२०७८ बैशाख ३, शुक्रबार | Fri, 16, Apr, 2021

तीन वर्षमै थपियो ६ खर्ब ऋण, प्रत्येक नेपालीको भागमा ५१ हजार १ सय

  • २०७७ चैत्र ६, शुक्रबार मा प्रकाशित ४ हप्ता अघि
  • ८१ पाठक संख्या
  • सरकारले प्रत्येक वर्ष ल्याउने गरेको घाटा बजेटले राष्ट्रको ऋणभार बढ्दै गएको छ । केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएयताका तीन वर्षमामात्रै ६ खर्ब १८ अर्ब २६ करोड रूपैयाँ ऋण थपिएको नयाँ तथ्यांकले देखाएको छ ।

    सार्वजनिक ऋण ब्यवस्थापनको कार्यालयका अनुसार आर्थिक वर्ष २०७४र७५ को अन्त्यसम्म नेपालको कुल ऋण ९ खर्ब १७ अर्ब ३० करोड रूपैयाँ थियो । त्यसमध्ये ५ खर्ब २६ अर्ब २० करोड रूपैयाँ वैदेशिक ऋण थियो भने आन्तरिक ऋणको हिस्सा ३ खर्ब ९१ अर्ब २० करोड रूपैयाँ थियो । अहिले कुल ऋण १५ खर्ब ३५ करोड ५६ रूपैयाँ पुगेको छ ।

    आर्थिक वर्ष २०७५र७६ देखि चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ६७।३९ प्रतिशत अर्थात ६ खर्ब १८ अर्ब २६ करोड रूपैयाँले थप भएको छ । आर्थिक वर्ष २०७४र७५ को तुलनामा आन्तरिक ऋण २ खर्ब ७३ अर्ब ५३ करोड अर्थात ६९।९२ प्रतिशतले बढेर ६ खर्ब ६४ अर्ब ७३ करोड रूपैयाँ पुगेको छ । त्यस्तै वैदेशिक ऋण ३ खर्ब ४४ अर्ब ८२ करोड अर्थात् ६५।९४ प्रतिशतले बढेर ८ खर्ब ७० अर्ब ८२ करोड रूपैयाँ पुगेको छ । राष्ट्रको ऋणभारलाई देशको जनसंख्याको अनुपातमा हिसाब गर्दा प्रत्येक नेपालीको भागमा करिब ५१ हजार १ सय रूपैयाँभन्दा बढी ऋण थोपरिएको छ ।

    चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा मात्रै वैदेशिक ऋण ६४ अर्ब ६८ करोड रूपैयाँ र आन्तरिक ऋण ५१ अर्ब रूपैयाँ गरी १ खर्ब १५ अर्ब ६८ करोड रूपैयाँ ऋण परिचालन भएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत २ खर्ब २५ अर्ब आन्तरिक ऋण र २ खर्ब ९९ अर्ब ५० करोड रूपैयाँ बाह्य ऋण गरी ५ खर्ब २४ अर्ब ५० करोड रूपैयाँ ऋण उठाउने लक्ष्य लिएको थियो ।

    यो सरकार गठन हुँदा कुल गार्हस्थ्य उत्पादनमा ऋणको अंश ३० प्रतिशत रहेकोमा अहिले त्यस्तो अनुपात बढेर ३५।७१ प्रतिशत पुगेको छ । केन्द्रीय तथ्यांक विभागको पछिल्लो प्रतिवेदनअनुसार नेपालको कुल गार्हस्थ्य उत्पादन ३९ खर्ब ४३ अर्ब ६६ करोड रूपैयाँ पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस