२०७८ बैशाख ३, शुक्रबार | Fri, 16, Apr, 2021

पाँचखालको न्यायपालिकामा जिल्ला अदालतको निरीक्षण

  • २०७७ फागुन १२, बुधबार मा प्रकाशित १ महिना अघि
  • ३५७ पाठक संख्या
  • स्थानीय तहमा न्यायपालिका सञ्चालन भइरहेको विषयमा जिल्ला अदालत काभ्रेले अनुगमन तथा निरीक्षण गरेको छ ।

    जिल्ला न्यायाधिश सुर्य पराजुलीको नेतृत्वमा पाँचखाल नगरपालिकामा सञ्चालन भएको न्यायपालिकाको अनुगमन तथा निरीक्षण भएको हो । कसरी न्याय निरुपण भईरहेको छ, न्याय निरुपणमा आईपरेका समस्या, समाधानमा आईपरेका कठिनाई लगायत बिभिन्न पक्षमा अन्तर्क्रिया गरिएको थियो ।

    जिल्ला न्यायाधिशको टोलीले स्थानीय तहहरुमा कसरी न्यायपालिका चलिरहेको छ, फैसला कसरी भैरहेको छ, कस्ता केशहरु बढि स्थानीय तहमा आउने गरेका छन्, कस्ता केशलाई कसरी निरुपण गरिएको छ भन्ने विषयमा कुराकानी भएको पाँचखाल नगरपालिकाका उपप्रमुख एवं न्यायपालिकाका प्रमुख लक्ष्मी दनुवारले जानकारी दिइन् । उनका अनुसार नगरपालिकामा परेका उजुरी, त्यसको प्रकृया, फैशला कसरी गरिएका छ भन्ने विषयमा जिल्ला अदालतको टोली सँग छलफल भएको थियो ।

    अनुगमनको क्रममा जिल्ला न्यायाधिशको टोलीले नगरपालिकामा स्थापना भएको इजलासको समेत निरीक्षण गरेका छन् । जिल्ला न्यायाधिश सुर्य पराजुलीले नगरपालिकाको राम्रो कामलाई राम्रो तथा सुधार्नुपर्ने कुरालाई सुधार्नुपर्ने भनेर लिखित सुझाव दिने बताए । ‘पाँचखाल नगरपालिकामा राम्रा काम भएको रहेछ, राम्रो भएको कुरालाई पनि लिखित रुपमानै दिनेछौं ।’–जिल्ला न्यायाधिश पराजुलीले भने ।

    निरिक्षणको क्रममा नगरपालिकाको तर्फबाट उपप्रमुख दनुवार, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद हुमेगाईले सहजीकरण गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस