२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

हरिमाइ फाउण्डेशनको अगुवाईमा बेथानचोक नारायणस्थानमा सरसफाइ

  • २०७८ बैशाख ५, आईतबार मा प्रकाशित २ साल अघि
  • १८३० पाठक संख्या
  • बेथानचोक गाउँपालिका वडा न ३ मा रहेको पर्यटकीय क्षेत्र बेथानचोक नारायणस्थल मन्दिर वरपर सरसफाइ गरिएको छ । मन्दिर वरपर फोहोरले दुर्गन्धित भएपछि हरिमाइ फाउण्डेशन र भिजन एडभेन्चर नेपाल लगायतले शनिवार सरसफाइ गरेका छन ।

    हरिमाइ फाउण्डेशन अध्यक्ष प्रकाश तिमल्सिनाको नेतृत्वमा गएको टोलीले सरसफाइ गरेको थियो । सरसफाइ अभियानमा नेपाल प्रहरीको केन्द्रीय कार्यालयमा कार्यरत प्रहरी नायव उपरीक्षक अर्जुन तिमल्सिना, नेपाल टेलिकम मोवाइल सर्भिस निर्देशनालयका व्यापार अधिकृत मोहनकुमार सत्याल, पर्यटन व्यवसायी राजेन्द्र तिमल्सिना, प्रदिप सापकोटा, राम जम्मकटेल र नारायण भण्डारी लगायत ५० जनाको सहभागिता रहेको थियो ।

     

    सफाइ अभियानमा पेय पदार्थका बोतलहरु र अन्य प्लाष्टिक जन्य सामानहरु करीब एक सय १० किलोग्राम जम्मा गरि व्यवस्थापन गरिएको फाउण्डेसनका अध्यक्ष तिमल्सिनाले जानकारी दिए ।

    त्यस्तै भिजन एडभेन्चर नेपालका सरसफाइ अभियानमा ३५ जनाको सहभागिता रहेको थियो ।

    बेथानचोक गाउँपालिका वडा नं ३ मा रहेको नारायणस्थान डाँडा जिल्ला कै सबैभन्दा अग्लो भूगोल रहेको छ । त्यहाँबाट देखिने दृश्य र सूर्योदयको दृश्यावलोकन गर्नेको भिड बढेसँगै फोहोर बढ्न थालेको छ ।

    समुन्द्री सतहबाट तीन हजार १८ मिटरको अग्लो स्थानमा रहेको सो ठाउँबाट बिहानीको सूर्योदय हेर्न सकिन्छ । त्यसकारण पनि पर्यटकहरु बिहानीको सूर्योदय हेर्न र ऐतिहासिक नारायणको दर्शन का लागि बेलुका नै उक्त स्थानमा पुग्ने गरेका छन । तर उनीहरुले खानका लागि लगेको पेर्य पदार्थका बोतल, पानीका बोतल, लगायत प्लाष्टिकजन्य वस्तु जथाभावी फाल्दा उक्त क्षेत्र दुर्गन्धित हुँदै गएपछि स्थानीय तथा विभिन्न संघसंस्थाले सरसफाइ अभियान सञ्चालन गरिरहेका छन ।

    पर्यटकीय क्षेत्रको संरक्षण अभियान्ता एव्म बेथानचोक क्षेत्र सरोकार समाजका प्रमुख सल्लाहकार मन्छिन्द्रकुमार लामाले फोहोर जसले लगेको त्यसले नै व्यवस्थापन गर्ने गरी गाउँपालिकाले काम अगाडि बढाउनुपर्ने सुझाव दिए । ‘बेथानचोक नारायणस्थानमा दैनिक पर्यटक बढ्दो क्रममा छ । पर्यटक बढेसँगै फोहोर पनि बढ्छ । यसका लागि गाउँपालिकाले मुख्य प्रवेशद्धार गेल्ढुङ बजार मै पर्यटकलाई इन्ट्री गराएर आफूले लगेको फोहोर आफैँ व्यवस्थापन गर्न अनुरोध गर्न सकियो भने पर्यटक पनि बढ्छन र फोहोरको पनि व्यवस्थापन हुने छ, लामा भने ।

    पछिल्लो समय बेथानचोक नारायण घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटक दैनिक बढ्दै गएका छन । बिदा, पर्व लगायतमा एक हजार भन्दा बढी पर्यटकहरु नारायणथान पुग्ने गर्दछन ।

    प्रतिक्रिया दिनुहोस