२०८० आश्विन ८, सोमबार | Mon, 25, Sep, 2023

सामुदायिक विद्यालयमा विद्यार्थी दिवा खाजा कार्यक्रम प्रभाबकारी बन्दै

  • २०७७ माघ १३, मंगलबार मा प्रकाशित २ साल अघि
  • ११५० पाठक संख्या
  • सरोज सापकोटा/बनेपा

    सामुदायिक विद्यालयमा विद्यार्थी भित्राउने र टिकाउने उद्देश्यका साथ सरकारले ल्याएका दिवा खाजा कार्यक्रम विद्यालयहरुमा सुरु भए सँगै प्रभाबकारी देखिएको छ । दिवा खाजाको व्यवस्था गरिएपछि नियमित रुपमा विद्यार्थी विद्यालय आउन थालेका छन् । सरकारले सामुदायिक विद्यालयका बाल कक्षादेखि कक्षा ५ कक्षासम्म अध्ययनरत विद्यार्थीलाई निःशुल्क दिवा खाजाको व्यवस्था गरिए सँगै अभिभाबकहरु समेत आफ्ना नानी बाबुहरुले विद्यालयमा नै खाजा खान पाउने भए सँगै खुसी भएका छन् ।

    शिक्षा विकास तथा समन्वय इकाई प्रमुख गोकर्णध्वज कार्कीका अनुसार,जिल्ला भित्र रहेका १३ वटै स्थानिय तहहरु बनेपा नगरपालिका, धुलिखेल नगरपालिका, पनौती नगरपालिका, नमोबुद्ध नगरपालिका, पाँचखाल नगरपालिका, मण्डनदेउपुर नगरपालिका, रोशी गाउँपालिका, महाभारत गाउँपालिका, तेमाल गाउँपालिका, बेथानचोक गाउँपालिका, खानीखोला गाउँपालिका, सल्लेभुम्लु गाउँपालिका, चौंरीदेउराली गाउँपालिका भित्र रहेका ५२७ वटा सामुदायिक विद्यालयहरु रहेको छ । ति सबै विद्यालयमा दिवा खाजा कार्यक्रम लागुभएको बताए । उनका अनुसार, ग्रामिण भेग र बस्तिमा रहेका विद्यालयहरु साथै शहरी भेगमा रहेका विद्यालयमा अध्ययनरत वालबालिकाको आमाबाबुको आयश्रोत कम रहेका कारण पनि निम्न आयश्रोत भएका अभिभाबकका बालबालिकाहरुमा झनै पठन पाठनमा हौसला थपिदिएको बताए । इकाई प्रमुख कार्कीका अनुसार, शिक्षा विभागले विद्यालयले भरेर पठाएको इमिसको विद्यार्थीको डाटा हेरी प्रति विद्यार्थी दिवा खाजाका लागि एक दिनको १५ रुपैंयाका दरले पठाएको छ । त्यही अनुसार, खाजा कार्यक्रम संचालन भएको बताए । उनका अनुसार काभ्रेपलाञ्चोक जिल्लामा मात्र बाल कक्षा देखि कक्षा ५ सम्म करिब ७००० जना विद्यार्थी रहेका छन् । उनले भने खाजा कार्यक्रमले विद्यार्थीको शैक्षिक गुणस्तर सुधार हुने आशा गरिएको छ ।

    धुलिखेल नगरपालिकाका शिक्षा शाखाका अधिकृत भोजकुमार ठकुरीका अनुसार, खाजा कार्यक्रमको कार्यविधी अनुसार कृषि सँग जोडेर कार्यक्रम संचालन गर्ने योजना अनुसार धुलिखेल नगरपालिकाले खाजा कार्यक्रम संचालन गर्न लागेको बताए । सामुदायिक विद्यालयमा विद्यार्थी नियमित विद्यालय आउने बानी बसाल्न, शैक्षिक गुणस्तर वृद्धि र जङ्कफुड (बाहिरी खानेकुरा) को प्रयोगलाई घटाउन दिवा खाजा कार्यक्रम ल्याइएको शिक्षा विभागले जनाएको छ । विभागका अनुसार विद्यालयमै आर्गानिक खाजा बनाएर खुवाउन कार्यविधी बनाएर अगाडी बढाइएको छ । दिवा खाजा कार्यक्रमलाई व्यवस्थितरुपमा सञ्चालन गर्न कतिपय विद्यालयले विद्यालयमै बनाएर खाजा खुवाउने गरेका छन् भने कतिपयले सहयोगी खोजेर कार्यक्रम संचालन गरिरहेका छन् ।

    तेमाल गाउँपालिका १ स्थित जनचेतना माध्यमिक विद्यालयका प्रधानाध्यापक उमाकान्त त्रिपाठीका अनुसार, खाजा कार्यक्रमले विद्यार्थीको विद्यालयमा नियमितता बढेको र कक्षा बाट टिफीन टाइममा भाग्ने दरमा समेत कमी आएको बताए । उनका अनुसार, सरकारले दिएको रकम पर्याप्त नभएका कारण अभिभाबक बाट पति अपुग थप रकम उठाएर खाजा खुवाउन थालिएको बताए ।

    उनी मात्र होइन रोशी गाउँपालिका वडा नम्बर ९ स्थित श्री मंगलजन विजय माध्यमिक विद्यालयका प्रधानाध्यापक बासु थापाका अनुसार कक्षा कार्यक्रमले पठन पाठनमा समेत सुधार आएको छ । उनका अनुसार, रकम अपुग भएका कारण अभिभाबक र विद्यालय बाट केही रकम उठाएर कार्यक्रमलाई प्रभाबकारी रुपमा लान खोजिएको बताए ।

    प्रायजसो विद्यालयहरुले हप्तामा सातैबार फरकफरक खालको खाजा विद्यालयमा नै बनाएर खुवाउने गरेका हुन् । गाउँमानै उत्पादन भएका अन्न, दुध बाट बनेका फरक फरक परिकारहरु खुवाउने गरिएको छ ।

    रोशी गाउँपालिका १०, वाल्टिङ्ग स्थित श्री पञ्चकन्या माध्यमिक विद्यालयका प्रधानाध्यापक रामचन्द्र घिमिरेका अनुसार, खाजा कार्यक्रमले साना कक्षाका बालबालिकाको शैक्षिक सुधार गर्न सहयोग पुग्ने बताए । खाजा खान नपाउँदा टिफिन टाइम पछि बालबालिकाहरुमा आलस्यता बढ्ने गरेकोमा अहिले खाजा खान थाले सँगै टिफिन टाइम पछि कक्षा बाट भाग्ने दर घट्दै गएको र बिद्यार्थीहरु पनि लगनशिल भएर पठन कार्यमा लाग्ने गरको बताउनुभयो । उहाँका अनुसार, विद्यालय बाट खाजा खुवाउन सहयोगी खोजेर खाजा कार्यक्रम शुरु गरिएको छ । खाजामा खिर,पुरी, तरकारी, मकै भटमास, सेल, जाउलो, चना भुजा, अण्डा बनाएर खुवाउने गरिएको छ ।
    कतिपय विद्यालयमा आइतबारदेखि शुक्रबार सम्मको खाजा के खुवाउने भनेर दैनिक कार्यतालिका अनुसार पकाएर विद्यार्थीलाई खुवाउने गरिएको छ । जङ्कफुडको प्रयोग बढ्दै जाँदा गाउँघरमा पाइने नेपाली मौलिक र अर्गानिक खानेकुरा हराउँदै गएका कारण सरकारले नै आफ्नो कार्यक्रम अन्तर्गत सबै विद्यालयमा यो कार्यक्रम लागु गरे सँगै अभिभाबकमा पनि खुसीयाली छाएको छ ।

    श्री पञ्चकन्या माध्यमिक विद्यालय रोशी गाउँपालिका १०,का अभिभाबक रामबहादुर हायूका अनुसार, खाजा कार्यक्रम सुरु भए सँगै आफ्ना बालबालिकाहरु विद्यालय बाट विद्यालय समय सकेर मात्र घर आउन लागेको र प्रत्येक दिन विद्यालय जान मन गर्न लागेको बताए । खाजा कार्यक्रमले खुसीयाली छाएको समेत बताए । उनीमात्र होइन प्रायः विद्यालयका अभिभाबकमा खाजा कार्यक्रमले खुसीयाली छाएको छ । बजारमा आएका जङ्कफुडका कारण बालबालिकाले कोदो(फापरको रोटी र भुटेका मकैको स्वाद भुलिसकेका छन् । यो कार्यक्रमले जङ्कफुडको प्रयोग कम गर्नमा सघाउ पुग्ने अभिभाबकहरुले बताएका छन् ।

    श्री पञ्चकन्या माध्यमिक विद्यालय रोशी गाउँपालिका १०, वाल्टिङ्गका विद्यालय ब्यबस्थापन समिति अध्यक्ष कान्छामान वाइबाका अनुसार, सरकारले खाजा कार्यक्रमको बारेमा बिद्यालयलाई प्रतिबेदन बनाउन सँगै सम्बन्धीत निकायबाट अनुगमन हुनुपर्दछ अनिमात्र खाजा कार्यक्रम प्रभाबकारी बनाउन मद्धत पुग्ने बताए । खाजा कार्यक्रम सँगै शैक्षिक गुणस्तरका लागि अन्य कार्यक्रमहरुपनि ल्याउनु पर्ने बताए ।

    यस अघि विशेष क्षेत्र तथा अति सीमान्तकृत, लोपोन्मुख जातिका बालबालिका र जिल्लाका अन्य विद्यार्थीका लागि समेत दिवा खाजा उपलब्ध गराउन शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले अनुदानस्वरूप विद्यालयलाई सो रकम उपलब्ध गराएको थियो तर यस बर्ष बाट बिद्यालय खाजा कार्यक्रममको कार्यबिधी बनाएर देशका सबै विद्यालयमा खाजा कार्यक्रम लागु गर्न निर्देशन दिइएको छ ।

    कार्यविधीमा स्थानीय स्तरमा उपलब्ध हुने खाद्य पदार्थबाट सम्बन्धित विद्यालयका खाजा व्यवस्थापन समितिले विद्यार्थीलाई खाजा उपलब्ध गराउने भनिएको छ । जसमा कार्बोहाइड्रेट समूह (शक्ति दिने) चामल, गहुँ, मकै, कोदो, फापर, जौ, आलु, तरुल, सखरखण्ड आदि समेटिएको छ । यस्तै, प्रोटिन समूहअन्तर्गत भटमास, सिमी, केराउ, चना, गेडागुडी, माछा, मासु र अन्डा पर्छन् । यसैगरी, शरीरका अंगहरूको सन्तुलित विकास र कार्य क्षमता वृद्धि गर्ने स्याउ, सुन्तला, जुनार, नासपती, मेवा, केरा र चिल्लो पदार्थ समूहहरू घिउ तेल, नौनी, दूध, दहीलगायत पर्छन् । जङ्कफुड खाने क्रममा बालबालिकाहरुले स्वास्थ्य लागि हानिकारक खानेकुरा समेत किनेर खाने चलन बढेको थियो । तर खाजा कार्यक्रम सुरु भएसँगै भने यो चलन बिस्तारै हट्दै जाने सरोकारवालाहरुको भनाइ छ ।

    जङ्कफुड स्वास्थ्यका लागि हानिकारक : स्वास्थ्यकर्मी बराल

    रोशी गाउँपालिका वडा नम्बर ९ स्थित मंगलटार स्वास्थ्य चौकीका इन्चार्ज निसा बरालका अनुसार, जङ्क भनेको काम नलाग्ने (कवाड) यानेकी फोहोर हो जब नाम नै यस्तो छ भने यस्ले कस्तो असर गर्ला सबै विद्यार्थी र अभिभाबकहरुले बुझ्न जरुरी छ । हामी खाना किन खान्छौ ? हाम्रो शरीर मांशपेशी तन्तुहरु लाई मजबुत बनाउन रक्तसञ्चार राम्रो बनाउन खान्छौ तर हाम्रो शरिरमा जङ्कफुड ले यसको ठिक उल्टो असर गरिरको हुन्छ । हुनत हामी बडो सानदार तरिकाले जङ्क फुड खाएको कुरा गर्छौ तर यसमा मिसाउने केमिकल ले हामिलाइ हेर्दा मा बडो आकर्षक गरिरको हुन्छ भने यसमा मिसाएको केमिकलहरुले उत्तिनै शरिरका बिभिन्न अङगहरुमा खतरनाक प्रभाव पारिरहेको हुन्छ । जस्ले गर्दा डायबेटिज ,क्यान्सर ,अस्टियोपोरोसिस, फ्याटी लिभर डिजिज जस्ता रोगहरु लाग्न सक्ने सम्भावना बढी हुन्छ्न् । उनका अनुसार जङ्क नामै कवाड छ भने यस्ता चिज बाट टाढा रहनु नै स्वास्थ को लागि फाइदाजनक छ । उनी भन्छिन झन् बालबच्चा हरु यस्तो जङ्कफुड मा अति नै प्रभावित भएको कारणले गर्दा अहिले सरकारले सुरु गरेको बिध्यालय खाजा कार्यक्रम बालबालिकाहरुको लागि अति नै स्वास्थ्य बर्धक हुन सक्ने देखिएको छ तर यसमा पनि कहिले काहीँ अनुगमन भने गरिरहनु पर्छ जस्तो लाग्छ । शरीरका लागि आवश्यकपर्ने पौष्टिक तत्व भिटामिन, मिनरल, फाइबर आदि नगन्यमात्रामा हुने जङ्कफुड अस्वस्थकर हुने भएकाले विद्यालयका बाल बालिकाले जङ्कफुड खाएर स्वास्थ्य सँगै पठन कार्यमा समेत बाधा उत्पन्न हुने कारण विद्यालय खाजा कार्यक्रम ल्याइएको हो यो धेरै राम्रो कार्यक्रम हो ।

    प्रतिक्रिया दिनुहोस