२०८० आश्विन १५, सोमबार | Mon, 02, Oct, 2023

नमोबुद्ध नगरको आठौं नगरसभा सम्पन्न

  • २०७७ माघ १९, सोमबार मा प्रकाशित २ साल अघि
  • ७०३ पाठक संख्या
  •  

    नमोबुद्ध नगरपालिकाको आठौं नगरसभा सम्पन्न भएको छ । नगर प्रमुख टिपी शर्मा तिमल्सिनाको अध्यक्षतामा बसेको बैठकले यसअघि आठौं नगरसभाको पहिलो बैठकमा पेश भएका नमोबुद्ध नगरपालिकाको वन विधेयक २०७७, नमोबुद्ध नगरपालिकाको नगर युवा परिषद विधेयक २०७७, नमोबुद्ध नगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ र शिक्षा सञ्चालन, व्यवस्थापन तथा नियमन गर्न बनेको विधेयक २०७७ सर्वसम्मतिले पारित गरेको हो । नगरसभाले आर्थिक बर्ष २०७७/०७८ को विनियोजन ऐन २०७७ माथिको संशोधन प्रस्तावसमेत सर्वसम्मतिले पारित गरेको छ ।

    यस्तै आठौं नगरसभाकै अवसर पारेर नमोबुद्ध नगरपालिका कानुन संग्रह भाग एक र भाग दुई सार्वजनिक गरेको छ । जनप्रतिनिधि निर्वाचित भएदेखि हालसम्म निर्माण भएका पाँच दर्जन ऐन, नियम, निर्देशिका र कार्यविधि समेटिएको ऐन नियम संग्रह नगरसभा समापनको क्रममा सार्वजनिक गरिएको हो । नगर प्रमुख टिपी शर्मा तिमल्सिना, उपप्रमुख रामदेवी तामाङ र प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले कानुन संग्रह बिमोचन गरेका थिए ।

    ल्होसारमा तीन दिन विदा
    नमोबुद्ध नगरपालिकाले ल्होसार पर्वको अवसरमा तीन दिन सार्वजनिक विदा दिने निर्णयसमेत गरेको छ । आठौं नगरसभाको दोस्रो बैठकअघि सोमबार बिहान बसेको नगर कार्यपालिकाको बैठकले सोनाम ल्होसारको अवसरमा नगरपालिका कार्यालय र यसअन्तर्गतका सरकारी कार्यालयमा तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । यसबर्षको सोनाम ल्होसार माघ ३० गते परेको हो । उक्त निर्णयलाई नगरसभाको बैठकले अनुमोदन गरेको छ । कार्यपालिका बैठकले कर्मचारीहरुको प्रोत्साहनका लागि दुईवटा कार्यविधि स्वीकृत गरी कर्मचारीहरुलाई नगरको सहग्र विकासमा अहोरात्र खट्न प्रोत्साहन गरेको छ ।

    प्रतिक्रिया दिनुहोस