२०७८ श्रावण १५, शुक्रबार | Fri, 30, Jul, 2021

नमोबुद्ध नगरपालिका ११ को वडा कार्यालयको सुविधा सम्पन्न भवन

  • २०७८ श्रावण ४, सोमबार मा प्रकाशित १ हप्ता अघि
  • ७० पाठक संख्या
  • चार बर्षदेखि भाडाको घरमा कार्यालय सञ्चालन गर्दै आएको नमोबुद्ध नगरपालिका ११ को वडा कार्यालय सोमबारदेखि आफ्नै सुविधासम्पन्न भवनमा सरेको छ ।

    वडा कार्यालय भवनको आज सोमबार आयोजित एक कार्यक्रमका बीच नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले उद्घाटन गरेसँगै अव सेवाग्राहीले सहजरुपमा सेवा प्राप्त गर्ने भएका छन् । वडा कार्यालय भवनसँगै कुरुगाउ आधारभुत स्वास्थ्य केन्द्रको भवनसमेत निर्माण गरिएको छ । यससँगै वडाबासीलाई स्वास्थ्य सेवा प्रदान गर्न थप ससहजता आउने भएको छ । नगर प्रमुख तिमल्सिनाले वडा कार्यालय र आधारभुत स्वास्थ्य केन्द्रको भवनको एकसाथ उद्घाटन गरेका थिए ।

    २०७४ सालको स्थानीय निर्वाचनपछि जनप्रतिनिधि आएपछि निर्माण भएर उद्घाटन भएको वडा नं। ११ को वडा कार्यालय पहिलो हो । वडा कार्यालय ५५ लाख रुपैयाँको लागतमा निर्माण व्यवसायीमार्फत निर्माण भएको हो भने ३३ लाख १० हजार रुपैयाँ तथा १५ प्रतिशत जनसहभागितासहित स्थानीय उपभोक्तामार्फत स्वास्थ्य केन्द्र निर्माण गरिएको हो ।

    नमोबुद्ध नगरपालिकाले नगरबासीलाई सहजरुपमा सेवा प्रदान गर्नका लागि वडा कार्यालय तथा स्वास्थ्य संस्थाको भवन निर्माणलाई प्राथमिकतामा राखेको थियो । सोहीअनुसार पहिलो चरणमा वडा नं। ११ सहित वडा नं। ३ र ६ को वडा कार्यालय निर्माणको काम सम्पन्न गरिसकेको छ । दोस्रो चरणमा वडा नं। २, ७, ८, ९ र ११ को वडा कार्यालय भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । यसै आर्थिक बर्षमा वडा नं। १, ४ र ५ को कार्यालय निर्माणका लागि प्रक्रिया सुरु भइसकेको छ । नगरपालिकाले नगरको प्रमुख प्रशासकीय भवनको पूर्णरुपमा निर्माणको कामसमेत सकिसकेको छ ।

    वडा कार्यालय र स्वास्थ्य केन्द्र उद्घाटन गर्दै नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले एकतावद्धरुपमा नगरको विकासमा लागिपरेको बताए ।
    कार्यक्रममा उपप्रमुख रामदेवी तामाङले नगरमा भौतिक संरचनाको विकास तीब्ररुपमा भएको बताउँदै यसको सही सदुपयोग गर्न सबै पक्षलाई आग्रह गरिन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले नगरबासीले सहजरुपमा सेवा प्राप्त गरुन् भन्ने उद्देश्यले वडा भवन निर्माण, वडा कार्यालयका साथै मोबाइल एप्लिकेसनमार्फत राजस्व भुक्तानीको व्यवस्थापन गरिएको बताए ।

    यसैगरी वडा नं ११ का अध्यक्ष कृष्णवहादुर तामाङ, वडा नं. १ का अध्यक्ष कर्म ग्याल्बो लामा, वडा सदस्य भवमान तामाङ लगायतले मन्तव्य राखेका थिए ।
    कार्यक्रमकै अवसरमा वडा कार्यालयको दलित आयआर्जन कार्यक्रमअन्तर्गत वडामा रहेका १३ वटै दलित परिवारलाई आयमुलक कार्यका लागि ड्रिल मेसिन, वेल्डिङ मेसिन र कटिङ मेसिन वितरण गरिएको थियो । यस्तै चार बर्षसम्म वडा कार्यालय र स्वास्थ्य केन्द्र सञ्चालनका लागि घर उपलव्ध गराउने घरधनीलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो । कार्यक्रम वडा सचिव शंकर भट्टराईले सञ्चालन गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस