२०७८ बैशाख ३, शुक्रबार | Fri, 16, Apr, 2021

चौंरीदेउराली अध्यक्ष कपको उपाधि वडा नं. २ नाग्रेगगर्चेलाई

  • २०७७ चैत्र २, सोमबार मा प्रकाशित १ महिना अघि
  • ११२ पाठक संख्या
  • चौंरीदेउराली गाउँपालिकाले आयोजना गरेको अध्यक्ष गोल्ड कप फुटबल प्रतियोगिता–२०७७ को उपाधि वडा नं. २, नाग्रेगगर्चेले हातपार्न सफल भएको छ ।

    वडा नं. ३ माझिफेदाको काफ्ले खेलमैदानमा भएको प्रतियोतिामा वडा नं. ७, मादनलाई २–० गोलले पराजित गरेपछि उपाधि हातपार्न सफल भएको हो । पहिलो, दोस्रो र तेस्रो समूहले क्रमशः नगद १ लाखसहित ट्रफि, सिल्ड, मेडल र प्रमाणपत्र, नगद ५० हजारसहित ट्रफि, सिल्ड, मेडल र प्रमाणपत्र र नगद २५ हजार सहित ट्रफि, सिल्ड, मेडल र प्रमाणपत्र पाएका छन् ।

    प्रतियोगितामा उत्कृष्ट किपर विजय थापा, उत्कृष्ट मिड फिल्डर यज्ञ प्रधान, उत्कृष्ट डिफेन्स बिमल परयार, उत्कृष्ट स्ट्राइकर आशिस लामा, उत्कृष्ट कोच ब्रजेस लामा, हाइ इस्कोर देवराज तामाङ, उत्कृष्ट खेलाडी निशान लामा घोषित भएको थिए ।

    त्यसैगरि वडा नं. ७, मादनकुँडारी उपविजेता बनेको छ । त्यस्तै वडा नं. ६ कात्तिके देउराली तेस्रो भएको छ । आइतबार सम्पन्न प्रतियोगिताको फाइनलमा वडा नं. २ र ७ बीच खेल भएको थियो । प्रतियोगितामा पालिकाका ९ वटै वडाका खेलाडी टिम प्रतिस्पर्धामा उत्रेका थिए ।

    प्रतियोगिताको समापन कायक्रममा वागमती प्रदेश सभा सदस्य सांसद रत्न ढकालले खेल समृद्धिको महत्वपूर्ण पाटो बताउँदै खेल युवा विकास, अनुशासन र गतिशिलतासँग जोडिएको बताए । गाउँपालिका अध्यक्ष दिननाथ गौतमले खेलमा हारजीत स्वभाविक भएको बताउँदै विजेता खेलाडीहरुलाई नमात्तिकन अझै अघि बढ्नुपर्ने र हार बेहोरेका खेलाडीहरुलाई थप मजवुत भई अघि बढ्नुपर्नेमा जोड दिए ।

    समापन कार्यक्रममा उपाध्यक्ष ताराकुमारी गौतम, वडा अध्यक्षहरु राजु आले तामाङ, दिनेश लामा, सुरेशकुमार लामा, राजकुमार गौतम, रेशम लामा, राम लामा, विरबल लामा, विभिन्न शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

    कार्यक्रम वडा नं. ३ का वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता विनोद घिसिङको संयोजकत्वमा भएको थियो ।

    प्रतिक्रिया दिनुहोस