२०७८ श्रावण १५, शुक्रबार | Fri, 30, Jul, 2021

हेलम्बुदेखि दोलालघाट सम्म बाढीको बितण्डा : हेलम्बुका बिभिन्न गाउँमा सडक, विजुली र सञ्चार विच्छेद (फोटो सहित स्थलगत रिपोर्टिङ)

  • २०७८ अषाढ ३, बिहिबार मा प्रकाशित १ महिना अघि
  • ३०७ पाठक संख्या
  • मेलम्ची खोलामा आएको लेदो सहितको बाढिले हेलम्बु गाउँपालिकाका बिभिन्न स्थानमा घर बगाएको छ भने मेलम्ची र इन्द्राबतीको संगमस्थल मेलम्चीमा लेदोले धेरै घर पुरेको छ । एउटै घर तीन तला सम्म पुरेको छ । मेलम्ची बजारबाट आमा ह्योल्मो बसपार्क नजिकै रहेको मोटरचल्ने पक्की पुल र झोलुङ्गे पुल बगाएको छ । तीम्बुबाट पारी गाउँ जाने पक्की पुल पनि बाढीले बगाएको छ ।

       

    मेलम्ची हुँदै मेलम्ची खानेपानी आयोजना जाने बाटोमा पर्ने तारामाराङ, ग्याल्थुम, चनौटे बजार, क्युल, तिम्बु, अम्बाथान लगायतका ठाउँका घरहरु पनि बगाएको छ । मेलम्चीको पानी लैजाने मुहानमा पनि बाढिले क्षती पुर्याएको छ । मेलम्चीको ठाँडो खोला भएकोले धेरै क्षती गरेको स्थानीयले जानकारी दिए ।

    बाढीले हेलम्बु गाउँपालिकामा बढि क्षति भएपनि सडक, विजुली र सञ्चार सञ्जालबाट विच्छेद भएपछि स्थानीय त्रासमा छन् । सहयोग लैजानेहरुले पनि त्यस भेगमा लैजान आवश्यक छ ।

    क्युलमा रहेका घर टहरा बगाएको छ । क्युलको जयराम भण्डारी लगायतका तीनबटा ट्राउट फर्म बगाएको छ । विभिन्न फर्ममा काम गर्ने ४ जनाको बाढीले बगाएर मृत्यु भएको स्थानीयले जानकारी दिए । विजुली र सञ्चार सञ्जालबाट बञ्चित भएका स्थानीयलाई सुरक्षीत स्थानमा लैजान पहल नभएको भन्दै आक्रोसित समेत भएका छन् । स्थानीय जयराम भण्डारीका अनुसार बढीले पु्याएको क्षतीको एकिन नै गर्न नसकेको बताए । विदेशमा रहेका भण्डारी केहि बर्ष पहिलेमात्र नेपाल आएर ६ करोड खर्च गरेर ट्राउट फर्म सञ्चालन गरेका थिए । भण्डारीका अनुसार बाढीले चनौटे बजार नै बगाएको छ ।

    त्यस्तै इन्द्रावती नदीले पनि विभिन्न ठाउँमा क्षति पुर्याएको छ । इन्द्रावतीमा रहेको झोलुङ्गे पुल माथीबाट पानी बगेको छ । खुट्टामा चोट लागेका पाँचपोखरी थाङपालधाप गाउँपालिकाका अध्यक्ष टासी लामालाई ईन्द्रावती नदीमाथिको जोखिमयुक्त पुलबाट बोकेरै नदी तारिएको छ। बाढीले मेलम्चीबाट टिपेनी जाने पक्की पुल बगाएपछि जोखिम मोलेर गाउँपालिका अध्यक्ष घाइते भएकाले सहयोग लिएर अर्का एक व्यक्तिको पिठ्यँुमा बोकेर तारेका थिए । अहिलेपनि झोलेङ्गेपुल माथी पानी बगिरहेको छ ।

    त्यस्तै मेलम्चीमा लेदोले पुरिएका घरहरुबाट नेपाली सेना, ससस्त्र, नेपाल प्रहरी र स्थानीयको सहयोगमा सामानहरु निकालिएको छ । मेलम्चीमा रहेका पुरिएका घरहरुबाट बचेका सरसामान निकालेर सुरक्षीत स्थानमा सारिएको छ । अझै बाढीको त्रास हटेको छैन् ।

    पानीको बहाव परिवर्तन भएर काभ्रेको दोलालघाट समेत डुवानमा परेको छ । दोलालघाटको पल्लो बजार मुनी रहेका घर, टहरा डुवाएको छ । इन्द्रावती र सुनकोशीको संगमस्थलमा दुवै नदीले आफ्नो वहाब परिवर्तन गरी एक दर्जन घर डुवानमा परेको छ ।

    प्रतिक्रिया दिनुहोस