२०७८ श्रावण १५, शुक्रबार | Fri, 30, Jul, 2021

डिसिसिएमसीले पालिकाका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री उपलब्ध गराउने

  • २०७८ जेष्ठ २८, शुक्रबार मा प्रकाशित १ महिना अघि
  • १५४ पाठक संख्या
  • जिल्ला स्तरीय संकट ब्यवस्थापन केन्द्र (डिसिसिएमसी)ले विभिन्न संघ संस्थाहरु मार्फत प्राप्त स्वास्थ्य सामाग्रीहरु स्थानीय सरकार मार्फत स्वास्थ्य संस्थालाई उपलब्ध गराउने निर्णय गरेको छ ।

    कोभिड १९ संक्रमण नियन्त्रण, रोकथाम र उपचार सम्वन्धी जिल्ला स्तरीय संकट ब्यवस्थापन केन्द्रका संयोजक प्रमुख जिल्ला अधिकारी पोखरेलको अध्यक्षतामा बसेको बैठकले काभ्रे सेवा समाज, साउदी अरबको तर्फबाट प्राप्त अक्सिजन कन्सन्ट्रेटर १२ थान र काभ्रे सम्पर्क समिति, दक्षिण कोरियाको तर्फबाट प्राप्त २६/२६ थान अक्सिजन सिलिण्डर र पिपिई सेट पालिकामा रहेका स्वास्थ्य संस्थाहरुमा पठाउने निर्णय गरेको छ ।

    बैठकले पनौती नगरपालिकाको खोपासी स्वास्थ्य चौकी, पाँचखाल नगरपालिकाको पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्र र मण्डन देउपुर नगरपालिकाको आईसोलेसन सेन्टरमा एक/एक थान अक्सिजन कन्सन्ट्रेटर, २/२ थान सिलिण्डर र २/२ थान पिपिई सेट उपलब्ध गराउने निर्णय गरेको छ ।

    बैठकले काभ्रेका विकट क्षेत्र डाँडापारीको महाभारत गाउँपालिकाको घर्तिछाप स्वास्थ्य चौकी र कोशिपारीको चौरीदेउराली गाउँपालिकाको माझिफेदा र धुशेनीशिवालय अस्पतालका लागि २/२ थान अक्सिजन कन्सन्ट्रेटर, २/२ वटा सिलिण्डर र २/२ थान पिपिई सेट उपलब्ध गराउने निर्णय भएको छ ।

    खानीखोला गाउँपालिकाको ताल्ढुंगा स्वास्थ्य चौकी, बेथानचोक गाउँपालिकाको ढुंखर्क स्वास्थ्य चौकी, तेमाल गाउँपालिकाको पोखरी नारायणस्थान स्वास्थ्य चौकी, रोशी गाउँपालिकाको खहरे पांँगु स्वास्थ्य चौकी र भुम्लु गाउँपालिकाको भुम्लुटार प्राथमिक अस्पतालमा १/१ थान अक्सिजन कन्सन्ट्रेटर, २/२ वटा सिलिण्डर र २/२ थान पिपिई सेट उपलब्ध गराउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस