२०७८ आश्विन ६, बुधबार | Wed, 22, Sep, 2021

“जति पारदर्शिता बढ्यो त्यति जवाफदेहिता बढ्छ”

  • २०७८ श्रावण १५, शुक्रबार मा प्रकाशित १ महिना अघि
  • ९५० पाठक संख्या
  • ० बेथानचोक आउनुभएको कति भयो ? कस्तो पाउनुभयो वातावरण ?
    बेथानचोकमा हाजिर भएको २०७७ माघ ०६ देखि हो । लगभग ६ महिना भयो । अहिलेसम्मको बसाइको कुरा भन्नुपर्दा यहाँका जनप्रतिनिधिज्यूहरु एकदम असल, अनावश्यक काममा कानूनदेखि बाहेक काम कुरामा हस्तक्षेप नगर्ने, धेरै ठाउँमा त्यस्तो सुनिन्छ तर यहाँ धेरै राम्रो छ । काम गर्न सक्दा क्षमता देखाउन मिल्ने ठाउँ रहेछ भन्ने अनुभूति भएको छ ।

    ० भौगोलिक हिसाबले केही सुगम त केही दुर्गम बेथानचोक, कार्यसम्पादन कस्तो भइरहेको छ ?
    म त सोलुखुम्बुमा बसेर आएको, त्यो एकदमै विकट ठाउँ हो । त्यसको तुलनामा बेथानचोक त्यस्तो दुर्गम जस्तो त लाग्दैन, मलाई सहजै लाग्छ । भौगोलिक हिसाबले हेर्दा अलि अप्ठ्यारो ठाउँ भनेको च्याम्राङबेसी र भुग्देउ हो । त्यसलाई पनि हामीले १२ महिनै चल्ने बाटो बनाइरहेका छौं । अहिलेसम्म मलाई जहाँसम्म लाग्छ म आइकन सेवाग्राहीहरु सन्तुष्ट हुनुहुन्छ र उहाँहरुलाई सन्तुष्ट बनाउन सकेकोमा म पनि खुशी नै छु । अझ राम्रो गर्न म प्रयत्नशील छु ।

    ० म आइसकेपछि यी–यी कामहरु सम्पादन भए भन्ने के–के छन् त ?
    अहिलेको जमाना भनेको इन्टरनेटको हो । म आइकन वडा नं. १ देखि ६ सम्म इन्टरनेट जडान गरियो । १ र ६ मा पनि जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता जस्ता कार्यहरु अनलाइनबाटै भइरहेको अवस्था छ ।

    ० कोभिडको समयमा कसरी काम भइरहेको छ ?
    प्रशासनको आदेश अनुसार कोभिडको समयमा हामीले करिब २ महिना निषेधाज्ञा ग¥यौं । कोभिडका बाबजुद पनि हामीले सामाजिक दूरी कायम गरेर नेपाल सरकारको माथिबाट आउने शशर्त बजेट ९७ प्रतिशत लगानी भयो र त्यो अनुसारका रिजल्ट प्राप्त भयो भने हाम्रा समानीकरण पनि लगभग ८५ प्रतिशत खर्च भएको छ । यो कोभिड–१९ मा जनतालाई दिने सेवा, स्वास्थ्य सामग्रीको आपूर्ति अथवा कोभिडका बिरामीहरुको उपचारका कुराहरु भए ति सबै नयाँ ढंगले जनप्रतिनिधिहरुको साथले अहिले पनि काम गरेको अवस्था छ ।

    ० यो आ.व.को बजेट सबैभन्दा धेरै केमा केन्द्रित छ ?
    सबैभन्दा धेरै यो वर्ष पनि स्वास्थ्यमै केन्द्रित छ । त्यसपछि शिक्षा, कृषि, पशु र पूर्वाधारमा रहेको छ ।

    ० पूर्वाधारको कुरा गरौं, के के कुरालाई बढी प्राथमिकतामा राख्नुभएको छ ?
    अहिले बढी प्राथमिक दिएको भनेको सडक नै हो । सुरुमै पनि भनें भुग्देउ र च्याम्राङबेसीमा हिउँदको समयमा कुनै बाधा व्यवधान छैन, सहजै छ तर वर्षाको समयमा हामीलाई गाह्रो छ । त्यो समस्यालाई सम्बोधन हुने गरी बजेट विनियोजन गरेका छौं ।

    ० कृषिको कुरा गरौं, किसानहरुको लागि के योजना रहेको छ ?
    पशु र किसान एकैचोटि जोड्न चाहन्छु । यसपालिको नयाँ कार्यक्रम भनेको यो दुधको पकेट क्षेत्र भएकोले ५० लाखको पाडा अथवा पाडी वितरणको कार्यक्रम राखेका छौं । दोस्रो हामीले पकेट एरिया घोषणा गरेका छौं । जस्तो किवी खेतीको लागि निश्चित पकेट क्षेत्र, सुन्तला खेतीको लागि भुग्देउ, कागती खेतीको पकेट क्षेत्र छुट्याएका छौं । यस्ता कुराहरुको लागि बिरुवाहरु किसानहरुलाई हात हात दिने । १ सय २४ वटा हाते ट्याक्टर बाँड्यौं, पूरै बाँड्न सकेका छैनौं, त्यो बाँकी नै छ । न्यूनतम क्षति हुनेगरी विषादी वितरणका कुरा, उन्नत जातका बिउहरु बाँड्ने कुरा यि कार्यक्रमहरु गत वर्ष पनि थियो र यस वर्ष पनि यसलाई निरन्तरता दिएका छौं ।

    ० अनुदान वितरण गर्दा गुनासाहरु आउने गर्दछ कि पहुँचवालाले मात्र अनुदान पाउँछ, वास्तविक किसान छुट्छ भनेर । अनुदान वितरण गर्दा के कस्ता मापदण्ड अपनाउनुभएको छ ?
    सर्वप्रथम त हामीले सूचना प्रविधि प्रयोग गरेर के–के सामानहरु किसानहरुलाई दिनेछौं भनेर हाम्रो वेबसाइटबाट जानकारी गराएका छौं । सबैसँग इन्टरनेटको पहुँच नभएको कारणले ति सूचनाहरु प्रत्येक वडामा वडाको सूचनापाटीमा टाँस्ने व्यवस्था गरेका छौं र त्यसैको आधारमा वडालाई नै जिम्मा दिएका छौं । जस्तो हामीले बिउ बाँड्यौं भने सबैलाई दिने सम्भव त छैन, कसलाई दिने भनेर वडाले निर्णय गर्छ र सोही निर्णयको आधारमा गाउँपालिकाले बिउहरु वितरण गर्छ ।

    ० उत्पादन भएको वस्तु बजारीकरण गर्नको लागि केही सोच्नुभएको छ ?
    वास्तवमा यो बेथानचोकको मात्र नभएर समग्रको समस्या हो । विचौलियाको कारणले गर्दा एकातिर कृषकहरुले राम्रो मूल्य पाइरहेका छैनन् भने उपभोक्ताले मार खाइरहनुभएको छ । विचौलियाहरुले नाफा लिइरहेको अवस्था छ । यो समस्याको समाधान भनेकै कृषि हाट बजारै हो । कृषि हाट बजारको लागि हामीले पहल गर्ने र त्यसको आवश्यक व्यवस्था गर्ने भन्ने कुरा आएको छ । उत्पादनलाई बजारसम्म पु¥याउन मुख्य कुरो भनेको बाटो नै हो । १ र ६ वडामा अर्काे आ.व.मा असार, श्रावण अथवा भदौमा बाटो बनाउने अथवा त्यो किसिमको पूर्वाधार बनाउने हाम्रो तयारी छ ।

    ० आगामी दिनमा कृषकहरुलाई आधुनिक खेती पद्धतिमा उन्मुख गराउन तपाईंका भिजनहरु के के छन् ?
    हामी माटो परीक्षण पद्धतिको थालनी गर्दैछौं । त्यसको लागि गाउँपालिकामै कृषि ल्याबको स्थापना गर्दैछौं । हाम्रो कर्मचारीहरुले किसानहरुको खेतबारीबाट माटो ल्याएर, माटो परीक्षण गर्ने, एउटा सोइल हेल्थ रिपोर्ट कार्ड बन्छ, कुन किसानको माटोमा के कमजोरी छ त्यो कुरा कार्डमा लेखेर त्यसको लागि आवश्यक सिफारिस गर्ने र दोस्रो कुरा आधुनिकिकरणको सुरुवात दर्ताबाट हुन्छ । त्यस कारणले कृषक परिचय पत्र पनि बाँडेका छौं ।

    ० बिउ बिजन कतैबाट सिफारिस गरेर वितरण गर्नुहुन्छ कि या हचुवाको भरमा बाँडिरहनुभएको छ ?
    हामीले हाइब्रिड भन्दा पनि लोकल खालको बिउलाई नै प्रोत्साहन गरिरहेका छौं । मकैका बिउ पनि त्यही अनुसार बाँडिरहेका छौं, धानका बिउ पनि त्यही किसिमको बाँडिरहेका छौं । अन्य बिउहरु पनि हाइब्रिड भन्दा पनि लोकल बिउलाई नै प्रोत्साहित गरिरहेका छौं । कृषि प्राविधिक, पशु प्राविधिकहरुले पनि भेग भेगमा सिफारिस गरेअनुसार बिउ बाँडिरहेको अवस्था छ ।

    ० काभ्रेका पालिकाहरुमा बिउ वितरण गरियो । तर, कृषको खेतमा धान नै नुहेन, त्यो गल्ती बेथानचोकमा दोहोरिँदैन भन्नेमा ढुक्क छौं ?
    ढुक्क छौं, अहिलेसम्म त्यस्ता समस्या देखिएका छैनन् ।

    ० युवा लक्षित गतिविधि के–के हुँदैछन् ?
    युवा लक्षित कार्यक्रम भनेर हामीले नीति तथा कार्यक्रममै उल्लेख गरेका छौं । देश बनाउने जोश जाँगर भनेकै युवामा हुन्छ । जोश, जाँगर भएको सीपलाई समृद्धिमा जोड्यो भने उत्पादन र उत्पादकत्व पनि बढ्छ समग्र देशकै विकास हुन्छ । हामीले यसको लागि युवा लक्षित मोबाइल मर्मत तालिम आयोजना ग¥यौं । यही आर्थिक वर्षमा बिजुली बनाउने तालिम दियौं । यस्तै कार्यक्रमहरुमा ड्राइभिङका तालिम पनि सञ्चालन गर्नेछौं । युवाहरुको मागको आधारमा अन्य कार्यक्रम सञ्चालन गर्नेछौं भने यो वर्षमा लोकसेवाको कक्षाहरुको पनि तयारी गर्नेछौं ।

    ० शिक्षामा नयाँ अभ्यास के हुँदैछ ?
    बजेट थोरै होला त्यो आफ्नो ठाउँमा छ तर हामीले नयाँ कार्यक्रम भनेर अभिभावक शिक्षा लागू गर्नेछौं । त्यो भनेको प्रत्येक विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक राखेर अन्तक्र्रिया गरेर के समस्या छ तत्कालै सुनेर समाधान गर्ने गरी अभिभावक शिक्षा कार्यक्रम लागू गर्नेछौं । त्यस्तै नेपाल सरकारको समन्वयमा सियुजी सिम वितरण गराएका छौं शिक्षक, विद्यार्थीमा ताकी यस्तै महामारी परेको बेला अनलाइन कक्षा सञ्चालन गर्नु भनेर ।

    ० कोभिडमा मात्र केन्द्रित भइरहँदा स्वास्थ्यका अरु मुद्दा ओझेलमा पर्लान् नि त !
    दोस्रो लकडाउन सुरु भएपछि हामीले यो विषयलाई कसरी लागू ग¥यौं भने कोभिडको बिरामी कुन र कोभिड नभएका बिरामी कुन भनेर धुलिखेल अस्पतालको प्रमुख व्यक्तिसँग बसेर कोभिड लागेको बिरामी ढुंखर्क स्वास्थ्य केन्द्रमा गर्ने र कोभिड नभएका बिरामीहरुलाई धुलिखेल अस्पतालको आउट्रिचमा गर्ने । त्यो कार्यक्रम हामीले सुरुदेखि लागू गरेर अहिलेसम्म पनि निरन्तरता दिइरहेका छौं । यसरी हामीले काम गरिरहेका छौं र यसप्रति गाउँपालिका संवेदनशील छ ।

    ० सरुवा रोग, गर्भवती, दीर्घ रोगीहरुको लागि तपाईंहरुको संयन्त्र कस्तो छ ?
    गर्भवतीको सवालमा हामीले प्रत्येक वडामा गरिरहेका छौं । त्यस्तै कोभिडको खोपहरु लगाउने कार्य पनि भइरहेको छ । अनुगमनका कार्यहरु भइरहेको छ । विभिन्न समयमा घुम्ती शिविर जस्तो कार्यक्रमहरु गरिरहेका छौं । त्यस्तै महिलाहरुको आङ खस्ने समस्या छ, त्यसको लागि नयाँ कार्यक्रमको रुपमा जहाँसम्म लाग्छ काभ्रेमै नयाँ होला आङ खस्ने महिलाहरुको उपचार निःशुल्क गरिरहेका छौं । दीर्घ रोगीको कुरा गर्नुपर्दा मोतियाबिन्दू भएकाहरुको विन्धवासिनी सहकारी संस्था अन्तर्गत रेयुकाईको समन्वयमा हाम्रै खर्चमा सम्बन्धित ठाउँमा लगेर शल्यक्रिया गरेर घरमा ल्याएको अवस्था छ । यसरी कोभिड र कोभिड नभएका बिरामीहरुलाई व्यवस्थापन गरिरहेका छौं ।

    ० कुनै कमिटमेन्ट गर्नुभएको छ ?
    सूचना प्रविधिकै भरपूर प्रयोग गरेर सेवा प्रवाह गर्नुपर्छ भन्ने मान्यता हो । त्यसको लागि हामीले प्रत्येक वडामा इन्टरनेटको व्यवस्था गरिसकेका छौं । बेथानचोक गाउँपालिकाभित्रका जति पनि सरकारी गतिविधिहरु छन्, ति गतिविधिहरु यहीँ बसेर मनिटरिङ गर्ने व्यवस्थातिर लग्नुपर्छ र यो एउटा लक्ष्य जस्तो पनि लाग्छ ।

    ० पारदर्शिता, जवाफदेहितामा यहाँको धारणा कस्तो छ ?
    जहाँ उज्यालो हुन्छ, त्यहाँ किटाणुहरु मर्छ । पारदर्शिता र जवाफदेहिता भनेको जति पारदर्शिता बढ्यो त्यति जवाफदेहिता बढ्छ । जति जवाफदेहिता बढ्यो त्यहाँ सूचनाको हक बेसी हुन्छ । जहाँ सूचनाको हक लागू हुन्छ, त्यहाँ सुशासन प्राप्त हुन्छ ।

    ० अन्त्यमा ?
    समग्र बेथानचोकवासीलाई सामाजिक दुरी कायम गरी आफ्ना गतिविधि सञ्चालन गरिदिनु र अनावश्यक हो–हल्ला, भीडभाड नगरिदिनुहुन अनुरोध गर्न चाहन्छु ।

    बेथानचोक साप्ताहिकबाट

     

    प्रतिक्रिया दिनुहोस