२०७८ श्रावण १५, शुक्रबार | Fri, 30, Jul, 2021

एकिकरणको सम्झनामा ‘पदयात्रा’

  • २०७७ फागुन २९, शनिबार मा प्रकाशित ४ महिना अघि
  • ४६२ पाठक संख्या
  • पृथ्वीनारायण शाहको पालामा एकिकरण हुँदा प्रयोग भएको रुटमा नेपाली सेनाको आयोजनामा ‘पदयात्रा’ गरिएको छ ।

    ऐतिहासिक गढी, किल्ला, एकिकरण मार्ग र कोटहरुको पहिचान, संरक्षण, सम्बर्द्धन र सैनिक इतिहासलाई प्रर्वद्धन गर्ने उदेश्यले पदमार्गको पहिचान र पदयात्रा आयोजना गरिएको कालिजंग गणका गणपति प्रमुख सेनानी गणपति मिलन थापाले जानकारी दिए । थापाका अनुसार पृथ्वीनारायण शाहले काभ्रेका विभिन्न इलाका कब्जा गर्न प्रयोग भएका ६ वटा रुटहरुमध्ये पाँचौ नम्बरुको रुट धुलिखेल, देविस्थान काभ्रेकोट, चौकोट, शारदाकोट, गोरखनाथ, पनौती इन्द्रेश्वर मन्दिर हुँदै पनौती गेटसम्मको १० किलोमिटर पदयात्रा गरिएको हो ।

    पृथ्वीनारायण शाहले १८०३ मा नगरकोट कब्जा गरी १८१६ मा पलाञ्चोक कब्जा गर्न प्रयोग गरिएको रुट, १८१८ असार ३० गते चौकोट विजयीको बेला प्रयोग गरिएको भमरकोट काभ्रेकोट सडक, १८१९ असोज २ गते तेमाल कब्जाको समयमा प्रयोग गरिएको सडक, १८२० कार्तिक १० गते पुनः चौकोट विजय र सोहि दिन कोटखेल हुँदै धुलिखेल विजय हुँदा प्रयोग गरिएको रुट, १८२० कार्तिक ११ गते पनौती कब्जा गर्दा प्रयोग गरिएको सडक, १८२० कार्तिक १४ गते बनेपा साँगा नाला कब्जा गर्दा प्रयोग गरिएका सडकलाई ६ वटा पदमार्ग तय गरिएको थियो । बाजागाजा सहित धुलिखेल नगरपालिकामा रहेको नेपाली सेनाको कालीजंग गण धुलिखेलबाट प्रधान सेनापति पूर्णचन्द्र थापाले रिबन काटेर शुरु गर्नुभयो । पदयात्रामा सयौको संख्यामा सरकारी तथा गैह्र सरकारी निकायका व्यक्तिहरु समेतको सहभागीता रहेको थियो । धुलिखेलबाट शुरु भएको पदयात्रा पनौति नगरपालिकामा पगेर समापन भएको थियो ।

    पदयात्रामा स्थानिय विभिन्न झाँकी, बाजागाजा सहित स्थान परिचय, हुँदै कोटको देबीस्थान मन्दीर परिसरमा पुगी धुलिखेल नगरपालिका र नेपाली सेनाको सयुक्त निर्माण भएको पृथ्वीनारायण शाहको पूर्णकदको शालिक प्रधानसेनापति पूर्णचन्द्र थापा र धुलिखेल नगरपालिकाका मेयर अशोक व्याञ्जुले संयुक्त रुपमा अनावरण गरेका थिए ।

    ‘यात्रा स्वभिमानको, इतिहास एकिकरणको’ भन्ने अभियान बोकेर नेपाली सेना कालीजंग गण धुलिखेलले पदयात्राको नृतृत्व गरेको थियो । यो कार्यक्रम एकबर्ष अघि फागुन २४ गते पर्यटन बर्षलाई लक्षित गरि तय गरिएको भएपनि कोरोना संक्रमणका कारण स्थगित भएको थियो । नेपाली सेनाको तत्कालिन विष्णु दल गणका गणपति सुवास खड्काको नृतृत्वमा काभ्रेपलाञ्चोक जिल्लामा विक्रम सम्वत १८०३ देखि १८२० सम्म पृथ्वीनारायण शाहले काभ्रेपलाञ्चोक जिल्ला र काठमाडौ उपत्यकामा विजय हासिल गर्न प्रयोग गरेका पदमार्गहरुलाई नेपाली सेनाले एकिकरण पदमार्गका रुपमा पहिचान, संरक्षण, सम्बर्द्धन र सैनिक इतिहासलाई प्रर्वद्धन गर्ने गरी ६ वटा पदमार्ग पहिचान गरेको थियो । तत्कालिन विष्णु दल गणका गणपति खड्काले नेपाली सेनाले देशभर पदमार्गहरुको पहिचान गरिरहेको सन्दर्भमा काभ्रेपलाञ्चोक जिल्लाको ऐतिहासिक ६ वटा किल्ला कब्जाको क्रममा प्रयोग गरिएका सडकहरुलाई पदमार्गको रुपमा पहिचान गरी त्यसको संरक्षण तथा प्रर्वद्धनका लागि स्थानीय सरकारसँग समन्वय गरिरहेको बताए ।

    पद यात्रामा जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसी, जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्री, काठमाडौ विश्व विद्यालयका उपकुलपति प्रा।डा।भोला थापा, श्री नं २६ बाहिनी अड्डाका बाहिनीपति, स्टाफ अधिकृत, वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र तथा अन्तर्गतका कमाण्डेण्ट, गणपति, जिल्ला स्थिति सरकारी कार्यालयका प्रमुखहरु, जिल्लाका केन्द्रीय तथा स्थानीय जनप्रतिनिधिहरु, पत्रकार, जिल्लामा रहेका विभिन्न महासंघ, संघसस्था तथा संगठनका अध्यक्षहरु, विभिन्न जिल्लाका नेपाली सेनाका अधिकृतहरु, मठमन्दीर, गुम्बा र क्षेत्र विकास समिति, राजनैतिक दल, सुरक्षा निकायका प्रतिनिधिहरु, होटल तथा पर्यटन ब्यवसायी, उद्योग बाणिज्य संघ लगायतका संघ संस्थाका प्रतिनिधिहरु पदयात्रामा सहभागीता जनाएका थिए ।

    प्रतिक्रिया दिनुहोस