२०७८ जेष्ठ २९, शनिबार | Sat, 12, Jun, 2021

न्याय प्रणालीलाई सुदृढ बनाउन सरोकारवाला निकायहरुको भूमिका विषयक अन्तरक्रिया

  • २०७८ जेष्ठ २४, सोमबार मा प्रकाशित ४ दिन अघि
  • २५ पाठक संख्या
  • जिल्ला बाल न्याय समितिको आयोजनामा नेपालको न्याय प्रणालीलाई सुदृढ बनाउन सरोकारवाला निकायहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम जुमको माध्यमबाट सम्पन्न भएको छ ।

    कार्यक्रम जिल्ला अदालत काभ्रेपलाञ्चोकका जिल्ला न्यायाधीश तथा जिल्ला बाल न्याय समितिका अध्यक्ष सूर्यप्रसाद पराजुलीको अध्यक्षता तथा सर्वोच्च अदालतका न्यायाधीश तथा केन्द्रीय बाल न्याय समितिका अध्यक्ष प्रकाशनमान सिंह राउतको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।

    कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश तथा केन्द्रीय बाल न्याय समितिका अध्यक्ष प्रकाशनमान सिंह राउतले बालबालिकाहरुको एजेण्डा राज्यको प्राथमिकतामा हुनु पर्ने बताए । उनले अहिले समम बाल अदालत गठन हुनु आवश्यक रहेको बताउँदै ७७ वटै जिल्लामा बाल इजलास र बाल अदालत गठनका बारेमा अध्ययन भईरहेको जानकारी दिए ।

    कार्यक्रममा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौलाले ऐन, नियम जारी भए पनि कार्यान्वयनमा ढिलाई, प्रणालीमा सुधार हुँदै गएको बताए । २०७५ मा जारी ऐनले बालबालिकाहरुका सन्दर्भमा अझै धेरै विषय समेटिएको बताउँदै उहाँले बाल न्याय प्रणालीका सरोकारवालाहरुको भूमिकाका बारेमा अझै शशक्त हुनु पर्ने बताए ।

    केन्द्रीय बाल न्याय समितिका सदस्य सचिव तथा सर्वोच्च अदालतका रजिस्ट्रार निर्मला पौडेलले राजनीतिक, आर्थिक, सामाजिक अधिकार जस्तै बालबालिकाहरुको हक अधिकारको लागि राज्यले विशेष ब्यवस्था गर्नु पर्ने बताईन ।

    जिल्ला अदालत काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला न्यायाधीश तथा जिल्ला बाल न्याय समितिका अध्यक्ष सूर्यप्रसाद पराजुलीले बालबालिकाका लागि जारी भएको ऐनले बालबालिकाहरुको अधिकारका लागि धेरै कुरा समेटिएकाले त्यसको कार्यान्वयनका लागि सरोकारवाला सबैको भूमिका प्रभावकारी बनाउनु पर्नेमा जोड दिए । ।

    कार्यक्रममा जिल्ला न्यायाधीशद्धय भिस्मराज प्रसाई र महेन्द्रराज काफ्ले, धुलिखेल नगरपालिका उपप्रमुख विमलाकुमारी शर्मा चौलागाई, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, जिल्ला न्यायाधीवक्ता चन्द्रकुमार पोखरेल, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक भुपेन्द्रबहादुर खत्री, नेपाल बार एशोसिएसन काभ्रेका अध्यक्ष देवकुमार मोक्तान लगायतले बालबालिकाकाको न्यायका बारेमा मन्तब्य राखेका थिए ।

    कार्यक्रममा बाल न्याय सम्वन्धी अनुसन्धान तथा अभियोजनका प्रमुख समस्या र समाधानका उपायहरुका बारेमा जिल्ला न्यायाधिवक्ता चन्द्रकुमार पोखरेल, बाल न्याय सम्पादनमा समाजसेवी र बालमनोविज्ञानहरुको भूमिकाः प्रमुख समस्या र समाधानका उपायहरुका बारेमा अधिवक्ता राघव जंगम, बाल इजलास सञ्चालनः प्रमुख समस्या र समाधानका उपायहरुका बारेमा जिल्ला न्यायाधीश भिस्मराज प्रसाईले कार्यपत्र प्रस्तुत गर्नु भएको जिल्ला अदालतका श्रेस्तेदार गोविन्दप्रसाद घिमिरेले जानकारी दिए । श्रेस्तेदार घिमिरेले जिल्लाको न्याय प्रणालीलाई सृदृढ बनाउन सहभागिहरुबाट प्राप्त सुझावलाई कार्यान्वन गरिने जानकारी दिए ।

    तस्वीर सौजन्य मोतिराम तिमल्सिना

    प्रतिक्रिया दिनुहोस