२०७८ आश्विन ६, बुधबार | Wed, 22, Sep, 2021

यस वर्ष पनि कन्या पुजा नहुने

  • २०७८ भाद्र १३, आईतबार मा प्रकाशित ३ हप्ता अघि
  • १६७ पाठक संख्या
  • बनेपामा कन्यालाई नपुजिने भएको छ । कोरोना भाइरसको जोखिमका कारण यसवर्ष पनि कन्या पूजा रोकिएको सनातन कन्या पूजा प्रबन्ध समितिले जनाएको छ ।

    समितिले गत वर्ष पनि कन्या पूजालाई परम्परामै सीमित गरेको थियो । कन्या पूजा कृष्ण जन्माष्टमीमा गरिँदै आइएको थियो । यस वर्ष पनि सोमबार कन्यापूजा परेको छ । ‘कोरोना महमारीका कारण यस वर्ष कन्यालाई नपुज्ने भयौँ, कन्या पूजा कार्यक्रमलाई रोकेका छौँ’ समितिका सचिव सुरकृष्ण वैद्यले भने ।

    रजस्वला नभएका र बेल विवाह नगरिएका कन्यालाई पुज्ने व्यक्ति निरोगी हुन्छन् र मनले चिताएको पुग्ने मान्यता छ । यस मान्यताका साथ काभ्रेका विभिन्न स्थानमा रजस्वला नभएका कन्यालाई श्रीकृष्ण जन्माष्टमीको अवसरमा पुज्ने गरिन्छ । विशेषगरी जिल्लाको मुख्य सहर बनेपामा धुमधामका साथ कन्या पूजा आयोजना गरिँदै आइएको थियो । बनेपा नगरमा यो पूजाको इतिहास ११९ वर्ष पुरानो भएको बताइएको छ ।

    बनेपामा वर्षमा दुईपटक कन्या पूजाको आयोजना गरिन्थ्यो । नेवाः कन्या पूजा नाम दिइएको एउटा टिकलवाला कन्या पूजा बनेपा नगरपालिका–८ दक्षुटोलमा आयोजना गरिन्थ्यो । त्यहाँ वर्षेनी करिब दुई हजार ५०० हाराहारीमा कन्या पुजिन्थे । यसैगरी बिनाटिकट, स्वतःस्फुर्त गरिने कन्या–पूजा कृष्ण जन्माष्टमीको दिनमा वर्षेनी करिब आठदेखि १० हजार कन्या सहभागी हुने गर्दथे । बनेपा नगरको भोलाखाँ टोलदेखि लायकु दरबार तथा पुरानो बजार हुँदै चारदोबाटोसम्म सडकको दायाँबायाँ पेटीमा रजस्वला नभएका लस्करै बसेका कन्यालाई पुज्ने गरिन्थ्यो ।

    तस्वीर : रासस

    प्रतिक्रिया दिनुहोस