२०७८ श्रावण १५, शुक्रबार | Fri, 30, Jul, 2021

लोपोन्मुख पहरी जातीलाई बाख्रा वितरण

  • २०७८ अषाढ १५, मंगलबार मा प्रकाशित १ महिना अघि
  • ५७५ पाठक संख्या
  • लोपोन्मुख जातीको रुपमा रहेका पहरी जातीलाई ८० प्रतिशत अनुदानमा बाख्रा वितरण गरिएको छ ।

    पाँचखाल नगरपालिका र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बाख्राको साना व्यवसायी कृषि उत्पादन (पकेट) विकास कार्यक्रम अन्तरगत ८० प्रतिशत अनुदानमा बाख्रा वितरण गरिएको हो । पाँचखाल ९ मा रहेका पहरी बस्तीका ५६ परिवारलाई बाख्रा वितरण गरिएको हो ।

    पाँचखाल नगरपालिका उपप्रमुख लक्ष्मी दनुवार, पाँचखाल वडा नं ९ का अध्यक्ष किरण श्रेष्ठले पहरी समुदायलाई बाख्रा हस्तान्तरण गरेका थिए । हस्तान्तरण कार्यक्रममा उपप्रमुख दनुवारले थोरै मेहनतमा राम्रो आम्दानी हुने भएकोले पहरी जातीको आयमा वृद्धि होस भन्ने मनसायले बाख्रा वितरण गरेको बताईन । ‘बितरण गरेको बाख्राको राम्रो स्याहार गरेर पाल्नुहोस, त्यसको उत्पादनले तपाईहरुको घर व्यवहार चलाउन सहयोग पुग्छ ।’–उपप्रमुख दनुवारले भनिन,–नगरले दिएको भनेर नबेच्नुहोला ।

    कार्यक्रममा पाँचखाल वडा नं ९ का अध्यक्ष किरण श्रेष्ठले जस जसले बाख्रा पाउनुभयो उहाँहरुले जतन गरेर पाल्न र बाख्रा पकेट क्षेत्रको पहिचान बनाउन कृषकहलाई अनुरोध गरे । कार्यक्रममा पाँचखाल नगरपालिकाका पशुविकास शाखा प्रमख दत्तप्रसाद गौतम, स्थानीय पहरी जातीको सहभागिता रहेको थियो ।

    नगरले टेन्डर मार्फत सबल बहुउदेश्यीय कृषि तथा पशुपक्षी फर्ममार्फत पलाञ्चोकको पहरी बस्ती लगायत पाँचखाल वडा नं ११ का अति विपन्न कृषकहरुलाई उपलब्ध गराएको थियो । स्थानीय स्तरमानै कालिका कृषि तथा पशुपंक्षी कृषक समूह र भगवती कृषि तथा पशुपंक्षी कृषक समुह बनाएर कृषक छनौट गरेर बाख्रा बितरण गरिएको हो ।

    बितरण भएका सबै बाख्राको विमा गरिएको नगरपालिकाका पशुविकास शाखा प्रमख दत्तप्रसाद गौतमले जानकारी दिए । उनका अनुसार बाख्रा वितरण भएको ठाउँमा उन्नत जातको बोका समेत बितरण हुनेछ । नगरले यस अघि पनि विभिन्न संघसंस्था सँग मिलेर वडा नं ७ र वडा नं ११ मा समेत बाख्रा बितरण गरिसकको छ ।

    प्रतिक्रिया दिनुहोस