२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

पनौती क्षेत्रमा १५ सय रोपनीमा भर्खर रोपेको धान सुक्यो, कुन्तामा समयमा पाकेन

  • २०७८ श्रावण ५, मंगलबार मा प्रकाशित २ साल अघि
  • ९९४ पाठक संख्या
  • पनौती क्षेत्रमा लगाईएको धान बालीमा सेतो र खैरो फड्के किराका कारण सिथ ब्लास्ट रोगको प्रकोप बढे पछी किसानहरु चिन्तामा परेका छन्।

    धान खेतीका लागि उर्वर मानिएको खोपासी, नौबिसे लगाएत पनौतीका १२ वटै वडाका विभिन्न फाँटमा फड्के किरासंगे सिथ ब्लास्ट रोग देखा परेको छ। पनौती नगरपालिका क्षेत्रका १५ सय रोपनी भन्दा बढी क्षेत्रमा रोग देखा परेको नगरपालिकाका कृषि तथा पशुपन्छी शाखा प्रमुख मणिप्रसाद सापकोटाले जानकारी दिए । हाईब्रिड जातका धानबालीमा यो रोगको प्रकोप देखिएको र बिस्तारै स्थानीय जातका धानमा पनि रोग सर्दै गएको कृषि तथा पशुपन्छी शाखा प्रमुख सापकोटाले जानकारी दिए ।धान रोपेको एक महिना पछि रोगको प्रकोप देखिएको किसानहरुले बताएका छन्।

    त्यस्तै रोपाइँ गरेको ५ महिना लागिसक्दा पनि चैते धान नपाकेपछि मण्डनदेउपुरका किसानले काटेर गाईबस्तुलाई खुवाउन थालेका छन् । किसानले स्थानीय व्यापारीमार्फत खरिद गरेर खुमल–११ धानको बीउ रोपेका थिए । तर बेलैमा नपाकेपछि वर्षे धान लगाउन ढिलो हुने भन्दै किसानले धमाधम काट्न थालेका हुन् ।

    सिँचाइको व्यवस्था भएकाले यहाँका अधिकांश किसानले वर्षमा दुई बाली धान लगाउँछन् । फागुन २७ मा मण्डनदेउपुर–८ का महेश्वर दाहालले साढे ३ रोपनी खेतका लागि १५ किलो धानको बीउ लगेर रोपेको भएपनि अहिले सम्म नपाकेको गुनासो गरे । दाहालका अनुसार धानको बोट पहेंलो भइसक्दा पनि बाला लागेको छैन, लागेको पनि ननुहेको जानकारी दिए । बीउका कारण समस्या भएको गुनासो गरेपछि बीउ उत्पादन कम्पनीले ५० प्रतिशतसम्म मात्रै बेहोर्न सक्ने बताएको छ ।

    स्थानीय किराना व्यवसायी ध्रुव ढकालले एभरेस्ट सिड कम्पनी प्रालिमार्फत ८ सय केजी धानको बीउ ल्याएर बिक्री गरेका थिए । एभरेस्ट सिडका नारायण भण्डारीले बीउको समस्याले भन्दा पनि मौसम प्रतिकूल भएर पाक्न समय लागेको दाबी गरे ।

    किसान, प्राविधिक, स्थानीय व्यवसायी, बीउ कम्पनीका प्रतिनिधिसहितको छलफलमा नगर प्रमुख टोकबहादुर वाइबाले किसानलाई क्षतिपूर्ति दिन अनुरोध गरेका छन् । कम्पनीले बीउको मूल्यको आधा बेहोर्न तयार भएको बताएको छ ।

    प्रतिक्रिया दिनुहोस