२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

पाँचखालमा १५ शैयाको आइसोलेसन, नमोबुद्धमा २५ शैयाको बनाउने तयारी

  • २०७८ बैशाख १७, शुक्रबार मा प्रकाशित २ साल अघि
  • १०७७ पाठक संख्या
  • काभ्रेमा दोश्रो लहरको कोरोना संक्रमण देखिन थालेको दुई साता वितेको छ । दैनिक ५० जना भन्दा बढिमा कोरोना संक्रमण पुष्टि भएपनि धेरै जसो स्थानीय तहले आइसोलेसन सञ्चालनमा चासो दिएका छैनन् ।

    पहिलो चरणको संक्रमणमा पनि पहिला आईसोलेसन बनाएर नमुना बनेकोे पाँचखाल नगरपालिकाले भने यो पटक पनि जिल्लाका स्थानीय तहहरु मध्ये पहिलो बन्दै १५ शैयााको आइसोलेसन सञ्चालनमा ल्याएको छ । पाँचखाल नगरपालिकाले स्वास्थ्य उपकरण, चिकित्सक तथा आवश्यक दक्ष स्वास्थ्यकर्मी सहित १५ शैयाको आइसोलेन सञ्चालनमा ल्याएको पाँचखाल नगरपालिकाका नगरप्रमुख महेश खरेलले जानकारी दिए ।

    यस अघि नगरप्रमुख खरेलले कोरोना भाइरसबाट जोगिन नगरबासीलाई १२ बुँदे अपील गरेका थिए । नगरपालिकाभित्रका मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका धार्मिक स्थलमा जनस्वास्थ्यमा मापदण्ड पालना गर्ने गरी बैशाख मसान्तसम्म नित्य पूजा, ध्यान र प्रार्थना मात्रै गर्ने भनिएको छ । नगरपालिकाले एक पटकमा पच्चीस जना भन्दा बढी हुने कुनै पनि सभा, सम्मेलन, गोष्ठी, सेमिना, समीक्षा, बैठक, तालिम, प्रशिक्षण जस्ता कार्यक्रम नगर्न भनिएको छ । त्यस्तै सपिङ मल, डिपार्टमेन्ट स्टोर जस्ता भिडभाड हुने ठाउँमा दुई मिटरको दुरी कायम गर्ने, मास्क अनिवार्य गर्ने र पटक पटक हात धुन अपील गरिएको छ ।

    विवाह, ब्रतबन्धका लागि पार्टी प्यालेस प्रयोग गर्नु परेमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी प्रमुख जिल्ला अधिकारीको पूर्व स्वीकृति लिन आग्रह गरिएको छ । नगरपालिकाले भिड भएको गाडी नचढ्न पनि भनेको छ । नियमित रुपमा सञ्चालन हुनुपर्ने स्वास्थ्य सेवाहरु जनस्वास्थ्यका मापदण्ड पालना गरेर नियमित सञ्चालन गर्न पनि भनिएको छ ।

    त्यस्तै महामारीका रुपमा फैलिएको कोभिड १९ को संक्रमणको अवस्थालाई मध्यनजर गर्दै नमोबुद्ध नगरपालिकामा २५ शैयाको आइसोलेसन वार्ड स्थापना हुने भएको छ । नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिनाले नमोबुद्ध नगरपालिका ४ मा रहेको जनक बहुमुखी क्याम्पसमा केहि दिन भित्र २५ शैयाको आईसोलेसन सञ्चालनको तयारी रहेको बताए । विहीबार प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलसहित जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र , नगर प्रमुख टिपी शर्मा तिमल्सिना, मेथिनकोट अस्पतालको व्यवस्थापन तथा स्वास्थ्यकर्मी, जनक बहुमुखी क्याम्पस व्यवस्थापन समिति एवं क्याम्पस प्रमुख सहितको टोलीले आइसोलेसन स्थापना गर्ने स्थानको अबलोकन गर्दै आवश्यक तयारी सुरु गर्ने निर्णय गरेको थियो ।

    जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका संयोजक प्रमुख जिल्ला अधिकारी शिवकुमार पोखरेलले केन्द्रको निर्देशनबमोजिम जिल्लाका सबै स्थानीय तहमा आइसोलेसन सेन्टर सञ्चालन ल्याउन निर्देशन दिएको बताए । आईतबार भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकमा प्रमुख जिल्ला अधिकारी पोखरेलले जिल्लामा रहेका धुलिखेल अस्पताल र शिर मेमोरियल अस्पताललाई आईसोलेसन बनाउन लगाईकन सेवा शुरु गरिसकेको जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस