२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

युरो कप : स्पेन र स्वीजरल्याण्ड क्वाटरफाइनलमा

  • २०७८ अषाढ १५, मंगलबार मा प्रकाशित २ साल अघि
  • १२०८ पाठक संख्या
  • युरो कपमा स्पेन र स्वीजरल्याण्ड क्वाटरफाईनलमा पुगेका छन् । सोमवार राती भएका खेलमा स्पेनले कोपनहेगनस्थित पार्केन रंगशालामा क्रोएसियालाई ५–३ को फराकिलो जित अन्तरमा क्वाटरफाईनल प्रवेश गरेको हो ।

    पहिलो हाफमा क्रोएसियाले अग्रता लिएको केहि वेरमा नै स्पेनले गोल गरेको थियो । स्पेनले दोस्रो हाफमा २ गोल गर्दै सहज जिततर्फ उन्मुख देखिएपनि क्रोएसियाले अन्त्यतिर दुई गोल गर्दै खेल अतिरिक्त समयमा पुर्याएको थियो । अतिरिक्त समयको पहिलो हाफमा स्पेनले दुई गोल गर्दै जित पक्का गरेको थियो ।

    स्पेन युरो २०१२ को उपाधि जितेपछि पहिलो पटक कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गर्न सफल रहयो । यसअघि विश्वकपको दुई संस्करण र युरो २०१६ मा स्पेनले अन्तिम ८ को यात्रा गर्न सकेको थिएन । अब स्पेनले क्वाटरफाइनलमा स्विट्जरल्यान्ड सँग खेल्नेछ ।

    त्यस्तै अर्को खेलमा फ्रान्सलाई टाइब्रेकरमा पराजित गर्दै स्विट्जरल्यान्डले प्रतियोगिताको क्वाटरफाइनलमा स्थान पक्का गर्यो । निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त ३० मिनेटमा पनि ३(३ को बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

    टाइब्रेकरमा ५–४ को जित दर्ता गर्दै स्विट्जरल्यान्डले स्पेनसँग क्वाटरफाइनल भेट पक्का गरेको हो । फ्रान्सका लागि पाँचौ प्रहार गर्न आएका युवा स्टार किलीयन एमबाप्पेको पेनाल्टीलाई गोलरक्षक यान सोमरले विफल पारेपछि फ्रान्स प्रतियोगिताबाट बाहिरिएको थियो । टाइब्रेकरमा स्विट्जरल्यान्डका सबै ५ खेलाडीले गोल गरेका थिए ।

    स्विट्जरल्यान्डले यस जितसँगै युरो कपको इतिहासमा पहिलो पटक नकआउट चरणमा जित हासिल गरेको छ । यसअघि अन्तर्राष्ट्रिय फुटबलमा खेलेका सबै तीन टाइब्रेकरमा पराजित स्विट्जरल्यान्डले पहिलो पटक जित हासिल गर्यो । फ्रान्सले भने सातौंपटक टाइब्रेकरमा पुग्दा चौथो हार बेहोरेको छ ।

    प्रतिक्रिया दिनुहोस