२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

कृषि बीमाको अनुदान थप गर्न पाँचखाल नगरबासीको अनुरोध

  • २०७८ अषाढ २३, बुधबार मा प्रकाशित २ साल अघि
  • १०४२ पाठक संख्या
  • पाँचखाल नगरवासीले कृषि बीमामा अनुदान थप गर्न माग गरेका छन् । पाँचखाल नगरपालिका र बीमा समिति बिच बीमा सम्बन्धी समसामयिक विषयक अन्तर्क्रिया कार्यक्रममा स्थानीय कृषकहरुले कृषि बीमाका प्रिमियममा दिइएको सहुलियतलाई किन घटाइएको भन्दै बीमा समिति सँग प्रश्न गरेका थिए । उनिहरुले कृषकका लागि दिइएको यस्तो सहुलियतलाई थप गरी निरन्तरता दिन आग्रह गरेका थिए । पाँचखाल नगरपालिका तरकारी उत्पादनका लागि प्रसिद्ध मानिन्छ । काठमाडौंमा सबैभन्दा धेरै तरकारी आउने स्थानहरु मध्ये पाँचखाल पनि एक हो । त्यसैले गर्दा यो क्षेत्रमा कृषि तथा पशुपन्छी बीमा गर्ने संख्या धेरै छ ।

     

    कार्यक्रममा नगर प्रमुख महेश खरेल पनि कृषि क्षेत्रमा बीमा आवश्यक रहेको तथा त्यस्ता बीमा गरेका कृषकहरुलाई सहुलियत दिनुपर्नेमा जोड दिए । नगरप्रमुख खरेलले प्रत्येक परिवार तथा घरको समेत बीमा आबश्यक रहेको जानकारी दिए । कार्यक्रममा नगरप्रमुख खरेलले सम्पुर्ण नगरबासीलाई आफ्नो फजुल खर्चलाई कटौती गरेर बीमा गर्न अनुरोध गरेका थिए । उनले बीमा सम्बन्धी जनचेतना प्रवर्द्धनका लागि भोलिका दिनमा पनि बीमा समिति सँग समन्वय गरेर नगरपालिका अगाडि बढ्ने धारणा राखेका थिए ।

    कार्यक्रममा बीमा समितिका निर्देशक पूजन ढुङ्गेल अधिकारीले बीमा सम्बन्धी विषयमा प्रतिस्तुतीकरण दिएकी थिइन । उनले जीवन बीमा, सम्पत्ती बीमा, लघु बीमा गर्दा कर छुट पाइने व्यवस्था, सरकारले दिने अनुदानको विषयमा जानकारी दिइन् । सम्पत्तीको बीमा गर्दा कर छुट पाइने विषयलाई लिएर सहभागीले बीमा समितिलाई प्रश्न गरेका थिए । आगामी आर्थिक वर्षको बजेटले सम्पत्तीको बीमा गर्दा आयकर गणनामा ५ हजार रुपैयाँसम्मको छुट हुने व्यवस्था गरेको छ । मेयर खरेलले सरकारको यस्तो व्यवस्थाले घर सम्पत्तीको बीमा गर्न प्रोत्साहित गर्ने बताए । केहि समय अगाडि सिन्धुपाल्चोकमा बाढीका कारण सयौ घरहरु क्षति भएका थिए । यदि बीमा गर्ने हो भने यसरी हुने क्षेतिलाई बीमाले कभर गर्ने भनेर जानकारी गराइएको ढुङ्गेलले बताइन ।

    कार्यक्रमा बीमा समितिको उप निर्देशक पुनम ज्ञवाली श्रेष्ठ र सहायक निर्देशक सम्भु प्रसाद मिश्रलगायतले बीमा बारे मन्तब्य राखेका थिए । कार्यक्रममा नगर उपप्रमुख लक्ष्मी दनुवार, वडा अध्यक्षहरु संजय तामाङ, सुन्दर लामा, सुन्दर अधिकारी, पुस्कर ढकाल, पाँचखाल उद्योग बाणिज्य संघका अध्यक्ष राजन कार्की, पाँचखाल नगरका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

    कतिपय सहभागीले कोरोना बीमाको दाबी भुक्तानी कहिले पाइन्छ भनेर समितिलाई प्रश्न गरेका थिए । त्यस्तै केहि सहभागिले कृषि बीमाको दाबी भुक्तानीको विषयलाई लिएर पनि गुनासो व्यक्त गरेको बीमा समितिले जनाएको छ । बीमा समितिले पाँचखाल नगरपालिकालाई आफ्नो सेवाहरु सँग बीमालाई टाइअप गर्न अनुरोध गरेको छ ।

    कार्यक्रममा ८० जना भन्दा धेरैको सहभागिता थियो ।

    बीमा समितिले बीमाको विषयमा प्रवर्द्धनात्मक कार्यक्रमहरु आयोजना गरिरहेको छ । स्थानिय तह सँग बीमा समिति भन्दै स्थानीय तहका निर्वाचित प्रतिनिधिहरुलाई बोलाएरै कार्यक्रम गरिरहेको छ । समितिले यस वर्ष १०० वटा भन्दा धेरै स्थानीय तहमा पुगेर यस्ता कार्यक्रम आयोजना गर्ने छ । स्थानिय तहका जनप्रतिनिधि तथा सर्वसाधारण सँग प्रत्यक्ष छलफल तथा अन्तर्क्रिया गर्ने क्रममा उनिहरुबाट आएका सुझावलाई हेरेर समितिले भोलिका दिनमा आवस्यक नीति नियम बनाउने योजना बनाएको छ ।

    प्रतिक्रिया दिनुहोस