२०८१ बैशाख ४, मंगलबार | Tue, 16, Apr, 2024

कोरोनाको घेरामा बालबालिका : अस्पतालको पूर्व तयारी र अभिभावकको भूमिका

  • २०७८ अषाढ १, मंगलबार मा प्रकाशित २ साल अघि
  • २१७२ पाठक संख्या
  • सम्झना हुमागाई/२०७८ असार १, बनेपा

    कोभिड १९ को दोस्रो लहरले निकै प्रभावित बनेको नेपालमा तेस्रो लहरले बालबालिकामा बढी जोखिम ल्याउने भन्दै सरकारले तयारी थालेको छ । कोरोना भाइरसको तेस्रो लहरले बालबालिका बढी जोखिममा पर्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ । मन्त्रालयको निर्देशनसँगै अहिले जिल्लाका अस्पतालहरुले पूर्वाधारको तयारी सुरु गरिसकेका छन् ।

    कोभिड डेडिकेटेड अस्पतालको रुपमा उपचार सेवा दिइरहेको काभ्रेको धुलिखेल अस्पतालमा कोभिडका १०० विरामी राख्ने  क्षमता छ । अस्पतालले यसै वेड संख्याबाट आँधा अर्थात ५० वेडलाई आईसीयूसहित बालबालिकाका लागि तयार गर्दैछ । यसका लागि आवश्यक अक्सिजन, आईसीयू, भेन्टिलेटर लगायतका सामाग्री व्यवस्थापन गर्न छलफल अघि बढाइएको हेड अफ डिपार्टमेन्ट हस्पिटल सर्भिस डाइरेक्टर डा. राम गुरुङले बाताए । उनले भने,‘ दुईवटै अक्सिजन प्लान्टलाई अहिले तयारी अवस्थामा राखिएको छ । यसको उत्पादन क्षमता दैनिक ७० सिलिन्डर मात्र रहेको छ ।’ थप आवश्यक संख्या पनौतीको नवज्योति ग्यासेस प्रालिबाट ल्याउने अस्पतालले जनाएको छ । ‘यसपटक कोभिडका विरामीको चाँप उच्च रहेको समयमा अन्य २५ वेड संख्या बढाएर १२५ जनासम्म कोभिडका विरामीको उपचार गराइयो, अक्सिजनको माग दैनिक ३ सय बढी सिलिन्डर थियो । अहिले अवस्था सामान्यतिर जाँदै छ’, डाइरेक्टर गुरुङले बताए ।

    लेखक हुमागाई

    बनेपास्थित शिर मेमोरियल अस्तालतका वरिष्ठ कार्यकारी अधिकृत सुन्दर थापाले कोरोनाको दोस्रो लहर अझै कायमै रहेकाले त्यसैमा केन्द्रित रहेको बताए । तर, तेस्रो लहरको संक्रमणको लागि तयारी तीब्र पारिएको उनको भनाइ छ । अस्पतालमा एचडीयू वेड, अक्सिजन र स्वास्थ्यकर्मीको कुनै अभाव नहुने उनको दाबी छ । शिर मेमोरियल अस्पतालमा कोभिडका विरामीका लागि ४० बेड छुट्याइएको छ । यसैलाई संक्रमित बालबालिकाको उपचारका लागि प्रयोग गर्ने र आवश्यक परेको खण्डमा बढाउने थापाले बताए । त्यहाँ दैनिक २५ सिलिण्डर अक्सिजन उत्पादन क्षमताको अक्सिजन प्लान्ट छ भने थप आवश्यक पनौतीकै नवज्योति ग्यासेस प्रा.लिबाट ल्याइन्छ । कोरोनाको दोस्रो लहर सुरु भएयता एप्रिल महिनासम्ममा अस्पतालबाट २२० जना कोरोना संक्रमितले सेवा लिइसकेका छन् । जसमध्ये ९ जना बालबालिका थिए । त्यसमा दुई जना संक्रमित आमाबाट जन्मिएका शिशु थिए भने ७ जना लक्षणसहितका संक्रमित बालबालिकाले उपचार गराएको डा. एन्जेला बस्नेतले बताईन । ‘एक जनालाई अक्सिजनसहित उपचार गरिएकामा अरुको अवस्था सामान्य थियो । उनले थपिन्, ‘ति बालबालिकामध्ये १ जनालाई मात्र अक्सिजनको आवश्यक परेको थियो र उनी १४ दिन अस्पतालमा रहेका थिए ।’

    कोभिड डेडिकेटेड अस्पतालको रुपमा काम गरिरहेको भुकुन्डेस्थित जिल्लाको सरकारी अस्पतालमा भने ठाँउ अभावका कारण विरामीका लागि सिमित मात्रामा मात्रै वेड संख्या छ । जम्मा १५ वेड संख्या रहेको मेथिनकोट अस्पतालमा ४ वटा इमरन्जेसीका लागि प्रयोग गरिएको छ । ११ वेड ननकोभिड विरामीको उपचारका लागि छुट्याइएको छ । तर, उसले त्यहाँको जनक माविमा सञ्चालित आइसोलेसनबाट कोभिड विरामीका लागि सेवा प्रवाह गरिरहेको छ । एक सिफ्टमा ६ जनाको टोलीले त्यहाँ सेवा उपलब्ध गराउदै आएको छ । नमोवुद्ध नगरपालिका र रोशी गाँउपालिकाको संयुक्त पहलमा ४० वेड क्षमताको आइसोलेसन सञ्चालन रहेको हो । त्यहाँ अहिले पनि १५ जना संक्रमितले उपचार सेवा लिइरहेका छन् । तर, आइसोलेसनमा अहिलेसम्म संक्रमित बालबालिका नरहेको मेथिनकोट अस्पतालका सुपरिटेन्डेन डा. सागर जर्घामगरले बताए । उक्त अस्पतालमा बालरोग विशेषज्ञ छैनन भने एचडियू, आइसियू तथा भेन्टिलेटरको पनि सुविधा छैन ।

    निजी क्षेत्रमा कोभिड डेडिकेटेड अस्पतालको रुपमा काम गरिरहेको भोमी अस्पतालले जेठ महिनाभरमा ७० जना भन्दा बढीको संक्रमितलाई सेवा दिइसकेको छ । त्यसमा बालबालिकको संख्या शून्य छ । अस्पतालमा २५ वेड छ भने ९ आईसीयू र ३ भेन्टिलेटरको व्यवस्था छ । बालबालिकाकै लागि भनेर बेड तयार नगरिएको तर बालरोग विशेषज्ञसँग यसबारे छलफल अगाडि बढाइएको अस्पतालका महाप्रबन्धक सगुन कायस्थले बताए ।

    काभ्रे जिल्लामा पहिलो कोरोना लहरमा ३ हजार ३७२ जनामा कोरोना भाइसरको संक्रमण देखिँदा त्यसमा बालबालिकाको संख्या १९६ थियो । दोस्रो लहर लागेपछि दुई महिनाको अन्तरमा संक्रमित संख्या दोब्बर भएको छ । जेठ मसान्तसम्म संक्रमितको संख्य ७०३३ बढेर १० हजार ४ नाघिसकेको छ । यसमा बालबालिकाको संख्या मात्रै ७४२ छ । पहिलो लहरमा ०–५ वर्ष उमेर समुहका ३३ जना, ६–१२ वर्ष उमेर समुहका ६७ जना र १३–१८ वर्ष उमेर समुहका ९६ बालबालिका संक्रमित भएका थिए । दोस्रो लहरको जेठसम्म ०–५ वर्ष उमेर समुहका ७७ जना, ६–१२ वर्ष उमेर समुहका २३२ जना र १३–१८ वर्ष उमेर समुहका ४३३ गरी कूला ७४२ बालबालिकामा संक्रमण पुष्टि भइसकेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ ।

    नेपालमा हाल कोरोनाभाइरसको यूके भेरिअन्ट र डबल म्युटन्ट भेरिअन्ट देखा परेको सरकारले जनाएको छ । वयस्क व्यक्तिहरूको तुलनामा बालबालिकाको कोभिड १९ परीक्षण कम भएको हुँदा संक्रमित बालबालिकाको संख्या अझ बढी हुन सक्ने चिकित्सहरु बताउँछन् । हरेक स्थानीय तहमा परीक्षणको दायरा अझै बढाउनुपर्नेमा चिकित्सकहरुको जोड छ । पहिलो कोरोनाको लहरमा भन्दा तुलनात्मक रुपमा दोस्रो लहरमा संक्रमित हुने बालबालिकाको संख्या केही बढ्दै गएको छ । तर, अन्य उमेर समुहमा देखिएको जस्तो जटिल अवस्थामा भने बालबालिकामा नदेखिएको चिकित्सक बताउँछन् । संक्रमित हुने बालबालिकाहरूको संख्या बढ्ने क्रममा रहेता पनि हालसम्म अस्पतालमै पु¥याउनु परेका बालबालिकाहरूको संख्या भने कम नै रहेको धुलिखेल अस्पतालका जनस्वास्थ्य तथा सामुदायिक कार्यक्रम निर्देशक डा. विराज कर्माचार्यले बताए । ‘पहिलो लहरले वृद्धवृद्धालाई बढी असर गरेको देखियो,’ उनले भने, ‘अहिलेको भेरियन्टले युवामा असर देखिएकाले तेस्रो लहरले बालबालिकालाई हानि गर्न सक्छ भन्ने अनुमान गरिएको हो ।’ तर समस्या आउनुपूर्व नै तयारी गर्नु भने राम्रो हुने उनले बताए ।

    बालिबालिकाका लागि अहिलेनै खोप विकास नभइसकेकाले उनीहरुमा संक्रमणको जोखिम उच्च देखिन सक्ने शिर मेमोरियल अस्पतालका चिकित्सक एन्जेला बस्नेतले बताइन् । उनले भनिन्,‘ कोरोना भाइरसको कुनै औषधि विकास नभइसकेकाले खोप लगाएरनै सुरक्षित हुनुको विकल्प छैन ।’

    सरकारले तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुने बताएपनि खोपको व्यवस्था नहुने हो भने बालबालिका मात्र नभएर खोप नलगाएका सबै नागरिकहरु यसबाट प्रभावित हुन सक्ने टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले बताए । उनले भने, ‘पहिलो प्राथमिकतानै खोप हुनुपर्छ, विरामी हुन्छ भनेर वेड तयार गर्नुभन्दा पनि नागरिकलाई खोप उपलब्ध गराउन आवश्यक छ । अन्य उमेर समुह सुरक्षित भएमा बालबालिकामा जोखिम कम हुँदै जान्छ । यसपटक खोप लगाएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपनि स्वास्थ्यमा असर नगरेको पाइयो ।’

    विश्वका केही देशले भने बालबालिकामा पनि खोप लगाउन सुरु गरिसकेका छन् । अहिले अमेरिकाले भने १२ देखि १५ वर्ष उमेर समहुका बालबालिकालाई फाइजरले विकास गरेको खोप दिन थालिसकेको छ । चीनले ३ वर्षमाथिका बालबालिकालाई पनि लगाउन मिल्ने कोभिडविरुद्धको भ्याक्सिनलाई आपत्कालीन अनुमति दिएको छ । त्यहाँको स्वास्थ्य विभागले सिनोभ्याक्स् बायोटेकले निर्माण गरेको भ्याक्सिनलाई आपत्कालीन अनुमति प्रदान गरेको हो ।

    अभिभावकको भूमिका महत्वपूर्ण

    अहिले देशैभर निषेधाज्ञा लागु छ । जिल्लाहरुले पनि कोरोनाको जोखिम हेरेर निषेधाज्ञा देखि सिलसम्म गर्ने अधिकार स्थानीय तहलाई छ । काभ्रेमा पनि संक्रमणको दर उच्च भएको अवस्थामा सबै नगरपालिका निश्चित समयसम्म सिल गरेका थिए । अहिले सिल हटाएपछि जिल्लाभर निषेधाज्ञा भने कायमै छ । विद्यालयहरू बन्द गरिएका छन् । त्यसैले घरभित्रै बसेका बालबालिकाको हेरचाह महत्वपूर्ण हुने चिकित्सक बताउँछन् ।

    धुलिखेल अस्पतालका जनस्वास्थ्य तथा समुदाय कार्यक्रम निर्देशक डा. विराज कर्माचायका अनुसार संक्रमणबाट बालबालिकालाई बचाउनका लागि सबैभन्दा महत्वपूर्ण भूमिका अभिभावकको हुन्छ । उनका अनुसार बालबालिकासँगै रहने अभिभावकले सतर्कता अपनाउनुपर्छ । यस्तो अवस्थामा घर भित्रबाहिर गर्ने अभिभावकहरूले घर आउनासाथ सिधै बालबच्चालाई समातिहाल्न नहुने कर्माचार्यले बताउँछन् । उनले भने, ‘ बालबालिकाहरुलाई संक्रमणको जोखिम घरभित्रैबाट हुन्छ । बाहिर गएका आएका अभिभावकले भाइरस ल्याएका हुनसक्छन, त्यसैले बालबालिकाबाट अलग बस्ने, सरसफाईमा ध्यान दिने, सकिन्छ भने नुहाएर मात्रै बालबालिका समाउने, लगाएका मास्क जहाँ पायो त्यति नफाल्ने गरौं ।’ बालबालिकाहरूलाई कोरोनाभाइरसका नकारात्मक पाटाहरू मात्रै पनि बताउन नहुने उनको भनाइ छ । सकारात्मक सोच आउनेखाले सन्देश पनि दिनुपर्ने कर्माचार्यले बताए ।

    बालबालिकाको शारीरिक र मानसिक दुवै कुराहरूमा अभिभावकले ध्यान दिइनुपर्ने चिकित्सक बताउँछन् । ‘खेलकुदका सुरक्षित स्थानको व्यवस्थापनदेखि उनीहरूको मानसिक स्वास्थ्यमा प्रभाव नपरोस् भनेर बालबालिकाहरूको उमेरका हिसाबले सृजनात्मक क्रियाकलापमा लगाउन सकिन्छ । साथै उनीहरुलाई पर्याप्त मात्रामा पोषणतत्वको आवश्यक पर्छ,’ सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले बताए ।

    बालबालिकाको स्वास्थ्य अवस्थाबारे अभिभावक जानकार हुन आवश्यक रहेको डा. विराज कर्माचार्यले बताए । बच्चामा सामान्य रुघाखोकी लाग्यो भनेर सामान्यरुपमा मात्र लिन नहुने उनी बताउँछन् । ‘कतिपय बालबालिकामा कोरोना लागेको ३/४ हप्तापछि मात्रै असर देखिन थाल्छ । संक्रमणको शंका लागेमा परिक्षण गराइहाल्नु पर्छ, उनले भने ।

    कतिपय बालबालिका संक्रमित भए पनि लक्षण भने नदेखिने पनि हुन सक्ने नेपाल पेडियाट्रीक सोसाइटीको भनाइ छ । ‘विश्वका बालबालिकामा बिरामीको समय भन्दा पनि रोग लागेको ४ देखि ६ हप्ता पछि मल्टी सिस्टम इन्फलेमेटरी सिनड्रोम इन चिल्ड्रेन (एमआइएससी) भई बच्चाहरू सिकिस्त हुन सक्छन् । यसको उपचार निकै महँगो छ, अत्यन्तै कडा रूपमा प्रस्तुत हुने र आईसीयूको आवश्यकता सँगै कतिपय अवस्था जटिल समेत हुन्छ,’ सोसाइटीले सार्वजनिक गरेको अपिलमा उल्लेख गरिएको छ ।

    दोस्रो लहरको कोरोनाले नेपालमा धेरै मानवीय क्षति गरेको छ र गर्ने क्रममै छ । अझै अब तेस्रो चौथो लहर घातक हुन सक्ने विज्ञहरुले बताएका छन् । र, सो समय बालबालिका बढी प्रभावित हुन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले अस्पतालहरुलाई स्वीकृति वेड संख्याको २० प्रतिशत बालबालिकाका लागि छुट्याउन भनिसकेको छ । संघीय स्वास्थ्य निर्देशनालयबाट तयारीका लागि पत्र आएको र सोही अनुसार गर्न जिल्लाका अस्पतालहरुलाई केही दिन अघि मात्रै जानकारी गराइसकेको जिल्ला स्वास्थ्य कार्यालयका बरिष्ठ स्वास्थ्य प्रशासक डा.नरेन्द्र कुमार झाले बताए । अस्पतालले मन्त्रालयलको निर्देशन पालना गरे नगरेको बारेमा समेत अनुगमन गर्ने उनको भनाइ छ ।

    संक्रमण बढ्दै जाँदा जिल्ला पाँचखाल, धुसेनीशिवालय लगायतका स्थानमा स्थानीय तहको समन्वयमा आइसोलेसन केन्द्र सञ्चालन गरिएको छ । अहिले जिल्लाका विभिन्न अस्पताल तथा आइसोलेसनका लागि विभिन्न संघसंस्थाबाट अक्सिजन कन्सेन्ट्रेटर, आईसीयू, भेन्टिलेटर, औषधिजन्य सामाग्रीहरु सहयोग प्राप्त भएको छ । ‘जिल्लामा अहिले रहेका सामाग्री उपचारका लागि पर्याप्त छ, तर जिल्ला भन्दा बाहिर सिन्धुली, सिन्धुपाल्चोक, रामेछाप, दोलखा लगायत प्रदेश २ का केही जिल्लाबाट समेत विरामी धुलिखेल अस्पताल आइपुग्ने हुदाँ अलि विरामी चाँप बढेको हो,’ स्वास्थ्य कार्यालयका प्रमुख झाले बताए । तेस्रो चरणको कोभिड र बालबालिकासँग सम्बन्धि भएर अहिले जिल्लाले काम अघि बढाएको उनले बताए ।

    दोस्रो लहरको कोरोनाले निकै प्रभावित बनेको काभ्रेमा अहिले संक्रमित संख्या ओरालो लाग्दै छ । विरामीले वेडनै नपाउने अवस्थामा थियो । संक्रमित कम भएसँगै अहिले भने उपचार सहज हुँदै गएको छ । अब जनस्वास्थ्यका मापदण्ड पालना गरेर भीडभाड नगरेमा संक्रमणको जोखिम कम हुने चिकित्सकहरु बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस