२०७८ जेष्ठ २९, शनिबार | Sat, 12, Jun, 2021

नागरिकतासम्बन्धी अध्यादेशमा के छ ?

  • २०७८ जेष्ठ ९, आईतबार मा प्रकाशित २ हप्ता अघि
  • ६५ पाठक संख्या
  • मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसर्पा) को महन्थ ठाकुर–राजेन्द्र महतो पक्षलाई आफ्नो साथमा लिने प्रयास गरिरहेका बेला आएको नागरिकतासम्बन्धी अध्यादेशलाई धेरैले चासोका साथ हेरेका छन् ।

    मधेसका मुद्दा सम्बोधन गरेको देखाउने र जसपाको एउटा समूहलाई सरकारमा जान राजनीतिक आधार प्रदान गर्ने उद्देश्यले यो अध्यादेश ल्याइएको धेरैको बुझाई छ ।
    संसदीय समितिमा छलफलका क्रममा साबिकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जुन-जुन बिषयमा अडान लिएका थिए, बहुमतको बलमा विधेयक संशोधन गरेका थिए, अहिले नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यही अडान छाडेर अध्यादेश ल्याएका छन् । आखिर के हो विवाद, के छ नयाँ अध्यादेशमा ?

    के छ नागरिकतासम्बन्धी अध्यादेशमा ?

    कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठका अनुसार संविधान( २०७२ र सर्वोच्च अदालतको आदेशअनुसार नै सरकारले नागरिकतासम्बन्धी अध्यादेश ल्याएको हो । र, यसले नागरिकतासम्बन्धी दुईटा गाँठो फुकाएको छ ।

    पहिलो, ३ असोज २०७२ भन्दा अगाडि जन्मसिद्ध नागरिकता लिएकाहरुको नाबालिग सन्तानलाई वंशजको आधारमा नागरिकता दिने ।

    दोस्रो, नेपाली नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा बसोबास गरेको र बाबुको पहिचान हुन नसकेका व्यक्तिलाई वंशजका आधारमा नागरिकता दिने । तर यसरी नागरिकता प्राप्त गरेको व्यक्तिको बाबु विदेशी ठहर भए वंशजको नागरिकता कायम रहने छैन । बाबुको बसोबास भएको देशको नागरिकता लिएको छैन भने घोषणा गरे उनको नागरिकतालाई अंगीकृतमा परिणत गरिनेछ ।

    प्रतिक्रिया दिनुहोस