२०७८ श्रावण १५, शुक्रबार | Fri, 30, Jul, 2021

पाँचखालमा एकिकृत प्रजनन स्वास्थ्य शिविर सम्पन्न

  • २०७८ अषाढ २२, मंगलबार मा प्रकाशित ३ हप्ता अघि
  • २२१ पाठक संख्या
  • पाँचखालमा रहेको नेपाल परिवार नियोजन संघ स्वास्थ्य केन्द्रमा एकिकृत प्रजनन स्वास्थ्य शिविर तथा गर्भवती र सुत्केरी महिलाहरुलाई मर्यादा सामाग्री हस्तान्तरण गरिएको छ । शिविरमा १ सय ५८ जना महिलाहरुले सेवा लिएका छन् ।

    शिविरमा पाठेघरको मुखको क्यान्सरको परीक्षण, परिवार नियोजनका अस्थाई र स्थायी सेवा, यौन रोगका उपचार, ल्यावसेवा, हिंसा सम्बन्धी परामर्स, एचआईभी परीक्षण, गर्भवती परीक्षण गरिएको थियो ।

    त्यस्तै शिविरमा आएका गर्भवती तथा सुत्केरी महिलाहरुलाई मर्यादा सामाग्री हस्तान्तरण गरिएको छ । पाँचखाल नगरपालिका स्वास्थ्य शाखा र नेपाल परिवार नियोजन संघ स्वास्थ्य केन्दको आयोजनामा भएको कार्यक्रममा पाँचखाल नगरप्रमुख महेश खरेल, उपप्रमुख लक्ष्मी दनुवार, पाँचखाल ३ का वडा अध्यक्ष सुन्दर अधिकारी, परिवार नियोजन संघका कार्यक्रम निर्देशक सुवासचन्द्र श्रेष्ठ, परिवार नियोजन संघ काभ्रेका सभापति शुभराज जोशी, परिवार नियोजन संघका डा. ओम महर्जन, परिवार नियोजन संघ काभ्रेका बरिष्ठ शाखा प्रबन्धक रमेश श्रेष्ठ लगायतले गर्भवती तथा सुत्केरी महिलाहरुलाई मर्यादा (आवश्यक सामाग्री) सामाग्री हस्तान्तरण गरे । मर्यादा सामाग्रीहरुमा महिलाहरुले प्रयोग गर्ने ब्लाउज, पेटीकोट, म्याक्सी, टावेल, टुथपेष्ट, काईयो, नेलकटर, सावुन लगायत १७ प्रकारका सामाग्री हुने परिवार नियोजन संघ काभ्रेका बरिष्ठ शाखा प्रबन्धक रमेश श्रेष्ठले जानकारी दिए ।

    कार्यक्रममा नगरप्रमुख खरेलले विशेषगरी सुत्केरी भइसकेका महिलाहरुले स्वास्थ्य जाँच गराईराख्नुपर्ने बताउँदै बर्षको एक पटक मात्र भएपनि स्वास्थ्य जाँच गर्न सुझाव दिए । नगरप्रमुख खरेलले परिवारको संख्या, परिवार प्लानिङ गरेर कम सन्तान जन्माउन आवश्यक भएको भनाई राखे । त्यस्तै उपप्रमुख लक्ष्मी दनुवारले पाँचखाल नगरपालिकाले विभिन्न घुम्ती शिविरहरु गरिरहेको जानकारी दिईन । नगरपालिकाले गर्भवती महिलाहरुलाई निशुल्क रुपमा भिडियो एक्सरे गराउन सहयोग गरेको जानकारी दिदैं नगरउपप्रमुख दनुवारले नगरपालिकाले सुत्केरी महिलाहरुलाई पोषिलो खानेकुराको लागि व्यवस्था गर्न लागेको जानकारी दिईन । कार्यक्रममा वडा अध्यक्ष सुन्दर अधिकारीले वडागत रुपमा परिवार नियोजन संघले धेरै नै सहयोग पुर्याएकोमा धन्यवाद दिए । कार्यक्रममा परिवार नियोजन संघका कार्यक्रम निर्देशक सुवासचन्द्र श्रेष्ठ, परिवार नियोजन संघ काभ्रेका सभापति शुभराज जोशी लगायतले परिवार नियोजन बारे मन्तब्य राखेका थिए ।

    नेपाल परिवार नियोजन संघ स्वास्थ्य केन्द्रमा हाल सम्म ३२ सय भन्दा बढि सुत्केरी भएका छन् ।

    प्रतिक्रिया दिनुहोस