२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

काँग्रेसले ५ दिनभित्र क्रियाशिल विवाद टुंग्याउने

  • २०७८ श्रावण १४, बिहिबार मा प्रकाशित २ साल अघि
  • ५७६ पाठक संख्या
  • महाधिवेशनको संघारमा आइपुगेको नेपाली कांग्रेसले अझै मतदाता टुंगो लगाउन सकेको छैन। नेपाली कांग्रेसले पाँच दिनभित्र क्रियाशील सदस्यता सम्बन्धी विवाद समाधान गर्ने जनाएको छ ।

    बिहीबार पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठकले क्रियाशील सदस्यता छानबिन समितिले क्रियाशील सदस्यताको सम्बन्धमा टुंग्याउन नसकेको विषयहरुलाई पार्टीका शीर्ष नेताहरुले पाँच दिनभित्र टुंग्याउने निर्णय गरेको हो ।

    कांग्रेसमा सबैभन्दा तल्लो तह वडा अधिवेशनको मतदाता क्रियाशील सदस्य हुन्। छ हजार सात सय ४३ मध्ये एक सय वडामा अझै क्रियाशील सदस्यतामा विवाद छ।

    केन्द्रीय सदस्य रमेश लेखक नेतृत्वको केन्द्रीय क्रियाशील छानबिन समितिले क्रियाशीलको प्रतिवेदन थप परिस्कृत बनाएर आज बुझाएका छन्। उक्त प्रतिवेदन अझै अपुरो छ।

    उक्त छलफलपछि क्रयाशील छानबिन समितिका संयोजक रमेश लेखकले विवादित विषय अब शीर्ष नेताहरूले टुंग्याउने जानकारी दिए। क्रियाशीलबारे छानबिन समितिभित्र एकमत नभएका विषय शीर्ष नेताले टुंग्याउने मापदण्ड बनेको थियो।

    ५ दिनभित्र नेताहरुले निर्णय गर्ने भनिएको छ । त्यसपछिमात्र निर्वाचन समितिका कामहरु अघि बढ्ने नेपाली काँग्रेसले जनाएको छ ।

    गत फागुनमा कांग्रेस केन्द्रीय समितिले क्रियाशील छानबिन गर्न लेखकको नेतृत्वमा समिति बनाएको थियो। झन्डै पाँच महिना उक्त समितिले क्रियाशीलबारे परेका पाँच हजार उजुरी अध्ययन गरी अधिकांश क्षेत्रमा विवाद टुंग्याएको छ।

    कांग्रेसले देशभित्र मात्रै आठ लाख ५२ हजार ७ सय ११ जना क्रियाशील सदस्य बनाएको छ। विवादित एक सय वडाको हल हुँदा र विदेशस्थित जनसम्पर्क समितिबाट पनि क्रियाशीलको नामावली आएपछि यो संख्या बढ्ने देखिन्छ।

    प्रतिक्रिया दिनुहोस