२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

मुग्लिनको जाममा परेका बेहुलाहरु……

  • २०७८ अषाढ १८, शुक्रबार मा प्रकाशित २ साल अघि
  • १६९७ पाठक संख्या
  • पहिरोलले नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध हुँदा दजनौं यात्रुहरु अलपत्र परेका छन् । बिहान ५ बजेबाट झर्न थालेको पहिरो अझै पूर्ण रुपमा रोकिएको छैन । सडक सुचारु हुने र खुल्ने क्रम चलिरहेको छ ।

    तर पूर्ण रुपमा सडक सञ्चालनमा नआएका कारण सवारीहरु लामो समय जाममा पर्ने गरेका छन् । मुग्लिनतर्फ जाने र भरतपुरतर्फ आउने सवारी साधानहरुको लामो लाइन छ । यसरी रोकिनेमा विवाहका लागि हिँडेका दुलाहा र जन्तीहरु पनि छन् ।

    यसरी अलपत्र परेका ६ जना दुलाहाको सामूहिक तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ, जुन तस्वीर गोरखाका सिरानचोक गाउँपालिका–५ का ज्ञानेन्द्रराज पोखरेलले खिचेका हुन् । उनी आफ्नो भतिजो आशिष पोखरेलको बिहेमा गाउँबाट बिहान ७ बजे नै चितवन हिँडेका थिए ।

    तर मुग्लिनबाट करिब ५/७ किलोमिटर नारायणगढतर्फ आएपछि जाममा परे । चितवनको चनौलीमा दुलही लिन १२ जना जन्तीसहित आएका पोखरेल बिहान ९ बजे नै मुग्लिन आएको थियो । निकैबेर जाममा बस्दा दुलही लिन हिँडेका बेहुलाहरुको भेटघाट भयो । केही गाडीबाट झरेर एक आपसमा गफिन थाले ।

    त्यहीँ बेलामा ज्ञानेन्द्रले यादगार क्षण हुन्छ भनेर सामूहिक तस्वीर खिच्ने प्रस्ताव गरे ।

    ज्ञानेन्द्रका अनुसार जाममा परेका १२/१५ जना दुलाहा थिए । कोही गाडीमै बसेका थिए भने कतिपयले फोटो खिच्न मानेनन् । ६ जना तयार भए, ज्ञानेन्द्रले क्लिक फोटो खिँचे । ‘बल्लतल्ल कालीखोला कट्यौं, कतिबेला बेहुलीको घरमा पुग्ने हो थाहा छैन ।’–ज्ञानेन्द्रले भने ।

    बिहान चाँडै केटीको घरमा पुग्ने र छिट्टै गाउँ फर्किने योजना बनेको भए पनि जामले चौपट भएको उनले सुनाए । भन्छन्, ‘विहे खान आएको, हामी सबे चाउचाउ खाएर प्राण धानिरहेका छौं । थकाइ पनि लाग्यो, सबै भोकले लखतरन भइसक्यौं ।’

    प्रतिक्रिया दिनुहोस