२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

आफ्नै नगर र क्षेत्रमा कमजोर बने बाँस्कोटा, शक्तीशाली नेताहरु नेकपा एसमा

  • २०७८ भाद्र २७, आईतबार मा प्रकाशित २ साल अघि
  • २२६४ पाठक संख्या
  • एमाले काभ्रे भित्र गोकुल बाँस्कोटा बलियो मानिन्थे । उनी मन्त्री बनेपछि त काभ्रे गोकुल बाँस्कोटाको पक्षमा झै भएको थियो । तर अहिले नेकपा एकिकृत समाजवादी (एस) गठन भएपछि देशभरमै तेश्रो मत ल्याएर विजयी भएका नेता बाँस्कोटा आफ्नो नगर र क्षेत्रमा भने कमजोर बनेका छन् । काभ्रे क्षेत्र नं २ का विभिन्न तह र तप्कामा रहेका नेताहरुले बाँस्कोटालाई छोडेर नेकपा एस रोजेका छन् ।

    पूर्वमन्त्रीसमेत रहेका नेकपा नेता गोकुल बाँस्कोटालाई आफ्नै नगर भित्रका ‘हेभी वेट’का नेताहरुले साथ छाडेका छन् । उनको नगरभित्र रहेका नेताहरु एमालेवाट लामो समय जिल्ला विकास समिति सभापति भएका र संविधान सभा निर्वाचन २०६४ मा बागमती प्रदेशमै एक्लो बिजेता बनेका कृष्णप्रसाद (केपी) सापकोटा, पुर्व पार्टी सचिव एवं संविधान सभा निर्वाचन २०७० मा निर्वाचित विदुर सापकोटा, बर्तमान प्रदेश संसद लक्ष्मण लम्साल, नेकपा एमालेका अध्यक्ष एवं वडा वासी टोकबहादुर वाईवा, मण्डनदेउपुर नगरका अध्यक्ष गोकुल गौतम, जिल्ला सदस्य रामहरी नेपाल, मण्डनदेउपुर नगरपालिकामा निर्वाचित ५ जना वडा अध्यक्ष लगायत १८ जना जनप्रतिनिधिले बाँस्कोटालाई छाडेर नेकपा एस रोजेका छन् ।

    नेकपा एमालेबाट निर्वाचित भएका मण्डन देउपुर वडा नम्वर १ का वडा अध्यक्ष लक्ष्मण बस्ताकोटी, वडा नम्वर ३ का अध्यक्ष दिलबहादुर तामाङ, वडा नम्वर ६ का अध्यक्ष डिल्लीप्रसाद आचार्य, वडा नम्वर ७ का अध्यक्ष नारायण लम्साल, वडा नम्वर ११ का अध्यक्ष माधव न्यौपाने एमाले छाडेर नेकपा एसमा गएका छन् । मण्डनदेउपुरका १२ वडा मध्ये आठ वडामा विजयी भएको नेकपा एमालेका ५ जना वडा अध्यक्ष नेकपा एसमा गएका हुन ।

    बाँस्कोटाको गृह नगरमा मात्र हैन उनको क्षेत्र भित्र पर्ने विभिन्न पालिका अन्तर्गतका नेता तथा जनप्रतिनिधिहरुले पनि बाँस्कोटाको साथ छाडेका छन् । भुम्लु गाउँपालिकाका उपाध्यक्ष कल्पना श्रेष्ठ, भुम्लुकै वडा नम्वर २ का अध्यक्ष कृष्णकुमार कार्की र वडा नम्वर ८ का अध्यक्ष मोतीलाल तामाङ, त्यस्तै पाँचखाल ६ का वडा अध्यक्ष रामशरण दुलाल र बनेपा ६ का अध्यक्ष सचितानन्द केसीले बाँस्कोटालाई छाडेर नेकपा एस रोजेका छन् ।

    त्यस्तै बाँस्कोटाको क्षेत्रमा निर्वाचित दुवै प्रदेश संसद लक्ष्मण लम्साल र बसुन्धरा हुमागाईं नेकपा एसमा लागेका छन् । जनप्रतिनिधि मात्र हैन नेता बाँस्कोटाको क्षेत्र भित्रका पालिकाका पार्टी अध्यक्षहरु पनि नेकपा एसमा गएका छन् । मण्डनदेउपुर नगरका एमाले अध्यक्ष गोकुल गौतम, भुम्लुका एमाले इन्चार्ज सुरेश कक्षपति, पाँचखाल नगरका एमाले अध्यक्ष रविन्द्र शिपखान, एमाले काभ्रेका अध्यक्ष टोकबहादुर वाईवाले बनाएका अध्यक्षहरु भुम्लु गाउँपालिकाका एमाले अध्यक्ष प्राणनाथ न्यौपाने, बनेपा नगर एमालेका अध्यक्ष रघुवर चौ प्रधानले बाँस्कोटालाई छाडेर नेकपा एसमा समाहित भएका छन् ।

    त्यस्तै प्रदेश सदस्य पनौती निवासी रमेश पौडेल र तुयुकाजी ताम्राकार, पुराना नेता एवं जिल्ला सल्लाहकार रामप्रसाद अधिकारी, नेता दिपक थापा, बनेपामा लामो समय पार्टी अध्यक्ष भएका लम्बोदर कायस्थ, बेथानचोक गाउँपालिकाको स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षका उम्मेदवार प्रेम लामा, धुलिखल नगरपालिकाका पुराना नेता एमाले जिल्ला सल्लाहकार पूर्ण कर्माचार्य, पूर्व जिल्ला सदस्य हरिगोपाल प्रधानाङ्ग, नेता दयासागर श्रेष्ठले बाँस्कोटालाई छाडेर नेकपा एस रोजेका छन् ।

    बनेपा, पाँचखाल, मण्डनदेउपुर नगरका साविकका बालुवापाटी, नयाँगाउँ र गैरिविसौना, पनौतीको १, २, ३, ११, १२ नं वडा, भुम्लु गाउँपालिका, बेथानचोकका १ देखि ५ वडा र धुलिखेलका १ देखि ८ नं को केहि भाग बाँस्कोटाको क्षेत्रमा पर्छ ।

    प्रतिक्रिया दिनुहोस