२०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024

अक्सिजनको माग बढ्यो,अक्सिजन लिन उद्योग धाउँदै अस्पतालहरु

  • २०७८ बैशाख २८, मंगलबार मा प्रकाशित २ साल अघि
  • ८२९ पाठक संख्या
  • अस्पतालमा कोरोना सङ्क्रमित बिरामीहरुको चाप बढ्दै गएपछि अस्पतालहरुलाई अक्सिजन धान्न मुश्किल परेको छ । अस्पतालमा उपचारका लागि आउने कोरोना सङ्क्रमित बिरामीहरुको लागि अक्सिजनको आवश्यकता बढेपछि काठमाडौँ उपत्यकामा रहेका अस्पतालहरु काभ्रेमा रहेको अक्सिजन उद्योगमा अक्सिजन लिनको लागि धाउने क्रम बढेको छ ।

    अक्सिजनको सिलिण्डर बोकेर काठमाडौँ उपत्यकामा रहेका अस्पतालहरु काभ्रेको पनौती नगरपालिका–५ ढलमलेमा रहेको नवज्योती ग्यासेस प्रालिमा अक्सिजन लिन आउनेको घुँईचो लागेको छ ।
    ‘जिल्लामा रहेको अक्सिजन उद्योगमा दैनिक रुपमा सयौँ सिलिण्डर अक्सिजन उपलब्ध गराइ दिनुप¥यो भन्दै आउने अस्पतालहरुको सङ्ख्या थुप्रै रहेको छ’ काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताउनुभयो ।

    उहाँले उद्योगको क्षमताभन्दा धेरै अक्सिजनको माग आइरहेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी पोखरेलले उद्योगमा काठमाडौँको बिर अस्पताल, शिक्षण अस्पताल, नेपाली सेनाको अस्पताल, शसस्त्र प्रहरी अस्पताल, अल्का अस्पताल, नागरिक अस्पताललगायतका थुप्रै अस्पतालबाट अक्सिजन उपलब्ध गराइदिन फोनहरु आउने गरेको बताउनुभयो ।

    उहाँले जिल्लामा रहेको धुलिखेल अस्पाल, शिरममोरियल अस्पताललगायतका अस्पतालमा समेत सोही उद्योगबाट अक्सिजन उपलब्ध गराउँदै आएकोले जिल्ला र काठमाडौँबाट आएको माग धान्न मुश्किल हुने बताउनुभयो ।

    जिल्लामा रहेको धुलिखेल अस्पताल र शिरमेमोरिय अस्पताल, मेथिनकोट अस्पताललाई कोभिड अस्पतालको रुपमा विकास गर्दै कोरोना सङ्क्रमित बिरामीहरुको उपचारमा केन्द्रीत रहेकोले यी अस्पतालमा बिरामीको चाप बढेसँगै अक्सिजनको माग समेत बढेको प्रजिअ पोखरेलले बताउनुभयो ।

    उहाँले धुलिखेल अस्पतालले कोरोना बिरामीको लागि एक सय पच्चिस शैय्या छुट्याएको बताउँदै कोभिडका बिरामी बढेसँगै उक्त अस्पतालमा अक्सिजनको माग समेत बढेको बताउनुभयो । उहाँले काठमाडौँमा अक्सिजनको अभाव देखिएपछि अस्पतालहरु अक्सिजनको लागि काभ्रे आएको बताउनुभयो ।

    धुलिखेल अस्पतालका प्रशासकिय निर्देशक डा. रमेश माकजुले अस्पतालमा बिरामीको चाप बढेसँगै अक्सिजनको माग समेत बढेको बताउनुभयो । उहाँले अस्पतालमा कोभिडका बिरामीको उपचारका लागि एक सय पच्चिस शैय्या तयार गरिएपनि अक्सिजनका अभावका कारण सबै शैय्यामा बिरामी राख्न नसकिने बताउनुभयो । उहाँले अस्पतालको सानो अक्सिजन प्लान्टले नधान्ने भएकोले अस्पतालमा दैनिक करिब चार सय सिलिण्डर अक्सिजन आवश्यकता रहेको बताउनुभयो ।

    उहाँले नवज्योती ग्यासेस प्रालिबाट दैनिक रुपमा दुई सय सिलिण्डर मात्रै अक्सिजन उपलब्ध भएको बताउनुभयो ।‘हामीसँग बेड र जनशक्ति तयारी अवस्थामा छ, तर अक्सिजन नभएका कारण सबै बेडमा बिरामी राख्न असमर्थ छौँ, हाम्रो माग अनुसार अक्सिजन भएको खण्डमा एक सय पच्चिस बेडमा नै राखेर बिरामीको उपचार गर्न सक्छौँ’ प्रशासकिय निर्देशक डा. माकजुले थप्नुभयो । उहाँले अस्पतालमा करिब नब्बे जना कोभिडका बिरामी रहेको जानकारी दिनुभयो ।

    उहाँले अस्पतालको लागि आवश्यक अक्सिजन उपलब्ध गराउन केन्द्रीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई अनुरोध गरेको बताउनुभयो । ‘हामी दिनरात अक्सिजन ब्यवस्थापनको लागि नै लागेका छौँ, माकजुले थप्नुभयो ।

    केन्द्रीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले काभ्रेमा रहेको नवज्योती अक्सिजन उद्योगले बिर अस्पताललाई तीन सय, यति अस्पताललाई बीस, नर्भिक इन्टरनेशनल अस्पताललाई एक सय, शिक्षण अस्पताल महाराजगञ्जलाई एक सय पचास, मदरल्याण्ड अस्पताललाई पच्चीस र महेन्द्र नारायण अस्पताललाई दैनिक ६५ सिलिण्डर अक्सिजन उपलब्ध गराउनुपर्ने निर्देशन दिएको छ । केन्द्रले तोकेका छ अस्पतालमा दैनिक छ सय साठी ठुलो सिलिण्डर अक्सिजन उपलब्ध गराउनुपर्नेछ ।

    काभ्रेमा रहेको अक्सिजन उद्योगले दैनिक रुपमा सानो ठुलो एक हजार सिलिण्डर अक्सिजन उत्पादन गर्दै आएको उद्योगका व्यवस्थापन प्रकाश थापाले जानकारी दिनुभयो । उहाँले धुलिखेलमा दुई सय र शिर मेमोरियल अस्पतालमा दैनिक बीस सिलिण्डर अक्सिजन पठाइँदै आएको बताउनुभयो ।

    उद्योगमा रहेका दुई प्राविधिकमध्ये एक जना बिरामी भएपछि नेपाली सेनाको स्वयम्भूमा रहेको बारुदखानाबाट चार जना प्राविधिक झिकाएर चौबीसै घण्टा अक्सिजन उत्पादन गर्ने काम भईरहेको छ ।

    केदार तिमल्सिनाले लेख्नुभएको समाचार गोरखापत्र अनलाइनबाट साभार

    प्रतिक्रिया दिनुहोस