२०७८ आश्विन ६, बुधबार | Wed, 22, Sep, 2021

काभ्रेमा असोज ५ सम्म थपियो मिश्रित लकडाउन

  • २०७८ भाद्र २५, शुक्रबार मा प्रकाशित १ हप्ता अघि
  • १६८ पाठक संख्या
  • जिल्ला प्रशासन कार्यालय काभ्रेले दश दिनका लागि मिश्रित लकडाउन थप्ने निर्णय गरेको छ ।

    कोभिड १९ संक्रमणका कारण यहाँका अस्पतालमा बिरामी भर्ना दर बढेकाले लकडाउनको समय थप गरिएको हो । आज राती १२ बजेवाट आगामी असोज ५ गते राती १२ बजेसम्मका लागि मिश्रित लकडाउन थपिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिए ।

    उक्त आदेश अनुसार तोकिएको समयसम्म सबै प्रकारका भेला, जुलुस, सभा, सम्मेलन, सिनेमा हल, रेष्टुरेन्ट, क्लब, पार्टी प्यालेस, स्वीमिङ पुल, मनोरञ्जनस्थल, शैलुन, ब्युटिपार्लर र जिमखाना सञ्चालन गर्न नपाइने भएको छ । यस्तै हाट, मेला, जात्रा, महोत्सव पाटी र भोज जस्ता भीडभाड हुने कार्य नगर्न प्रशासनले आग्रह गरेको छ । तोकिएका तरकारी बजार बाहेक अन्य सार्वजनिकस्थल र बाटोमा तरकारी तथा फलफूल बिक्री वितरण गर्न नपाइने प्रशासनले जनाएको छ ।

    प्रशासनले विद्यालय सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा स्थानीय पालिकाको निर्णय अनुसार विद्यालय व्यवस्थापन समिति र अभिभावकको समन्वय र सहकार्यमा निर्धारित स्वास्थ्य मापदण्ड अनिवार्य पालना गरी विद्यालय सञ्चालन गर्न सकिने जनाएको छ ।

    विकास निर्माणका ढुवानी गर्ने सवारीसाधन जिल्लाभित्र खपत हुने सामग्रीकोे हकमा साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म र जिल्ला बाहिर लैजानेको हकमा राति ९ बजेदेखि बिहान ५ बजेसम्म मात्रै सञ्चालन गर्न पाउने जनाएको छ ।

    जिल्लाभित्रका सम्पूर्ण पसल बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म मात्रै खोल्न पाउने स्थानीय प्रशासनले निर्णय गरेको छ ।

    प्रतिक्रिया दिनुहोस