२०७८ आश्विन ६, बुधबार | Wed, 22, Sep, 2021

नेपालमै “क्वान्टम” रकेटको सफल परीक्षण

  • २०७८ श्रावण १४, बिहिबार मा प्रकाशित १ महिना अघि
  • २६० पाठक संख्या
  • नेपाली विद्यार्थीहरुले बनाएको “क्वान्टम” रकेटको परीक्षण सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्र मार्फत् इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको रकेटको “सुपर सोनिक” टेस्ट सफल भएको हो ।

    थानकोटस्थित नेपाली सेनाको फायरिङ रेन्जमा रकेट परीक्षण गरिएको हो । रकेटको सुपर सोनिक टेस्ट सफल भएको मुख्य निर्माणकर्ता मोहन तामाङले जानकारी दिए । उनको टिम रकेट उडाउन ५ औं पटकको प्रयासमा सफल भएको थियो ।

    सुपर सोनिक यो रकेट प्रक्षेपणको क्रममा ८७८ मिटर प्रतिसेकेन्डको गतिमा उडेको थियो । हावामा ध्वनिको गति ३ सय ४३ मिटर प्रतिसकेन्ड हुन्छ । ६.१ फिट उचाइ रहेको रकेटको तौल ९ किलो छ । रकेटमा पोटासियम नाइट्रेट र टेबल सुगर सोलिड इन्धनको रुपमा प्रयोग गरिएको छ । यसमा १.२ केजी फ्यूल प्रयोग हुन्‍छ ।

    क्‍वान्टमको प्रक्षेपणका क्रममा अधिकतम १८ सय न्यूटन इनर्जी दिएको थियो । उडानका लागि न्यूनतम ९ सय न्‍यूटन थ्रस्ट आवश्‍यक पर्ने तामाङले बताए ।

    प्रक्षेपणका क्रममा रकेट २।१ किलोमिटर माथि पुगेको थियो । उचाइमा पुगेको रकेट प्यारास्युटको मद्दतमा झारिएको थियो । फाइबर ग्लास प्रयोग गरेर निर्माण गरिएको रकेट कम खर्चमा तयार गरिएको हो ।

    रकेट निर्माणमा तामाङबाहेक इन्जिनियरिङ अध्ययन पूरा गरेका रामहरि चौधरी, शिवनारायण कुँवर, प्रदिप्‍त शर्मा, ईश्वर श्रेष्ठ, दानबहादुर घर्तीमगर र दीपेन्द्र बस्नेत छन् । निर्माणकर्ताहरु उज्जवल ढकाल, रमेश साउद र अमृत ढुंगाना भने इन्जिनियरिङ अध्ययन गरिरहेका छन् । उनीहरु काठमाडौं विश्वविद्यालय, थापाथली इन्जिनियरिङ क्‍याम्प‌स, काठमाडौं इन्जिनियरिङ कलेज, अक्सफोर्ड इन्जिनियरिङ कलेज र कलेज अफ इन्फरमेसन टेक्नोलोजी एन्ड इन्जिनियरिङमा पनि आबद्ध छन् ।

     

    प्रतिक्रिया दिनुहोस