२०८० आश्विन ८, सोमबार | Mon, 25, Sep, 2023

काभ्रे र रामेछापमा बन्ने सुनकोशी–३ विद्युतको प्राविधिकतर्फ अध्ययनको काम ९० प्रतिशत सम्पन्न

  • २०७७ माघ ११, आईतबार मा प्रकाशित २ साल अघि
  • २६४९ पाठक संख्या
  • पाँच सय ३६ मेगावाट क्षमताको सुनकोशी–तेस्रो जलाशययुक्त विद्युत आयोजनाको प्राविधिकतर्फको अध्ययनको काम ९० प्रतिशत सम्पन्न भएको छ । आयोजनाको प्राविधिकतर्फ सर्वे, भौगर्भिक अध्ययन तथा आयोजना आसपासको चट्टानहरुको अवस्थाको बारेमा ड्रिलिङ गर्नेलगायतका प्रारम्भिक इन्जिनियरिङ डिजाइनको काम सम्पन्न भएको छ ।

    बिद्युत विकास विभागका हाइड्रोपावर इन्जिनियर सुवास थपलियाले प्राविधिकतर्फ अध्ययनको काम ९० प्रतिशत सम्पन्न भएपनि वातावरणीय प्रभाव मूल्याङ्कन ९ईआईए० को काम भने बाँकी रहेको बताउनुभयो । उहाँले वातावरणीय प्रभाव मूल्याङ्कनको अध्ययनको क्रममा वन तथा वातावरण मन्त्रालयमा कार्यसूची र क्षेत्र निर्धारण प्रतिवेदन स्विकृतिको क्रममा रहेकोले ईआईएको काम रोकिएको बताउनुभयो ।

    उहाँले यस महिनाको अन्तिमसम्ममा प्रतिवेदन स्विकृति प्राप्त हुने सम्भावना रहेको बताउनुभयो । ई। थपलियाले कोभिड–१९ का कारण आयोजनाको परामर्शदाता कम्पनीले फिल्डमा गएर काम गर्ने वातावरण नभएकोले ईआईएको काम बाँकी रहेको बताउनुभयो । ‘आयोजनाबाट प्रभावित हुने तथा आयोजना आसपासका क्षेत्रमा गएर घरधुरी सर्वे, प्रभावित परिवारको आर्थिक, सामाजिक अवस्थाको बारेमा घरघरमा गएर सर्वे गर्नुपर्ने काम बाँकी रहेको छ’ विभागका हाइड्रोपावर इन्जिनियर थपलियाले थप्नुभयो ।

    उहाँले आयोजनाको अध्ययन गर्ने क्रममा वातावरण ऐन परिवर्तन हुनु र ऐन परिवर्तनसँगै नियमावली निर्माणमा नभएका कारण मन्त्रालयले कार्य अगाडी नबढाउन पत्राचार भएपछि करिब सात महिना काम ठप्प भएको बताउनुभयो । सांघायी इन्भेष्टीगेशन एण्ड डिजाइन रिसर्च इन्ष्टिच्यूट र नेपाली परामर्शदाता इन्भारोमेन्ट एण्ड रिसोर्स म्यानेजमेन्ट कन्सल्टेन्सीले संयुक्त रुपमा आयोजनाको अध्ययनको काम गरिरहेका छन् ।

    विभागका ई। थपलियाले सुनकोशी तेस्रो र सुनकोशी दोस्रो आयोजनाको अध्ययनका लागि एकमुष्ट रुपमा १९ करोड रुपियाँ बजेट विनियोजन भएको र यी दुई आयोजना अध्ययनका लागि ३३ करोड रुपियाँ बजेट लाग्ने बताउनुभयो । उहाँले काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुली जिल्लाको सिमाना भएर बग्ने सुनकोशी नदी अन्र्तगत काभ्रेको तेमाल गाउँपालिका–९ को सिमाना र रामेछापको खाँडादेवी गाउँपालिका–१ लुभूघाटमा विद्युत आयोजनाको बाँध निर्माण प्रस्ताव गरिएको बताउनुभयो ।

    उहाँले आयोजनाको विद्युत गृह भने तेमाल गाउँपालिका–९ तित्रेटारमा निर्माणको लागि प्रस्ताव गरिएको बताउनुभयो । प्रस्तावित आयोजना सुनकोशी–३ बाट ५३६ मेघावाट विद्युत उत्पादन हुनेछ । विभागले काभ्रेको तेमाल गाउँपालिका–९ र रामेछापको खाँडादेवी गाउँपालिका–१ लुभुघाटामा करिब ४८४ मिटर लामो र १६६ मिटर उचाइको बाँध निर्माण गरी ५७० घनमिटर प्रतिसेकेन्ड पानीलाई १।१ किलोमिटर लामो र ९ मिटर ब्यास भएको सुरुङबाट तेमाल गाउँपालिका–९ तित्रेटारस्थित बिद्युत गृहमा लगिनेछ भने लगभग ५३६ मेघावाट विद्युत उत्पादनपछि सो पानीलाई टेलरेसद्वारा पुनः सुनकोशी नदीमा खसालिने जनाएको छ ।

    उहाँले पुरानो अध्ययन अनुसार आयोजना निर्माण गर्दा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुली जिल्लाका करिब १८ सय घरपरिवार प्रभावित हुन सक्ने बताउनुभयो । आयोजनाबाट काभ्रेको तीन गाउँपालिका र दुई नगरपालिका, रामेछापको दुई गाउँपालिका, सिन्धुपाल्चोकको दुई नगरपालिका र तीन गाउँपालिका र सिन्धुली जिल्लाको एक गाउँपालिकाका बासिन्दा प्रभावित हुनेछन् । काभ्रेको तेमाल गाउँपालिकाका सात वटा वडा बाँध, विद्युतगृह र डुवानक्षेत्र पर्नेछ भने रामेछापको खाँडादेवी गाउँपालिका बाँध र डुवान क्षेत्र तथा अन्य जिल्लाको प्रभावित क्षेत्र डुवान क्षेत्रमा पर्ने देखिएको छ ।

    सुनकोशी–३ आयोजना निर्माण भएको खण्डमा कुलेखानी भन्दा २० गुणा ठुलो जलाशय क्षमताको हुनेछ भने सुनकोशीको जलाशयमा १७ सय मिलियन घनमिटर पानी जम्मा हुनेछ । आयोजना निर्माण भएको अवस्थामा बाँधस्थलबाट काभ्रे र सिन्धुपाल्चोकको सिमाना सिपाघाटसम्म इन्द्रावती नदीमा करिब ४२ किलोमिटर लामो जलाशय र सिन्धुपाल्चोकको बलेफीभन्दा दुई किलोमिटर माथिसम्म जलाशय पुग्नेछ ।

    जलाशयमा माछापालन, तथा बोटिङ गर्न सकिने छ भने काठमाडौँबाट ७० किलोमिटरको नजिकको पर्यटकिय स्थल समेत बन्नेछ । २०७५ साल चैत महिनामा काठमाडौमा सम्पन्न दोस्रो लगानी सम्मेलनमा सुनकोशी–तेस्रो जलाशययुक्त विद्युत आयोजनालाई समावेश गरिएको थियो । सन् १९८५ मा जापान इन्टरनेशनल कोअपरेशन (जाइका)ले त्यस क्षेत्रमा जलाशययुक्त विद्युतको सम्भाव्यता अध्ययन गरेको थियो ।

    केदार तिमल्सिना/गोरखापत्र दैनिक अनलाईनबाट साभार

    प्रतिक्रिया दिनुहोस