२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

आन्तरिक राजस्व कार्यालय धुलिखेलको लक्ष्यभन्दा बढी राजस्व संकलन

  • २०७८ श्रावण ७, बिहिबार मा प्रकाशित २ साल अघि
  • २३७५ पाठक संख्या
  • कोरोना संक्रमणको दोस्रो लहरमा गरिएको निषेधाज्ञाले विभिन्न पेसा, व्यवसाय ठप्प भए पनि गत आर्थिक वर्ष २०७७/७८ मा राजस्व संकलनमा भने वृद्धि भएको छ ।

    काभ्रे, सिन्धुपाल्चोक, दोलखा र रामेछाप कार्यक्षेत्र भएको आन्तरिक राजस्व कार्यालय धुलिखेलले लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको हो । वैशाख १६ बाट जारी निषेध आदेश कायम रहे पनि सामाजिक दूरी कायम गर्दै पेसा, व्यवसाय सञ्चालन गर्न अनुमति दिइएको छ । पहिलो लहरको संक्रमणका बेला भने लक्ष्य पूरा हुन सकेको थिएन ।

    गत वर्ष २ अर्ब ९३ करोड ४३ लाख २९ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएकामा ३ अर्ब ९६ करोड १ लाख २४ हजार रुपैयाँ संकलन भएको प्रमुख राजस्व अधिकृत कमलबहादुर राजलवटले जानकारी दिए । उक्त अंक लक्ष्यको १३४.९६ प्रतिशत हो । ‘गत वर्षको भन्दा यो वर्ष निषेधाज्ञाको अवधि कम भएकाले पनि लक्ष्य पूरा भएको हुन सक्छ,’ राजलवटले भने, ‘कर सचेतना र अनुगमन पनि बढाएका थियौं ।’ उनका अनुसार असारमा मात्रै ७४ करोड ८ लाख रुपैयाँ राजस्व उठेको थियो ।

    आन्तरिक राजस्व कार्यालय काभ्रेले रामेछाप र दोलखामा भएका दुई करदाता सेवा कार्यालय र धुलिखेलबाट काभ्रे र सिन्धुपाल्चोकका करदाताबाट राजस्व असुली गर्छ । वस्तु, सेवामा लाग्ने कर, आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्कलगायतका राजस्व आन्तरिक राजस्व कार्यालयमार्फत संकलन हुन्छन् । गत आवमा १ अर्ब ९३ करोड २ लाख ८८ हजार आयकर, १ अर्ब ४१ करोड ६४ लाख २७ हजार मूल्य अभिवृद्धि कर, ३२ करोड १८ लाख ५८ हजार अन्तःशुल्क, २३ करोड ८३ लाख ५२ हजार ब्याज कर र ५ करोड ३१ लाख ७६ हजार रुपैयाँ घर बहाल कर संकलन भएको छ ।

    काभ्रे, सिन्धुपाल्चोक, रामेछाप र दोलखामा गरी ३८ हजार २ सय ६५ करदाता व्यक्तिगत प्यानमा, ३३ हजार २ सय ५३ जना आयकरमा, ४ हजार २ सय ४९ जना मूल्य अभिवृद्धि करमा, १ हजार ४ सय ७५ जना अन्तःशुल्कमा, ८ सय जना संस्थागत प्यानमा आबद्ध छन् । अघिल्लो आवमा भने लक्ष्यभन्दा कम राजस्व संकलन भएको थियो । ३ अर्ब ३० करोड ८६ लाख २० हजार रुपैयाँ अनुमान गरिएकामा २ अर्ब ७८ करोड ५४ लाख ६६ हजार रुपैयाँ मात्रै राजस्व संकलन भएको थियो । उक्त रकम लक्ष्यको ८४.१९ प्रतिशत हो ।

    इकान्तिपुरडटकमबाट

    प्रतिक्रिया दिनुहोस