२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

नमोबुद्धमा स्वास्थ्य अनुसन्धान केन्द्र निर्माण हुने

  • २०७८ श्रावण ११, सोमबार मा प्रकाशित २ साल अघि
  • ५८३ पाठक संख्या
  • नमोबुद्ध नगरपालिकामा धुलिखेल अस्पतालको स्वास्थ्य अनुसन्धान केन्द्र स्थापना हुने भएको छ ।

    नमोबुद्ध नगरपालिका वडा नं. ११ को भालुखर्क स्वाराडाँडामा अनुसन्धान केन्द्र निर्माण गर्ने तयारी भएको हो । अनुसन्धान केन्द्र स्थापनाका लागि नमोबुद्ध नगरपालिकाले उक्त स्थानमा रहेको झण्डै डेढ सय रोपनी सार्वजनिक जग्गा धुलिखेल अस्पताललाई उपलव्ध गराउने निर्णय दशौं नगरसभाबाट गरिसकेको छ । अनुसन्धान केन्द्र स्थापना हुने ठाउँ धुलिखेलबाट १८ किमीको दुरीमा चयन गरिएको छ । केन्द्रले नेपाल तथा अन्तर्राष्ट्रियस्तरका अनुसन्धानहरुको नेतृत्व लिनेछ भने नेपालसहित विश्वभरका विशेषज्ञहरु यसमा संलग्न हुनेछन् । स्वास्थ्य अनुसन्धानमा आधारित स्नातकोत्तर तथा पिएचडी कार्यक्रमको लागि यो अगुवा केन्द्रको रुपमा विकास हुने बताइएको छ ।

    अनुसन्धान केन्द्र निर्माणका विषयमा सोमबार धुलिखेल अस्पतालमा नगरपालिका, स्थानीयबासी र अस्पतालबीच छलफलसमेत सम्पन्न भएको छ । छलफलको क्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाले नमोबुद्ध नगरलाई कृषि, स्वास्थ्य, शिक्षा र अनुसन्धानको केन्द्र बनाउने उद्देश्य रहेको र सोही अनुसार विभिन्न निकाय र संस्थासँग सहकार्य गर्दै अघि बढेको बताए ।

    छलफलमा धुलिखेल अस्पतालका संस्थापक डा. रामकण्ठ माकजुले केन्द्र स्थापनाका लागि जग्गा उपलव्ध गराएकोमा नगरपालिका, वडा कार्यालय तथा स्थानीयबासीप्रति आभार प्रकट गरे । काठमाण्डौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजका डिन डा. राजेन्द्र कोजुले शिक्षा, स्वास्थ्य, अनुसन्धान र सामूदायिक विकासमा धुलिखेल अस्पताल निरन्तर अघि बढेको र सोही क्रममा नमोबुद्धमा अनुसन्धान केन्द्र स्थापना गर्ने तयारी भएको बताए । नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले अनुसन्धान केन्द्र स्थापनाका लागि जग्गा उपलव्ध गराउन चाँडै आवश्यक कानुनी प्रक्रिया पुरा गर्ने र केन्द्र स्थापना हुन लागेको ठाउँसम्मको सडक स्तरोन्नति लगायतका काम पनि धमाधम सुरु हुने बताए ।नमोबुद्ध नगरपालिका ११ का वडा अध्यक्ष कृष्णवहादुर तामाङले केन्द्र स्थापनाका लागि स्थानीयबासीसँगको सहमतिसँगै वडाबाट सर्वसम्मत निर्णय गरेर जग्गा उपलव्ध गराउन सिफारिस गरिएको र अन्य भौतिक पूर्वाधारको विकासका लागि नगर र वडा तत्पर रहेको बताए ।

    छलफलमा स्थानीय सुर्य तामाङ, ज्ञानवहादुर तामाङ, सुमना श्रेष्ठ लगायतले अनुसनधान केन्द्र स्थापना हुनु खुशीको विषय भएको बताउँदै यसले वडाको पहिचान अझै माथि उठ्ने र वडाको समग्र विकास एवं स्वास्थ्यको क्षेत्रमा आमुल परिवर्तन हुने अपेक्षा गरिएको बताए । छलफलमा धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश माकजु, सामूदायिक कार्यक्रम निर्देशक डा. विराज कर्माचार्य लगायतले अनुसन्धान केन्द्र स्थापनाका विषयमा आफ्नो धारणा राखेका थिए ।

    नगरपालिकाले स्टाफ कलेज स्थापनाका लागि ९ सय रोपनी जग्गा उपलव्ध गराएर अहिले निर्माण प्रक्रिया अघि बढिसकेको छ भने वडा नं. ५ मा कृषि अनुसन्धान केन्द्र स्थापनाको प्रक्रिया समेत सुरु भइसकेको छ ।

    प्रतिक्रिया दिनुहोस