२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

असल शासनको उदाहरण : पाँचखाल नगरपालिका

  • २०७८ श्रावण २४, आईतबार मा प्रकाशित २ साल अघि
  • १९३१ पाठक संख्या
  • गोपीनाथ मैनाली

    स्थानीय शासन स्थानीय जनताका सवालहरु सम्बोधन गर्ने पद्धति हो भने स्थानीय यसकार त्यसका निर्वाचित संयन्त्र हुन् । स्थानीय शासनलाई संस्थागत गर्न नै विकेन्द्रीकरण र सङ्घीयताजस्ता विधिहरु प्रयोगमा ल्याइने गरिन्छ । सङ्घीयता भनेको राजनैतिक संरचना मात्र होइन, जवाफदेहितालाई संस्थागत बनाउने क्रियाशील आधार पनि हो । एकात्मक ढाँचाको सरकारमा जवाफदेहिता निर्वाहको शास्त्रीय मान्यता मात्र रहन्छ । तर जब शासकीय प्रक्रियामा अरु तह थपिन्छन्, त्यसपछिको आशय जवाफदेहितालाई थप प्रभावकारी पार्नु हो, स्वाभाविक रुपमा त्यसले जनताप्रति बढी विश्वास आर्जन गर्न सक्नुपर्छ । जनताका नजिकका जननिर्वाचित सरकारहरु भौतिक दूरीमा समेत टाढा रहने केन्द्रीय सरकारभन्दा बढी कार्यमूलक हुन्छन्, जनताका दैनिकीसँग प्रत्यक्ष रुपमा जोडिन्छन्, यसकारण जवाफदेही हुन्छन् भन्ने मान्यता राखिन्छ ।

    गोपीनाथ मैनाली

    लोकतन्त्रलाई कार्यमूलक बनाउन नै स्थानीय शासन र स्थानीय सरकार चाहिएको हो । तर सबै पालिकाहरु स्थानीय शासन र प्रणाली निर्माणमा सबल देखिएका छैनन् । कतिपय नगरपालिकाले समयमा बजेट तथा कार्यक्रम पनि प्रस्तुत गर्न सकेनन् वा आर्थिक अनुशासन र विकास व्यवस्थापनमा खरो उत्रिन सकेनन् भन्ने आलोचना भइरहँदा पाँचखाल नगरपालिकाले एउटा असल अभ्यास सुरु गरेको छ । विकासमा कस्तो दृष्टिकोण राख्नुपर्छ, जनप्रतिनिधिले जनताको मन कसरी जित्नुपर्छ र आर्थिक सुशासनमा जनप्रतिनिधि कसरी दृष्टान्त बन्नुपर्छ भन्ने उदाहरण पाँचखाल नगरापालिकाले दिएको छ, जसको अनुसरण अन्य पालिकाले गर्न सक्छन् ।

    काभ्रेपलाञ्चोक जिल्लाको उत्तर–पश्चिम कुनामा रहेको पाँचखाल खानेपानी, स्वास्थ्य सुविधा, वातावरण संरक्षण, स्थानीय पूर्वाधारजस्ता आधारभूत सहरी सुविधाबाट वञ्चित थियो । पिउनेपानीको हाहाकार पाँचखालको पीडा थियो । सङ्घीयता कार्यान्वयनपछि भएको पहिलो निर्वाचनपश्चात् निर्वाचित पदाधिकारीले पाँचखाललाई अबको २० वर्षपछि कहाँ पु-याउने भन्ने दृष्टिकोण योजना (पाँचखाल–२० वर्षपछि वा पी–२०) जारी गरी महत्वपूर्ण कार्यहरु थालनी गरे । अर्को अर्थमा विकासका लागि दृष्टिकोण आवश्यक छ भन्ने कुराको महसुस गरी स्थापित दृष्टिकोणमा आफ्ना क्रियाकलापलाई निर्दिष्ट गर्ने प्रतिबद्धता जनाए । सबैजसो स्थानीयबासीको माग रहने र जनप्रतिनिधिले पनि प्राथमिकतामा राख्ने कुरा पूर्वाधार हो । बाटोघाटो, पुलपुलेसा, सिँचाइ, खानेपानी, मठमन्दिर र खुला क्षेत्र जनताका माग, जनप्रतिनिधिका प्राथमिकताका त विषय हुँदै भए, यसले सहरलाई सहर बनाउँछ ।

     

    राजनैतिक रुपमा नगर बने पनि सहर बन्न नसकेका पालिकाका लागि सुविधा र सौन्दर्यको व्यवस्थापन गर्दछ । किनकि सहरका आधारभूत विशेषतामा सुविधा र सौन्दर्य पर्छन् । सहर भनेको अवसरको केन्द्र हो, साथै सहरले सौन्दर्य पनि संरक्षण गर्न सक्नुपर्छ । यी दुई कुरालाई ध्यानमा राखेर नै सहरले आफ्नो सहरी चरित्र कायम गर्नसक्छ भन्ने कुरा निर्वाचित पदाधिकारीले महशुस गर्नपुगे ।

    प्रत्येक पालिकामा मोटर बाटो पु-याउने नेपाल सरकारको नीति छ, नगरपालिकाले प्रत्येक वडामा कालोपत्रे बाटो पु-याउने

     

    नीति लिई सो काम पूरा गरेको छ । वडाका सबै टोलमा मोटर बाटोको सञ्जाल पुगेको छ । नगरपालिकामा एक बृहत् चक्रपथ र दुई अन्य चक्रपथ सम्पन्न हुने क्रममा छन् । यसले सेवा र उत्पादनलाई सहज पार्नेछ । प्रत्येक वडामा स्वास्थ्य पूर्वाधारसहित स्वास्थ्य चौकी सञ्चालनमा ल्याइएका छन् ।

    कोभिड महामारीलाई सम्बोधन गर्न सुविधासम्पन्न आइसोलेसन र क्वारेन्टाइन केन्द्र बनाइएको छ । टोलटोलमा पीसीआर परीक्षण र घरघरमा औषधि सेवा उपलब्ध गराउन पनि नगरपालिका सफल भयो । गर्भवती महिलाका लागि निःशुल्क अल्ट्रासाउन्डलगायतको सेवा दिने उदाहरणीय काम थालनी गरिएको छ । ६५ वर्षमाथिका नागरिकलाई वार्षिक रुपमा निःशुल्क स्वास्थ्य परीक्षण र केही रोगको औषधि व्यवस्था गरिएको छ ।

    राम्रो स्वास्थ्य सेवाका कारण पाँचखाल नेपालको पहिलो मोतियाविन्दुमुक्त नगरपालिका बन्न सफल भएको छ । पानीको हाहाकार हुने पाँचखालमा सबै नगरवासीलाई विश्व स्वास्थ्य सङ्घको मापदण्डअनुरुपको खानेपानी सुविधाका लागि नगर विकास कोष (एसियाली विकास बैंक) सँगको सहकार्यमा सुनकोशी खानेपानी आयोजना सञ्चालनमा ल्याएको छ । नगरबाट निकै टाढा रहेको सुनकोशी नदीबाट पानी ल्याउने काम आफैँमा महत्वाकाङ्क्षी लाग्न सक्छ तर दृढ दृष्टिकोण र साहसका कारण यो काम पूरा हुन गइरहेको छ । वातावरण व्यवस्थापनका लागि सामुदायिक वन संरक्षणका साथै १०८ वटा पोखरी रिचार्जिङको काम भएको छ ।

    हरित महिला औद्योगिक ग्राम विकास गरी स्थानीय उत्पादनको प्याकेजिङ गर्ने योजनाअनुरुप विस्तृत आयोजना निर्माण तयार गरिएको छ । स्थानीय उत्पादनको समर्थन मूल्य तोक्ने काम पनि सुरुवात गरेको छ । हरित महिला औद्योगिक ग्रामको अवधारणा ल्याउने पाँचखाल पहिलो पालिका हो । स्थानीय रोजगारीका लागि ३००० व्यक्तिलाई व्यवसायी बनाउन सहुलियत कर्जाका लागि तीन ठूला वाणिज्य बैंकसँग सम्झौता गरी कार्य थालनी गरिएको छ ।

    औद्योगिक ग्राममा ४७ उद्योग दर्ता भई सामान्य सञ्चालनका क्रममा छन् । आधुनिक समय सूचना प्रविधिको युग हो र भोलि कतिपय कुराहरु प्रविधिले साथ नदिएसम्म कार्यान्वयनमा ल्याउन सकिँदैन भन्ने मेयरलगायत कार्यपालिकाको बुझाइ छ । साथै सूचना प्रविधिको विकास गर्न सकिए राजधानीबाट नजिक रहेको पालिकामा अरु अवसरहरु स्वतः सिर्जना हुनसक्छ । त्यसैले नगरपालिकालाई सूचना प्रविधि हबका रुपमा विकास गर्न काठमाडौं विश्वविद्यालयसँग सहकार्य गरी कार्य भइरहेको छ ।

    नेपाल सरकारले भूउपयोग ऐन ल्याएको छ तर त्यसको कार्यान्वयन गर्ने एकाध पालिकामध्ये पाँचखाल एक बनेको छ । पाँचखालको धान फल्ने भूमिमा प्लटिङ गरी बस्ती विकास गर्न नपाइने व्यवस्था गरिएको छ । बस्ती व्यवस्थापनका लागि उब्जनी कम हुने पाखो जग्गालाई तोकिएको छ । यसले भविष्यसम्म स्थानीय उत्पादन र खाद्य सुरक्षामा योगदान पु-याउनेछ । पालिकाको सबैभन्दा महत्वपूर्ण धार्मिक–सांस्कृतिक–पर्यटकीय स्थल पलाञ्चोक भगवती मन्दिर क्षेत्रमा व्यवस्थित यातायात बिसौनीका लागि जग्गा खरिदको काम गरिएको छ । प्रस्तावित मदन भण्डारी प्रौद्यौगिक विश्वविद्यालयका लागि नगरपालिकाले जग्गा व्यवस्थापन गरेको छ ।

    नगरपालिकाको अर्को निकै महत्वाकाङ्क्षी परियोजनाका रुपमा एक अर्बको लगानीमा स्मार्ट सिटी निर्माणको, जसका लागि नेपाल पूर्वाधार विकास बैंक (निफ्रा)सँग सम्झौता भएको छ । यसरी पाँचखाल नगरपालिका गठन भएको चार वर्षमा २० वर्षे विकास भिजनका साथ अघि बढेको छ । कार्यसम्पादन सूचकका आधारमा गत वर्ष २०७६/०७७ को वाग्मती प्रदेशको यो सर्वोत्कृष्ट नगरपालिका पनि हो । अर्को उदाहरणीय पक्ष नगरका मेयरले तलब–भत्ताजस्ता सुविधा लिएका छैनन् । राजनीतिक प्रतिस्पर्धा निर्वाचनका समयमा मात्र हो, विकासमा सबैको समान सहभागिता चाहिन्छ भन्ने मेयरले आफ्ना प्रतिस्पर्धीको तस्बिर कार्यकक्षमा सजाएर राखेका छन् । त्यसो त गरिब, असहायलाई व्यक्तिगत रुपमा सहयोग गर्न पनि मेयर उदाहरण बनेका छन् ।

    कतिपय पालिकाहरुका सन्दर्भमा सर्वसाधारणहरु भन्न थालेका छन्– कानुनमा तोकिएको समयमा बजेट कार्यक्रम पनि पेश गर्न नसक्दा अरु कुरा कसरी अपेक्षा गर्न सकिन्छ ? भनिरहन परोइन, वार्षिक विकास कार्यक्रम तर्जुमा र सभाबाट स्वीकृति जनताप्रतिको कर्तव्य निर्वाहको पहिलो कडी हो, जसलाई कार्यान्वयन गर्ने संयन्त्र पनि स्वयं पालिका हो । पाँचखाल नगरपालिकाले त्यस्ता पालिकालाई प्रेरणा दिनसक्छ । कसरी स्थानीय पालिकाहरु उत्तरदायित्व र सुशासनका केन्द्र हुन् भन्ने दृष्टान्त पनि यसले दिएको छ ।

    २०७४ मा निर्वाचन हुँदा प्रतिनिधि मात्र होइन, जनता पनि निकै उत्साहित थिए । चार वर्षपछि त्यो उत्साह स्खलित भएको छ र जनताहरु यस अवधिलाई गुमेको अवसरका रुपमा लिन बाध्य छन् । तर पाँचखालले स्थानीय तहले कसरी विकास र सुशासनको अगुवाइ गर्नसक्छ भन्ने सानै भए पनि उदाहरण देखाएको छ । असल कुराको सुरुवात साना कामहरुबाट हुनसक्छ, तर त्यसलाई निरन्तरता दिनुपर्छ भन्ने उदाहरण केहीअघि धुलिखेल नगरपालिकाले दिएको थियो । मेयर बेलप्रसाद श्रेष्ठले जसरी नै मेयर महेश खरेल र नगरपालिका व्यवस्थापन समूहले विकासको नेतृत्व गरिरहेका छन् ।

    आर्थिक दैनिकबाट

    प्रतिक्रिया दिनुहोस