधिकृत केशवप्रसाद पुडासैनीका अनुसार उजुरी गुनासो आएको बेलामा समितिले आकस्मिक र अन्य बेलामा नियमित बजार अनुगमन गर्दै आएको छ । यस आर्थिक वर्षमा भने वर्षैभरि बजार अनुगमन र उपभोक्ता हित प्रवद्र्धनका लागि योजना बनाएरै अघि बढिएको उनको भनाई छ, ‘गत वर्षको बजार अनुगमनको प्रभावले यस वर्षको अनुगमनमा व्यवसायीहरु अल्लि सचेत भएको जस्तो देखियो, तर यत्तिले पुग्दैन । मूल्य सूची नराख्ने, अधिकतम खुद्रा मूल्य(एमआरपी) मा स्टिकर टाँस्ने, दर्ता/नवीकरण नगर्ने, नापतौलमा गडबडी, कानूनअनुसारको प्याकेजिङ नभएका समस्याहरु भेटिएका छन्’, उनले थपे ।

    बुधबार अनुगमनकै क्रममा बनेपा गोदामाचोकमा रहेको इजी शपले ७५ रुपैंया एमआरपी लेखिएको डाइजेस्टिभ बिस्कुटमा १ सय रुपैंयाको स्टिक टाँसेको टोलीले फेला पारेपछि ५ हजार रुपैंया जरीवाना गरिएको छ । सोही फर्मले अन्तःशुल्कको स्टिकर नभएको बियर राखेवापत सचेत गराइएको छ । बनेपाकै एके ४७ डिपार्टमेन्टल स्टोरलाई पनि सुधारात्मक निर्देशन दिइएको छ । यस्तै, बियर र रक्सी पसलहरुलाई सुधारात्मक निर्देशन दिइएको छ । दशैंमा उपभोक्ता ठगिने मासुको गुणस्तर र मूल्यमा पनि हो । बनेपामा अनुगमन भएका अधिकांश मासु पसलहरुले बधस्थल दर्ता नगरी मासु पसलमात्रै दर्ता गरेर काम गरेको पाइएको अनुगमन टोलीका सदस्य एवं भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. मोगलप्रसाद शाहले कानूनतः त्यस्तो गर्न नपाइने भनि सुझाव दिइएको जानकारी दिनुभयो । बनेपा–९ मा रहेका ८ वटा बधस्थलहरु विना दर्ता सञ्चालनमा रहेको पाइएको हो । मासु पसल र बधस्थलकै बारेमा स्थानीय सरकार र व्यवसायीहरुलाई सचेतना र मापदण्ड जानकारी गराउने उद्देश्यले आइतबार केन्द्रमा अन्तक्रिया राखिएको शाहको भनाई छ ।

    खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन धुलिखेलका खाद्य निरीक्षक नारायणप्रसाद भट्टराईले अनुगमनका क्रममा खाद्य स्वच्छता गराउनेतर्फ व्यवसायीहरु सक्रिय नरहेको जनए । उनले भने, ‘फर्म दर्तामा खाद्यान्न खरीदबिक्री राखेर प्रशोधन गरेको पाइयो । यस्तै मासु पसल दर्ता गरे बधसमेत गरेको पाइयो । दर्ता भएको उद्देश्यबाहेकको काम गर्नका लागि सम्बन्धित निकायबाट स्वीकृत लिनु पर्ने हुन्छ । यसमा लापरवाही देखियो’, भट्टराईले भने । धुलिखेलमा डिभिजन कार्यालय स्थापना भएपछि बजार म्याद गुज्रेका खाद्यबस्तुमा कमी आएको, म्याद सकिएका खाद्यवस्तु नष्ट गर्न अलग्गै राखिएको र लेबुल लगाएर बेच्ने क्रम बढेको पाइएको उनको भनाई छ । यसै वर्षको वैशाख–जेठमा समितिले संयुक्त अनुमगन गरी विभिन्न व्यावासायिक फर्महरुलाई ३० हजार रुपैंया जरीवाना, ६ वटालाई मुद्दा दायर, एउटा उद्योग शील गरेको र एउटा नर्सिङ होमलाई ५० हजार रुपैंया जरिवाना गराएको थियो ।

    संयुक्त बजार अनुगमन टोलीले पनौतीमा बुधबार अपराह्नदेखि गरेको अनुगमना १३ वटा फर्म थिए । यीनमा मासु पसल, डेरी, मिठाई पसल, फार्मेसी, एग्रोभेट, खाद्यान्न र किराना पसलहरु थिए । टोलीले पनौतीको नवदुर्गा स्वीट्सले धेरै पटक प्रयोग गरेको तेल नष्ट गरिदिएको थियो । यस अघि पनि सो फर्मलाई खाद्य विभागले दूषित तथा न्यून गुणस्तरको खाद्य उत्पादन र बिक्रीको कसूरमा दायर गरेको मुद्दा जिल्ला प्रशासन कार्यालयमा विचाराधीन रहेको छ । यस्तै, कुशादेवी रोडको एउटा फार्मेसीमा म्याद नाघेका ३२ बोतल औषधिहरु नष्ट गरिएको छ । अनुगमन आयो भनेर शटर तानेर हिँडेका ठाडोबाटोका एक पसलेलाई पुनः पसल खोल्न लगाउँदा पसल व्यवस्थित रहेको तर मूल्य सूची नरहेकोमा सूची राख्न निर्देशन दिइएको छ । कुशादेबी रोडमा रहेको भैरव अस्पतालले टोलीलाई दर्तालगायत अस्पताल सञ्चालन स्वीकृतिका कागजपत्रहरु देखाउन अलमल गर्दै अहिले अस्पताल बन्दै गरेको ठाउँमा सबै कागजहरु रहेको भनेर उम्किएको टोलीका एक सदस्यको भनाई छ । पनौतीको अनुगमनमा टोलीलाई पनौती उद्योग वाणिज्य संघका उपाध्यक्ष भरतचरण श्रेष्ठ र कार्यसमिति सदस्य सितु संैजुले सहजीकरण गरेका थिए ।

    यसैगरी बनेपा बजारमा विहीबार विहान ७ बजेबाटै अनुगमन शुरु भएको थियो भने १६ वटा पसल र फर्महरुको अनुगमन गरिएको थियो । विगतमा कार्यालयमा उपस्थित भएर अनुगमन जाँदा व्यापारीहरुकहाँ पहिल्यै खबर पुग्ने र ढिलो अनुगमन हुने गरेकोमा यस पटक त्यसो हुन पाएन । विहानै भएकाले टोलीले बढी गुनासो आएको मासुको गुणस्तरको अवस्थाबारेमा जानकारी लिने समय पाएको थियो । बनेपा पनि बधस्थल, मासु पसल, डेरी, मिठाई पसल, फार्मेसी, एग्रोभेट, खाद्यान्न, लिक्वर र किराना पसलहरुको अनुगमन गरिएको थियो । अनुगमनका क्रममा देखिएका कैफियतमा सुधार गर्न र स्वच्छ बजार कायम गराउनमा आफूहरुले सहकार्य र सहयोग गर्ने काभ्रे उद्योग वाणिज्य संघका माहसचिव रबिन्द्र बैदारले जानकारी दिए ।

    टोलीले दुई दिनको अनुगमनपछि निकालेको निष्कर्षमा उपभोक्ता स्वयं पनि आफ्नो अधिकार र स्वास्थ्यप्रति सचेत रहेको देखिएन । तौलमा शंका लागेर पनि उपभोक्ताहरूले केही नभनि खुरूक्क सामान किन्ने गरेको पाइएको छ । एक पटक तौल गरौं भनेर व्यापारीलाई भन्ने हो भने पनि ठगिनबाट बचिने सुझाव छ । संवैधानिक, कानुनी र संरचना भए पनि बजार व्यवस्थित हुन सकेको छैन । अधिकार पाएर पनि स्थानीय तहले कार्यविधि बनाएर अनुगमन गरेको भेटिन्न । स्थानीय सरकार सञ्चालन ऐन २०७४ र उपभोक्ता हित संरक्षण ऐन २०७५ ले दिएको अधिकारसमेत प्रयोग नभएको अवस्था रहेको छ । यस्तै, अनुगमन गर्ने निकायमा स्रोत र साधनको कमी एकातिर छ  भने कानुनी छिद्र र निकायको कमजोरीको फाइदा व्यवसायी/व्यापारीले उठाउने गरेको पनि टोलीको निष्कर्ष थियो ।

    बेथानचोक साप्ताहिकबाट साभार समाचार

    प्रतिक्रिया दिनुहोस