कोभिड १९ विरुद्धको खोप लगाउनको लागि काभ्रेमा सम्पूर्ण तयारी पुरा भएको छ । काभ्रेमा भोली विहान १० बजेबाट धुलिखेल अस्पतालमा स्वास्थ्यकर्मीहरु मार्फत खोपको शुरुवात गरिने जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झाले जानकारी दिए । प्रमुख झाका अनुसार कोभिड १९ विरुद्धको खोप लगाउने ब्यक्तिहरुको नमावली तयार भईसकेको, खोप लगाउने स्थान, खोप लगाउने खोप प्रदायकहरुलाई प्रशिक्षण र खोप लगाई सके पछिको तयारीका बारेमा सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए । खोपको लागि आवश्यक पर्ने ३९ भाईल(३९०० जनालाई लगाउन पुग्ने) खोप समेत जिल्ला आईसकेको डा. झाले जानकारी दिए ।
खोप लगायनको लागि धुलिखेल अस्पताल र मेथिनकोट अस्पताल छनौट भएको छ । खोपकै लागि भनेर जिल्ला स्वास्थ्य कार्यालय काभ्रे मार्फत धुलिखेल अस्पताल, शिर ममोरियल अस्पताल र मेथिनकोट अस्पतालका स्वास्थ्यकर्मीहरुलाई खोप लगाउने तरीकाबारे तालिम समेत दिईसकिएको छ । जिल्ला स्वास्थ्य प्रमुख डा झाका अनुसार ५४ जना स्वास्थ्य प्रासविधिकहरुलाई तालिम दिईएको बताए । उनका अनुसार खोप लागउन ८ वटा टिम परिचालन हुनेछन् । त्यस्तै ४२ जना धुलिखेल अस्पतालमा तथा १२ जना मेथिनकोट अस्पतालमा खटिने छन् । खोप बाट हुुन सक्ने अवान्छित असरलाई मध्यनजर गर्दै चिकित्सक सहितको टोली समेत छुट्याइएको डा. झाको भनाई छ ।
जिल्लामा पहिलो चरणमा स्वास्थ्यकर्मी, महिला स्वयंसेवीका, एम्बुलेन्स चालक तथा अस्पतालमा कार्यरत सुरक्षागार्ड, शव ब्यवस्थापनमा खटिएका सुरक्षाकर्मीलाई लगाईनेछ । सरकारी तहका स्वास्थ्यकर्माी ७ सय ४९, नीजि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी १ हजार ३ सय ६८, महिला स्वंसेवीका ९ सय ५५ जना, सरसफाईकर्मी १ सय ११ जना, एम्बुलेन्स चालक ४४ जना र शव ब्यवस्थापनमा खटिने सुरक्षाकर्मी र अस्पतालमा खटिने सुरक्षागार्ड गरी १ सय २६ जना गरी जिल्लामा ३ हजार ५ सय ८१ जनालाई पहिलो चरणको खोप लगाउनेछन् ।
नियमित खोप वा औषधीका कारण एलर्जी, गर्भवती वा बच्चालाई दुध चुसाउने आमाहरुलाई उक्त खोप लगाउन नमिल्ने चिकित्सकीय टिममा खटिएका प्रा.डा. सुमन ताम्राकारले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस