नमोबुद्ध नगरपालिका ४ मा रहेको मेथिनकोट प्रादेशिक अस्पताललाई अत्यावश्यक मेडिकल सामग्रीहरु हस्तान्तरण गरिएको छ ।
बिहीबार अस्पतालमा आयोजित एक कार्यक्रमका बीच कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग कोइका र कोइका अलुम्नाई एसोसिएसन (कान) ले अस्पताललाई मेडिकल सामग्री हस्तान्तरण गरेका हुन् ।
अस्पताललाई दिइएको सामग्रीमा पेसेन्ट मोनिटर २ थान, अक्सिजन कन्सनट्रेटर २ थान, कार्डियोग्राफी सिटिजी मेसिन १ थान, बिआइपी–एपी मेसिन एक थान, पल्स अक्सिमिटर पाँच थान, डिजिटल बिपी मेसिन ६ थान, इमर्जेन्सी बेड ३ थान, अक्सिजन रेगुलेटर ५ थान, इमर्जेन्सी मेडिकल कार्ट १ थान र इमर्जेन्सी बेड म्याट्रेस ३ थान गरी अस्पताललाई १९ लाख रुपैयाँ बराबरको मेडिकल सामग्री हस्तान्तरण गरिएको छ ।
नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क चोङ–सुक, बागमति प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव दिपक काफ्ले, नामोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिना लगायतको उपस्थितिमा मेडिकल सामग्री हस्तान्तरण गरिएको थियो । कार्यक्रममा कोइकाका कन्ट्री डाइरेक्टर सङ हुन–को र कोइका अलुम्नाई एसोसिएसन कानका अध्यक्ष विनोद बिडारीले नमोबुद्ध ४ का वडा अध्यक्ष एवं मेथिनकोट अस्पतालका अध्यक्ष उद्धवप्रसाद काफ्लेलाई मेडिकल सामग्री हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क चोङ–सुक, नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिना, सामाजिक विकास मन्त्रालयका सचिव दीपक काफ्ले, कोइका अलुम्नाई एसोसिएसन कानका अध्यक्ष विनोद बिडारी, महासचिव दीपक गौतम, अस्पतालका अध्यक्ष एवं वडाअध्यक्ष उद्धवप्रसाद काफ्ले लगायतले अस्पताल बारे मन्तब्य राखेका थिए ।
कार्यक्रममा नमोबुद्ध नगरपालिकाका उपप्रमुख रामदेवी तामाङ, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, कोइकाका उच्च अधिकारीहरु तथा कोइका अलुम्नाई एसोसिएसनका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस